• १२ साउन २०८१, शनिबार

यातायात व्यवस्था कार्यालय स्थापना

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर १७ गते । सर्लाही सदरमुकाम मलङ्गवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मलङ्गवास्थित जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो । 

कार्यालयको आइतबार मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गर्नुभयो । सदरमुकाम मलङ्गवामै यो कार्यालय स्थापना भएपछि सर्लाहीका स्थानीयले अब यातायात सम्बन्धी काम लिएर बर्दिबास, जनकपुर, वीरगञ्जलगायत ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको छ । कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रुट परमिट लगायतका सेवा प्रदान गरिने कार्यालय प्रमुख राकेश यादवले जानकारी दिनुभयो । 

कार्यक्रममा निवर्तमान रक्षामन्त्री एवम् सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, मधेस प्रदेश सभाका सदस्यहरू कौशलकिशोर राय, जङ्गिलाल राय र उपेन्द्र महतो, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला लगायतले मन्तव्य राख्नुभयो । वक्ताहरूले जिल्लामै यातायात व्यवस्था कार्यालय खुलेको प्रति खुसी व्यक्त गर्दै सरल र सहज हिसाबले सेवा प्रवाह गर्न सुझाव दिनुभएको छ । 

मधेस प्रदेशका आठ जिल्लामध्ये सर्लाहीमा सातौँ कार्यालयको रूपमा यातायात व्यवस्था कार्यालय स्थापना भएको हो । कार्यालय खुल्न बाँकी रहेको बारा सदरमुकाम कलैयामा पनि केही समयभित्रै कार्यालय स्थापना गर्ने तयारी रहेको श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशले जनाएको छ । 

मलङ्गवाको कार्यालय प्रदेश स्तरको भएपनि यसले देशभरका सेवाग्राहीलाई सेवा प्रवाह गर्ने कार्यालय प्रमुख यादवको भनाइ छ । उहाँका अनुसार आइतबार औपचारिक रूपमा कार्यालय स्थापना गरिए पनि सेवा प्रवाह सुरु गर्न केही दिन लाग्ने छ । 

आफू तत्कालै काठमाडौँ पुगेर यातायात व्यवस्था विभागबाट युजर तथा पासपोर्ट लिएर आउने र सम्भव भएसम्म यसै हप्ताभित्र सेवा प्रवाह सुरु गर्ने यादवले बताउनुभयो । उहाँका अनुसार कार्यालयको तत्काल आफ्नै सरकारी ट्रायल सेन्टर नभएकाले जिल्लाभर कहिँकतै निजी ट्रायल सेन्टरसँग समन्वय गरिने छ । 

जग्गा प्राप्त भएपछि आफ्नै ट्रायल सेन्टर निर्माण गर्न बजेट माग गरिने कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।