• १२ असोज २०८१, शनिबार

स्थानीय उत्पादन विक्री नहुने समस्या अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १९ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दुग्ध उत्पादक किसानका समस्या समाधानका लागि आफू आफ्नो क्षेत्रबाट लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार झापाको अर्जुनधारामा आफ्ना क्षेत्रका दुग्ध उत्पादक किसानहरूसँग छलफल गर्दै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

यस्तै, उहाँले कृषि क्षेत्रमा विभिन्न समस्याहरू रहेको बताउनुहुँदै दुधमा आत्मनिर्भर बनिसकेको अवस्थामा आयातित दुध तथा दुग्धजन्य पदार्थलाई निरुत्साहित गर्ने विषयमा आफूले गम्भीर रूपमा कुरा उठाउने र छलफल गर्ने कुरामा किसानहरूलाई आस्वस्थ हुनका लागि अनुरोध गर्नुभयो ।

उहाँले विदेशबाट पाउडर दुध आउने तर यहाँ ‘मिल्क होलिडे’ हुने कुराले आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । "यहाँ किसानले उत्पादन गरेको दुध नबिक्ने र नलैजाने तर पाउडर दुध आयत गर्ने विषय गम्भीर हो", उहाँले भन्नुभयो । बिचौलिया वा कसैको हितका लागि यस्तो कार्य भइरहेको छ भने त्यो रोकिनुपर्ने उहाँको भनाइ छ ।

विदेशी आयत बढाउने तर स्थानीय उत्पादनलाई ग्राहयता नदिइने कार्यप्रति राज्यको ध्यानाकर्षण गराउने कुरामा उहाँले विश्वास दिलाउनुभयो । आक्रोश र विद्रोहले मात्र समस्या समाधान नहुने भन्दै किसानहरूलाई धैर्यताका साथ अघि बढ्दै गलत नीतिलाई परिवर्तन गर्न सकारात्मक दबाब सिर्जना गर्न उहाँले आग्रह गर्नुभयो ।

दुग्ध उत्पादक किसानहरूले विगत ६ महिनाअघि देखि दुध बिक्रीमा समस्या हुन थालेको, बिक्री गरिएको दुधको पैसा नपाएको, पशु पालनको विकल्पमा अन्य व्यवसाय गर्नका लागि सस्तोमा गाइभैँसी बिक्री गर्नुपर्ने अवस्था आएको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।