• २ असार २०८१, आइतबार

कालीगण्डकीको सभ्यता जोगाउन पालिका सक्रिय

blog

कालीगण्डकी नदीका सन्दर्भमा चापाकोटमा आयोजना गरिएको छलफल कार्यक्रममा सहभागीहरु ।

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १८ गते । प्राकृतिक स्रोत साधनलाई दिगो रूपमा प्रयोग गर्ने तथा कालीगण्डकी नदीको सभ्यता र पर्यावरणलाई जोगाई राख्न कालीगण्डकी तटीय क्षेत्रका पालिकाहरू सक्रिय भएका छन् । 

चापाकोट नगरपालिकामा विभिन्न पालिकाका प्रतिनिधिहरू भेला भएर यसतर्फ एकीकृत रूपमा अगाडि बढ्नेमा प्रतिबद्ध भएका हुन् । नदीको पर्यावरण नबिग्रने गरी यसलाई कसरी उपयोग गर्ने भन्नेमा उनीहरूले निरन्तर छलफल गर्ने निष्कर्ष समेत निकालेका छन् । कालीगण्डकी नदीको प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गरी नदीको सभ्यतालाई जोगाउनुपर्ने, डाइभर्सन गर्न नहुने, पर्यावरण नखलबलिने गरी नदीजन्य पदार्थ उपयोग गर्नेमा पालिकाहरूको जोड छ । 

२०७८ सालसम्म नदीजन्य सामग्रीको उपभोग गर्दै आइरहेका तटीय क्षेत्रका पालिकाहरू सर्वोच्च अदालतको आदेशसँगै यसबाट वञ्चित हुँदै आएका छन् । यसको उपभोगको गर्न पाउनुपर्ने माग सहित पालिकाहरू एकीकृत रूपमा अदालत जाने तयारी गरिरहेको चापाकोट नगरपालिका प्रमुख देवबहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो । 

"गिट्टी, बालुवाको उपभोगको कुरा मात्रै होइन, प्राकृतिक सम्पदालाई कसरी संरक्षण र संवर्द्धन गर्ने, यसलाई जोगाएर दिगो उपयोग कसरी गर्ने त्यसतर्फ योजनाबद्ध तरिकाले अगाडि बढ्न हामीहरू एकजुट भएका हौँ", चापाकोटका नगरप्रमुख खाँणले भन्नुभयो । नदीजन्य पदार्थको उपयोग गर्न नपाउँदा भौतिक संरचना, सडक, विद्यालय भवन, सिँचाइ, खानेपानीका थुप्रै विकास निर्माणका काम रोकिएका प्रमुख खाँणको भनाइ छ । 

यसको विकास, संरक्षण, संवर्द्धन र उपयोग कसरी गर्ने भन्ने सन्दर्भमा खाका तयार पारेर निचोडमा जानुपर्नेमा पालिकाहरू एकमत भएका छन् । 

नदीजन्य सामग्री थुप्रिएर नदीले धार परिवर्तन गर्ने सम्भावना

कालीगण्डकीबाट नदीजन्य सामग्री निर्माणमा अदालतको आदेशसँगै रोक लागेको छ । पालिकाले नियमन गर्ने गरी यसबाट सामग्री निकाल्न दिनुपर्ने चापाकोट नगरपालिकाका प्रमुख खाँणको भनाइ छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म नदीजन्य सामग्री ननिकाल्दा सामग्री थुप्रिएर नदीले धार नै परिवर्तन गरेर बस्ती तथा खेतीयोग्य जमिनमा असर गर्न सक्ने सम्भावना बढेको छ ।” 

यस्तै, कालीगण्डकी नदी लामो समयदेखि धेरैको चर्चा र बहसको विषय बनेको छ । राम्दीबाट करिब तीन किलोमिटर दक्षिणी भागमा नौ मिटरको डायोमिटर बनाएर करिब २७ किलोमिटरको सुरुङमार्ग निर्माण गरी तिनाउ नदीमा कालीगण्डकीको पानी खसाल्ने योजना सार्वजनिक भएसँगै तल्लो तटीयवासीले विरोध गर्दै आएका छन् ।

पालिकाहरू विकासको विरोध नभएको तर यसको सभ्यताको पहिचान गरी बचाउनु पर्ने र आफूहरूले उपभोग गर्न पाउनुपर्ने जोड छ । विश्वकै एकमात्रै शालिग्राम शिला पाइने कालीगण्डकी नदी धार्मिक, सांस्कृतिक नदी भएको रामपुर नगरपालिकाका प्रमुख रमण थापाको भनाइ छ । डाईभर्सनले तल्लोतटीय क्षेत्रमा गम्भीर असर पर्ने उहाँले बताउनु भयो। नदीको महत्त्व जोगाउन कालीगण्डकीको तटमा नदी महोत्सव समेत हुँदै आएको प्रमुख थापाको भनाइ छ । 

दीर्घकालीन योजना बनाउने पालिकाहरूको तयारी 

कालीगण्डकी नदिको तटमा भएकाले यसको अपार सम्भावना भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो । आफूहरूले यसको उपभोग सही रूपमा गर्न नपाएको उहाँको भनाइ छ । 

नदीसँग जोडिएका तर सिँचाइको अभावमा धेरै जमिन छन्, तीनलाई सिञ्चित गर्ने व्यवस्था मिलाएर बाँझो भएका जमिनलाई हराभरा गरी कृषिबाली उत्पादनमा वृद्धि गर्न सकिने जनप्रतिनिधिहरूको तर्क छ । 

स्थानीय पालिकाहरूलाई पूर्ण रूपमा जिम्मा दिने हो भने कालीगण्डकी नदीको सही र वास्तविक संरक्षण तथा उपभोग हुने उनीहरूको तर्क छ । पालिकाहरू एकआपसमा मिलेर जाने र सामूहिक क्रियाकलापका लागि काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रममा तटीय क्षेत्रका विभिन्न एघार पालिकाहरूको सहभागिता थियो ।