छविलाल पाण्डे
बुटवल, मङ्सिर १७ गते । बुटवलका तीन जना दिदीबहिनी मिलेर करिब पाँच करोड लगानीमा नयाँ शैलीको सुरक्षित र हलुका घर निर्माण गर्ने उद्योग स्थापना गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका १ स्थित लौसामा आइटी स्टिल स्ट्रक्चर सलुसन उद्योग स्थापना गरेर स्टिलको बनोटमा आधारित घर निर्माण सुरु गरिएको हो ।
तीन दिदीबहिनी सोनाली गुरुङ, सृष्टि गुरुङ र शिल्पी गुरुङले आइटी स्टिल स्टक्चर सोलुसन प्रालि उद्योगमार्फत भूकम्प प्रतिरोधी स्टिल बनोटमा आधारित घर निर्माणको अवधारण ल्याएका हुन्।
उद्योगमा स्टिलका संरचनाका लागि आवश्यक पर्ने सम्पूर्ण स्टिलका सामग्रीहरू उत्पादन गरिने र त्यसको फिटिङ्समेत गरिने प्रालिका प्रबन्ध निर्देशक सोनाली गुरुङले जानकारी दिनुभयो । गुरुङले इट्टा, ढुङ्गा, छड, सिमेन्टको विकल्पमा स्टिल स्टक्चरका घरहरू राम्रो विकल्पका रूपमा किफायती र मजबुत बन्न सक्ने उहाँले बताउनुभयो ।
प्रालिकी प्रविधि निर्देशक सृष्टि गुरुङले स्टिलका सामग्रीबाट निर्माण गरिएका संरचना वातावरण अनुकूल, भूकम्प प्रतिरोधक, खिया र अग्नि प्रतिरोधक बलियो र भरपर्दो रहेको बताउनुभयो ।
यो प्रविधिको घर बलियो, भरपर्दो, वातावरणमैत्री, सरल र छिटो जडान हुनसक्ने उहाँको भनाइ छ । नेपालको पश्चिमी क्षेत्र भूकम्पको उच्च जोखिममा रहेकोले आफूहरूले ल्याएको अवधारणाले भूकम्प गएको अवस्थामा पनि मानवीय र भौतिक क्षति कम हुने गुरुङले बताउनुभयो ।
गुरुङले भन्नुभयो, "यो प्रविधिबाट बनेका घरहरू किफायतीमात्र होइन, मजबुत र नेपालको भुबनोटका हिसाबले एकदमै उत्तम प्रविधि हो ।" उद्योग दर्ता गर्दासमेत धेरै समस्यासँग जुध्न परेको स्मरण गर्दै उहाँले महिलाले थालेका कामलाई विश्वास कम गर्दा पनि आफूहरूलाई समस्या पर्ने गरेको दुःखेसो पोख्नुभयो ।
२०७२ सालको भूकम्पबाट धेरै जनाले ज्यान गुमाएपछि आफूहरूले हलुका प्रकारको स्टिल स्ट्रक्चर घरको योजना ल्याएर उद्योग स्थापना गरेको गुरुङले बताउनुभयो । उद्योगमा हाल १४ जनाले रोजगारी पाएका छन् ।
नेपालमा प्राकृतिक प्रकोपको जोखिम बढी भएकाले लाइट गेजको प्रयोग राम्रो हुने प्रालिको भनाइ छ । नेपालका धेरै नै भूकम्प जाने भएकाले भूकम्प प्रतिरोधी र भूकम्प भएका बेलामा कम क्षति हुने, मानवीय क्षति कम हुने भएकाले पनि नेपालमा यसको विकल्प नभएको बजार निर्देशक शिल्पी गुरुङले बताउनुभयो । उहाँले लाइट गेजबाट बन्ने संचरनाहरुको सम्पूर्ण इन्जिनियरिङ कम्प्युटरका माध्यमबाट हुने भएकोले यो ८० प्रतिशत पुनः प्रयोग हुने बताउनुभयो ।
यो प्रविधि अमेरिका, जापान, फ्रान्स, जर्मनी, युरोप, न्युजिल्याण्डलगायतका मुलुकमा सफल भएकाले नेपालका लागि पनि धेरै नै फाइदाजनक हुने गुरुङको भनाइ छ ।