कवि, नाटककार, उपन्यासकार एवं कथाकार लुइजी पिरान्देलोको जन्म २८ जुन १८६७ मा इटालीको सिसिलीमा भएको थियो । बोन विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि गरेपछि रोमको विभिन्न टिचर्स कलेजमा साहित्यको प्राध्यापकमा नियुक्त भए । उनले १८८९ मा कविता सङ्ग्रह प्रकाशित गरेपछि उपन्यास लेखन सुरु गरे । उनको पहिलो उपन्यास दी आउटकास्ट सन् १८९३ मा प्रकाशित भयो ।
सन् १९१५ मा रङ्गमञ्चतर्फ आकर्षित भएका पिरान्देलो १९१८ सम्ममा त पूर्णरूपमा त्यसैमा समर्पित भइसकेका थिए । सन् १९२३ मा राष्ट्रिय कला थिएटर स्थापना गरे । मुसोलिनीको सहयोगमा दृश्यकला र नाटकको यथार्थलाई पुनर्जीवन दिएबापत उनलाई सन् १९३४ मा साहित्यतर्फको नोबेल पुरस्कारद्वारा सम्मानित गरियो । दी आउटकास्ट (१८९३) हेनरी फोर्थ (१९२२) याजु यू डिजाएर मी (१९३४) सिक्स क्यारेटर इन् सर्च अफ एन अयर (१९२१) आदि उनका कृति हुन् । उनको मृत्यु सन् १९३६ मा भएको थियो । युद्ध कथा प्रथम विश्वयुद्धताका इटालीको रेलयात्राको सेरोफेरोमा घुम्छ । धुरी राष्ट्रसित इटाली युद्धमा संलग्न भएको बेला रेलमा यात्रारत यात्रुहरू समेत मन, वचनले युद्धमा संलग्न हुन्छन् ।
रोमबाट नाइट एक्सप्रेसमा यात्रा सुरु गरेका यात्रीहरू एउटा सानो पुरानो बस सेवा हँुदै सुल्मोना सँगैको रेलमा थप यात्रा तय गर्नका लागि उज्यालो नहुन्जेलसम्म फ्याब्रियानी रेल स्टेसनमा रोकिनु पर्नेमा बिहान हेर्दा यात्रुले खचाखच भरिएको, धुवाँ र धुलोले रङ्मङ्गिएको दोस्रो दर्जाको डिब्बामा पाँच जनाले रात बिताइसकेका थिए । एउटी छन्द न बन्दको मोटी आइमाई अचानक अलापविलाप गर्न थालिन् । उनका पछाडि एक जना दुब्ला–पातला सानो कदको फुस्रो अनुहारको, चिम्सा र तेजिलो आँखा भएको उनको लोग्ने अलि लजाए जस्तो अनि अप्ठ्यारो महसुस गरिरहे जस्तो देखिन्थे ।
अन्ततः सिटमा बसिसकेपछि आफ्नी श्रमितीलाई बस्ने ठाउँ दिएकोमा यात्रुहरूलाई सहर्ष धन्यवाद दिए उनले । त्यसपछि श्रीमतीतिर फर्किंदै उनले श्रीमतीको कोटको कलर मिलाइदिए अनि नम्र स्वरमा
सोधे ः तिमीलाई ठिक छ प्रिय ?
