• १२ असोज २०८१, शनिबार

हात्तीको व्यवहारमा परिवर्तन हुँदा पूर्वी नेपालमा जोखिम बढ्यो

blog

भारतबाट हुलका हुल आउने हात्ती । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर १९ गते ।
 पछिल्लो समय भारतबाट हुलका हुल आउने हात्तीको व्यवहारमा आएको परिवर्तनका कारण पूर्वी नेपालमा जोखिम बढ्दै गएको छ । खाद्यान्नको खोजीमा भारतबाट मेचीनगर नगरपालिकाको सीमा क्षेत्र मेचीखोलाको किनारबाट बाहुण्डाँगी हुँदै हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् ।

मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार दुई साता अघि बाहुण्डाँगी हुँदै ५८ वटा हात्ती नेपाल प्रवेश गरेर फर्किएका छैनन् । बाहुण्डाँगी हात्ती छिर्ने मुख्य नाका हो । बाहुण्डाँगीको हात्ती गौडा भन्ने स्थान नै रहेको छ । यद्यपि पछिल्लो समयमा बाहुँण्डागीमै भने हात्तीको क्षति कम हुने गरेको छ ।

हात्तीको चहलपहल र अवस्था बुझ्न र मानव–हात्ती द्वन्द्व घटाउन दुवै देशका युवाहरू रहेका र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) बनाइएको छ । आरआरटीले हात्तीहरू नेपाल छिरेको र नेपालबाट हात्ती फिर्ता भएको सूचना एकअर्कामा आदानप्रदान गर्ने गरेको कार्कीले बताउनु भयो ।

विगतमा हात्तीको हुल नै एकैसाथ हिँड्ने भएकाले हात्ती जता गयो त्यतै स्थानीय र प्रहरी धपाउनका लागि लाग्ने गरेका थिए । अहिले हात्ती हुलबाट छुटेर जताततै जान थालेका छन् । एक साताको अवधिमा झापामा हात्तीको आक्रमणमा परेर दुई जनाले ज्यानले गुमाइसकेका छन् ।

झापाको मेचीनगर, हल्दिबारी, दमक, शिवसताक्षी, कमललगायतका क्षेत्रमा हात्तीहरू देखिएका छन् । एकैसाथ मोरङ र सुनसरी जिल्लाका विभिन्न ठाउँमा हात्तीहरू देखिएको जनाइएको छ । इटहरी–२ स्थित ताल तलैयामा रविन खड्काको यसै साता हात्तीको आक्रमणबाट ज्यान गएको छ ।

मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा ५३ वर्षीय कमल माझीको सोमबार हात्तीको आक्रमणमा नै परेर मृत्यु भएको छ । पहिला एकातिरमात्र क्षति गर्ने हात्तीहरूले चौतर्फी रूपमा त्रास पैदा गर्न थालेको छ । हत्तीबारे अनुसन्धान गरिरहनु भएका शङ्कर सीँ लुइँटेलका नेपाल हात्ती प्रवेश गर्नु नियमित जस्तै भएको छ ।

उहाँका अनुसार एक वर्षअघि सम्म १५० वटासम्म हात्तीहरू बाहुण्डाँगी आसपास आउने र भारततर्फको नजिकको जङ्गलमा गइहाल्ने गर्थ्यो । ‘‘एक वर्ष यता भने भारततर्फ पनि एकैसाथ उनीहरू रहने र जता जाँदा पनि सँगै जाने गर्थे, तर अहिले त्यो भएको छैन । उनीहरूको आआफ्नो परिवार अलगअलग हिँडिरहेको छ,’’ उहाँले भन्नुभयो ।

एकैसाथ हुल बाँधेर हिँड्ने हात्ती अलगअलग हिँड्नुको कारण खोजी गर्दा उनीहरूको आहाराको कमी भएको अनुमान गरिएको उहाँको भनाइ छ । सबै एकैठाँउ हुँदा उनीहरूलाई आहाराको कमी हुने भयो र बेग्लाबेग्लै ठाउँमा आहारा खोज्न उनीहरू भौँतारिएका हुन सक्छने जानकारी उहाँले दिनुभयो ।

मानिसहरूले हात्तीलाई शत्रुको रूपमा हेरेर बढी जिस्क्याउने र चलाउने गरेकाले पनि उनीहरू छुट्टिएर हिँड्न थालेको जनाइएको छ । बाहुण्डाँगीबाट नेपाल छिरेका हात्तीहरू कोशीटप्पुसम्म पुगेर फर्कने गरेका छन् । हात्ती कोरिडोरमा जङ्गल मासिँदै गएको र बस्ती बस्न थालेकाले दमकको हम्सदुम्से बनबाट नै प्रायः जसो हात्ती फर्कने गरेका थिए ।

चरा तथा वन्यजन्तु संरक्षणको अभियन्ता देवेन्द्रकुमार खरेलका अनुसार मानव हात्ती सह अस्तित्वको निम्ति मिलेर उच्चस्तरीय कार्य नगरेर यसबाट ठुलो क्षति हुने अवस्था देखिएको छ । मानव-हात्ती द्वन्द्वका कारण दुई साताभित्र पूर्वी नेपालमा चार जनाले ज्यान गुमाएको भन्दै सरोकारवालाहरूको ध्यान जानु पर्ने उहाँले बताउनुभयो ।

जिल्ला वन कार्यालय झापाका अधिकृत जीवन पाठकका अनुसार आहाराका लागि नेपाल प्रवेश गर्ने गरेका हात्तीहरूका लागि आवश्यक आहारा छैन । जिल्लाका विभिन्न जङ्गलहरूमा मुस्किलले दुईदेखि चार वटा हात्तीका लागि मात्र आवश्यक आहारा पुग्ने अनुमान रहेको उहाँको भनाइ छ । उहाँले आहारा व्यवस्थापन गर्न सके हात्ती बस्तीमा पस्न कम हुन सक्ने उहाँ बताउनुहुन्छ ।