• १२ साउन २०८१, शनिबार

दुई तारे होटल सञ्चालनमा आउँदै

blog

दमौलीमा सिद्धार्थ होटलले सञ्चालन ल्याउने भवन । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर १७ गते । मुलुकभर होटल सञ्जाल विस्तार गरिरहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले तनहुँ सदरमुकाम दमौलीमा पहिलो पटक दुई तारे होटल सञ्चालनमा ल्याउनेभएको छ । 

आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढिरहेको तर सुविधा सम्पन्न होटल नभइरहेकाले होटल सञ्चालनमा ल्याउन लागिएको हो । ७६ करोडको लागतमा  आगामी नयाँवर्ष वैशाख १ गते उद्घाटन हुनेगरी होटल सञ्चालनमा ल्याइने ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुशील न्यौपानेले बताउनुभयो । 

होटलमा दुईवटा सिनेमा हल, तीनवटा सेमिनार हल र जसमा सबैभन्दा ठुलो एक हजार जना क्षमता रहेको सेमिनार हल समेत रहने न्यौपानेले बताउनुभयो । व्यास नगरपालिका –२, दमौलीस्थित साबिकको एपेक्स मल्टिप्लेक्स प्रालिको भवनमा होटल सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । 

होटलले प्रारम्भिक वातावरणीय परीक्षण समेत गरिसकेको छ । ग्रुपले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको आइतबार दमौलीमा सार्वजनिक गरेको छ ।  सार्वजनिक कार्यक्रममा ३४ वटा कोठामा ५८ वटा बेड क्षमताको होटल रहने जानकारी दिइएको छ । 

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले यस्ता होटलको निर्माणले पर्यटकलाई आकर्षित गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले स्थानीय आवश्यकतालाई ग्रुपले सम्बोधन गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट, व्यास नगरपालिका वडा २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, नेपाल होटल व्यवसायी सङ्घ तनहुँका अध्यक्ष दुर्गाविलास भट्टराई, महिला उद्यमी सङ्घ नेपाल तनहुँका अध्यक्ष निर्मला मल्ल, औषधि व्यवसायी सङ्घ तनहुँका अध्यक्ष राजु दाहाललगायतले होटलले दमौली बजारको सुन्दरता थप्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीयलाई रोजगारी दिने र स्थानीय उत्पादन खरिद गर्न होटलका सञ्चालकलाई सुझाव दिनुभएको थियो । कार्यक्रममा निर्माणको क्रममा २० जनाले रोजगारी पाएको र सञ्चालनपछि ५० जनाले रोजगार पाउने जानकारी दिइएको छ । 

जनशक्ति स्थानीय ९० प्रतिशत हुने सो अवसरमा बताइएको छ । एपेक्स मलको प्रारम्भिक उद्देश्य सपिङ मल  र सिनेमा हल भए पनि कोभिडको प्रभाव, आर्थिक मन्दीलगायतले स्थानीय व्यवसायमा आएको ह्रासले वैकल्पिक प्रयोगका लागि सिद्धार्थ होटल सञ्चालनमा ल्याउने निर्णय गरिएको बताइएको छ ।