• ४ जेठ २०८१, शुक्रबार

गोरुको सहायताले दाइँ गर्ने परम्परा हराउँदै

blog

कमलामाई नगरपालिका–४ मल्लागाउँमा थ्रेसर प्रयोग गरेर धान झार्दै किसान । तस्विर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, मङ्सिर १७ गते । सिन्धुली जिल्लामा परम्परागत रुपमा गोरुको सहायताले दाइँ गर्ने प्रचलन हराउँदै गएको छ । आधुनिक कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने क्रम बढेपछि परम्परादेखि नै गोरुको सहायताले दाइँ गर्ने चलन हराउँदै गएको हो । 

पछिल्लो केही वर्षदेखि धान झार्न तथा खेती गर्न हाते ट्याक्टर, ट्याक्टर र थ्रेसरलगायत आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै गएको स्थानीयवासी बताउँछन् । आधुनिक कृषि यन्त्रको प्रयोग गर्दा समय र खर्च दुबै बचत हुने भएकाले किसानको उक्त यन्त्रप्रति आकर्षण बढ्दै गएको दुधौली नगरपालिका–१ निवासी किसान उद्बव देवकोटा बताउनुहुन्छ । "मैले पनि वर्षेनी थ्रेसरको प्रयोग गरेर नै धान झार्दै आएको छु", उहाँले भन्नुभयो, "थ्रेसर प्रयोग गर्दा धान झार्ने र पराल माड्ने (दाइँ) काम एकै पटक हुन्छ । धान झार्न र गोरु प्रयोग गरेर दाइँ गर्दा दिनभरि लाग्ने काम थ्रेसरले बिहानभरि पनि लगाउँदैन ।"

किसानका अनुसार थ्रेसरले लिने ज्याला भने ठाउँ अनुसार फरक पर्छ । कतै २० मुरी धान झार्दा एक मुरी धान ज्यालास्वरुप लिन्छन्, कतै घण्टाको दुई हजार रुपियाँसम्म ज्याला लिन्छन् । कमलामाई नगरपालिका–४ निवासी किसान कृष्ण रायमाझी आफूले घण्टाको १७ सय रुपियाँका दरले ज्याला दिएर थ्रेसरलाई धान झार्न लगाएको बताउनुहुन्छ ।

गाउँघरमा कृषि मजदुर अभाव हुँदै गएको र बढ्दो आधुनिक कृषि प्रविधिको प्रयोगले गोरु देख्न मुस्किल पर्दै गएको उहाँले सुनाउनुभयो । केही वर्ष अघिसम्म जिल्लाको अधिकांश स्थानमा धान पराल स्याहार्न मानिस र गोरुको प्रयोग हुँदै आएको छ । धान झाँटेर बाँकी रहेका धान झार्न र पराल माड्न गोरुबाट दाइँ गर्ने प्रचलन थियो ।

स्थानीयका अनुसार गाउँ छिटो र सजिलोका लागि जोत्नका लागि ट्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्याक्टरको प्रयोग बढेको छ । धान झाँट्न र दाइँ गर्न एकैचोटी हुने भएकाले थ्रेसरकै प्रयोग गर्ने किसानको सङ्ख्या बढेको छ । जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाँउपालिका लगायतका ठाउँका किसानले ट्याक्टर र थ्रेसरको प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । 

कमलमाई नगरपालिका कृषि शाखाका प्राविधिक देवीप्रसाद सापकोटा पनि श्रम, पैसा र समयको बचत हुने हुँदा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै आएको सुनाउनुहुन्छ । उहाँका अनुसार कृषि यन्त्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले अनुदान दिँदै आएको छ । कृषिमा आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै जाने हो भने केही वर्षभित्रै जिल्लामा गोरुको सहायताले हुने दाइँलगायत कृषिको काम हराएर जाने देखिन्छ ।