जवाफ दिनुको साटो श्रीमतीले कोटको कलर फेरि आँखासम्म आइपुग्ने गरी तानिन् ताकि अनुहार छोप्न सकियोस् ‘खराब संसार’ उदास मुस्कान लिएर लोग्ने चाहिँ भुत्भुताउन थाले ।
आफ्ना सहयात्रीहरूलााई दया गर्नलायक नाजुक अवस्थाकी आफ्नी श्रीमतीका बारेमा बताउनु आफ्नो परम कर्तव्य सम्झे उनले । अलापविलाप गर्नुको खास कारण चाहिँ एक्लो छोरालाई युद्धले उनीबाट खोसेर लगेको थियो । भर्खर बिस वर्षमा टेकेको खाउँ खाउँ, लाउँ लाउँ उमेरको छोराका लागि उनीहरूले आफ्नो सम्पूर्ण जीवन अर्पेका थिए । छोराभन्दा सुल्मोनाको घर छाडेर उसको पछि पछि लागरे रोम आएका थिए उनीहरू । पढ्न भनेर रोम आएको थियो ऊ । कम्तीमा छ महिनासम्म युद्धको अग्र मोर्चामा पठाइने छैन भन्ने सर्तमा स्वयं सेवकका रूपमा युद्धमा भाग लिने अनुमति दिएका थिए उनीहरूले । तर अहिले आएर अचानक यस्तो तार (खराब) पाए तीन दिनभित्र उसले युद्धका लागि प्रस्थान गर्नुपर्ने छ र छोरालाई बिदाइ गर्दै उनीहरू त्यो ठाउँ छाड्नुपर्ने छ ।
ठुलो कोट लगाएकी ती महिला पीडाले बहुतै छटपटाएकी थिइन् । बेलाबेलामा जङ्गली जनावरले जस्तो ङ्यार्र ङुर्र गर्थिन् उनी । त्यत्रो बेरसम्म दुःखेसो पोख्दा पनि आफूले जस्तै पीडा भोगेका मानिसबाट अलिकति पनि सहानुभूति बटुल्न सकिनन् उनले । खुब ध्यान दिएर उनको कुरा सुनिरहेको यात्रुमध्येका एक जनाले भने, “तपार्इंले धन्यवाद दिनै पर्छ किनकि तपाईंको छोरो युद्धको अग्रमोर्चाका लागि भर्खरै मात्रै खटिएको रहेछ । हेर्नुस् मेरो छोरोलाई त युद्धको पहिलो दिनमै अग्रमोर्चामा खटाइएको छ । दुई दुई चोटि घाइते भएर फर्किंदा पनि फेरि अग्र मोर्चामै खटाइएको छ । मेरो पनि कुरा सुन्न हुन्छ कि ? मेरो त दुईवटै छोरा र तीन वटा भतिजा अग्रमोर्चामा छन्,” अर्को यात्रुले भन्यो ।
“होला, हुन त तर हाम्रो त त्यही एउटा” साहस बटुल्दै लोग्ने चाहिँले भने ।
“यसले के फरक पर्छ र, एक्लो छोरो भनेर बढी नै माया गर्नुहुन्छ होला तपाईं ।” यदि अरू पनि छोरा भइदिएको भए पनि उसलाई कम माया त गर्नु हुन्नथ्यो होला । आमाबाबुको माया रोटी जस्तै होइन टुव्रmा टुव्रmा पारेर छोराछोरीलाई बराबरी बाँड्न सकियोस् । आफ्ना सन्तानलाई बिनाभेदभाव माया गर्छ एउटा बाबुले । सन्तान चाहिँ एउटै होस् वा चाहे दस वटा यतिखेर म मेरा दुवै छोराको प्रेममा आधा आधा तड्पिरहेको छैन बरु दोब्बर तड्पिरहेको होला ।”
“ठिक भन्नु भो, ठिक भन्नु भो तपाईंले” अकमक्क परेको लोग्ने चाहिँले लामो सुस्केरा हाल्दै भने, “तर मानिलिनुस्, वास्तवमा हामी तपाईंलाई यस्तो नहोस् भन्ने नै कामना गर्छौं । एउटा बाबुको दुईवटै छोराहरू युद्धको मोर्चामा खटिए, एउटा छोरा गुमाए भने पनि अर्को छोरो त बाँकी छ नि सान्त्वनामा लागि होइन र ?”
“हो... हो सही भन्नु भो,” अर्कोले सही थाप्यो । सान्त्वना स्वरूप बाँचेको त्यही एउटा छोराको मुख हेर्नुपर्ने हुन्छ उसले तर भएको एक्लो छोरो पनि मरेको बाबुको हकमा त पीडा खप्न नसकेर आफैँ पनि प्राण त्याग्न सक्छ हैन र ? यी दुईवटा परिस्थितिमा कुन चाहिँ बढी खराब छ, देख्नु हुन्न तपाईं ?”
