• १२ साउन २०८१, शनिबार

विभिन्न स्थानमा तीन पुरुष र दुई महिला मृत फेला

blog

काठमाडौं, मङ्सिर १७ गते । आइतबार पाँच जिल्लामा तीन पुरुष र दुई महिला मृत अवस्थामा फेला परेका छन् । आज प्रहरीले भक्तपुर, ललितपुर, दाङ, कञ्चनपुर र झापाका विभिन्न स्थान महिला पुरुषको शव फेला परेको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडेमा ४१ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका निमा लामा आइतबार मृत अवस्थामा फेला पर्नुभएको हो । लामा बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको खुल्न आएको छ । 

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका–१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी मृत अवस्थामा फेला पर्नुभएको छ ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ नवज्योति टोल बस्ने ४७ वर्षीया रुपा सुनार आफ्नै घरमा मृत अवस्थामा फेला पर्नुभएको छ ।

ललितपुर महानगपालिका–२५ भैंसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएको ४० वर्षीया एलिना राई आफू बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा मृत अवस्थामा फेला पर्नुभएको प्रहरीले जनाएको छ ।

यसैगरी, आइतबारै झापाको गौरादह नगरपालिका–४ डोरामारी बस्ने ७५ वर्षीय जय प्रसाद सङ्ग्रौला गौरादह नगरपालिका–४ र गौरदह नगरपालिका–६ को सिमानामा पर्ने दामुना खोलामा मृत अवस्थामा फेला पर्नुभएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।