“वाहियात” राता राता आँखा र अनुहार भएको एउटा मोटो यात्रुले बिचमा हस्तक्षेप गर्दै भन्यो । ऊ स्वाँ स्वाँ गर्दै थियो । उसका सुन्निएका आँखाबाटै प्रस्ट हुन्थ्यो कि अनियन्त्रित जोशबाट उत्पन्न भित्री हिंसाको भाव प्रकट भइरहेको छ, उसको र शरीरले त्यसलाई थेग्न मुस्किल परिरहेको थियो । “वाहियात” उसले फेरि दोहो¥यायो, अगाडिको फुक्लेका दुई वटा दाँत नदेखियोस् भनेर हातले मुख छोप्ने कोसिस गर्दै थियो ऊ । ‘वाहियात’ आफ्नो निजी स्वार्थका लागि हामीले सन्तान जन्माएमा हौँ रे ?”
अरू यात्रुले उसको मुखमा ट्वाल्ल परेर हेरिरहे । युद्धको पहिलो दिनमै अग्रमोर्चामा खटाइएको छोराको बाबु चाहिँले लामो सास फेर्दै भन्यो, “ठिक भन्नु भो तपाईंले हाम्रा सन्तान हाम्रा लागि मात्र होइनन् उनीहरू देशका लागि पनि हुन्... ।”
“बकवास” अर्को यात्रुले हकार्दै भन्यो, “सन्तान जन्माउँदै गर्दा हामीले देशका लागि भनेर जन्माएका थियाँै र ? हाम्रा छोराहरू जन्मे किनभने तिनीहरूलाई जन्मिनु थियो र जन्मिँदै उनीहरूले जीवन पनि सँगै लिएर जन्मिन्छन् । यही नै सत्य हो । हामी उनीहरूका हौँ तर उनीहरू हाम्रा लागि होइनन् । जब उनीहरू बिस वर्ष पुग्छन् त्यो उमेरमा हामी जस्ता थियौँ ठ्याक्कै उनीहरू पनि त्यस्तै हुने हुन् । हाम्रा पनि बाबुआमा थिए बाबुआमाभन्दा पनि अरू बढी थुप्रै चिज थिए जस्तो केटीहरू चुरोट, भ्रम, नयाँ सम्बन्ध अनि देशविदेश आदि इत्यादि तर कसको कुरा खायौँ र हामीले ? जतिबेला हामी बिस वर्षका थियाँै मैलै बाबुआमाले नभनेकै भए पनि । यो उमेरमा पनि हामीमा अझै सोचौँ देशपे्रम छँदैछ, अझ भनौँ भने आफ्ना सन्तानको भन्दा पनि बढी माया हुन्छ देशको । हामीमध्ये कसले पो युद्धको अग्रमोर्चामा आफ्नो छोरालाई नपठाउला र यदि उसले सक्छु भने ?”
एकछिन सबैतिर मौनता छायो । सबैले स्वीकृति सूचक मुन्टो हल्लाएर होमा हो मिलाए ।
मोटो मान्छेले सोध्यो– किन बिस वर्ष पुगँे भन्दैमा के हामीले सन्तानको भावनाको कदर गर्नु पर्दैन ? यो उमेरमा देशप्रति समर्पित हुनु अस्वाभाविक हो र ? (म सपूतहरूको कुरा गर्दै छु ।) अझ हामीलाई भन्दा देशलाई नै बढी माया गर्नुपर्ने हैन र उनीहरूले ? हामीलाई जसरी उनीहरूले सम्मानका दृष्टिले हेर्छन् त्यसै गरी हिँडडुल गर्न नसक्ने, घरमै बस्न बाध्य भएका बुढापाकाहरूलाई पनि सम्मानका दृष्टिले हेर्नु पर्छ उनीहरूले यदि माया छ भने । जसरी बाँच्न खानाको आवश्यक छ त्यसै गरी देशका लागि आवश्यक परे मैदानमा उत्रिनु पर्छ युवाहरूले । बिस वर्ष पुग्नासाथ हाम्रा छोरा पनि त्यसै गरी जाने छन् । युद्ध मैदानमा छोराहरू मारिए बाबुआमाले आँसु झर्नु बेकार छ । देशका लागि मर्नु कम गौरवको कुरा हो ? हाँसी हाँसी मर्छन् उनीहरू (म सपूतहरूको कुरा गर्दै छु ।) यदि उनीहरू हाँसी हाँसी युवावस्थामै मरे भने दिक्दारी तिक्तता, दुखाइ अभाव जस्ता जीवनका पाटासित जुध्नु पनि परेन, अनुभव गर्नु पनि परेन । त्यहाँभन्दा अरू बढी के नै चाहियो ? ईश्वरलाई धन्यवाद दिनै पर्छ त्यसका लागि । बिलौना गर्नुको साटो हाँस्नु पर्छ सबैले, जस्तो म गर्दै छु । मैले जस्तै ईश्वरलाई धन्यवाद दिनु पर्छ सबैले किनभने मेरो छोरालाई आफूले गर्न सके जति देशका लागि गरेर मर्न पाए आफू सुन्तुष्ट हुने थिएँ भनेर खबर पठाएको थियो मर्नुअघि । त्यसैले हेर्नुस् मैले तपाईंहरूले जस्तै बेकारमा शोक गर्न छाडिसकेँ ।
यसले आफ्नो कोट हल्लाउँदै गर्दा दाँत नभएका गिजा देखियो । उसको आँखामा आँसु छचल्किएको थियो, अचेत जस्तै देखिन्थे उनी । हाँसो मिश्रित कर्कश स्वरमा उनले आफ्नो कुरा टुङ्ग्याए । “बिल्कुल सही बिल्कुल सही” अरूले सहमति जनाए ।
कोटभित्र गुटमुटिएर एउटा कुनामा बसिरहेकी ती महिलाले सबैका कुरा सुनिरहेकी थिइन् । आफू गहिरो शोक र दुःखमा पर्दा आफ्नो लोग्ने र साथीहरूबाट सहानुभूतिका शब्दहरू सुन्न उनी विगत तीन महिनादेखि लालायित थिइन् र सुन्दै पनि आइरहेकी थिइन् । एउटी आमाले कसरी आफ्नो छोरालाई मृत्युको मुखमा धकेल्छिन् । त्यस्तो अवस्थामा सहानुभूतिका शब्द सुन्न चाहे पनि राहत मिल्ने खालको शब्द सुन्न पाइरहेकी थिइनन् । आफ्नो पीडा सुनाउने मान्छे कोही नपाउँदा उनको दुःख झन्झन् बढ्दैथ्यो ।
अहिले आएर ती यात्रुका शब्दले उनलाई अचम्मित तुल्यायो । परिस्थिति बुझ्न नसक्नु आफ्नै गल्ती भएकै अचानक महसुस गरिन् उनले । अरूले आफूलाई बुझ्न नसकेको होइन आफू नै अरूको बाबुआमाको उचाइमा पुग्न नसकेकामा ग्लानि भो उनलाई, जसले आफ्नो छोराको बिदाइ मात्र होइन मृत्यु वरण गर्दासमेत रोइ कराइ गरेनन् ।
उनले मुन्टो उठाइन् । मोटो मान्छेले आफ्नो छोराले कसरी राजा र मुलुकका लागि ज्यान अर्पेर नायक बन्यो भन्ने कुरा विस्तृत रूपमा ध्यानपूर्वक सुन्न कुनाबाट मुन्टो फर्काइन् । मोटो मान्छेको छोराले हाँसी हाँसी बिनापश्चात्ताप मृत्युवरण गरेको थियो । कहिल्यै कल्पना नगरेको अपरिचित संसारसित ठक्कर खान पुगिन् उनी । आफ्नो छोराको मृत्युका बारेमा वैराग्यपूर्ण भाषामा बोलिरहेको बहादुर बाबुलाई बधाई दिन पाउँदा उनलाई गौरवको महसुस भइरहेको थियो । ज्यादै खुसी देखिन्थिन् उनी ।
त्यसपछि अकस्मात्, मानौँ उनी कसैको कुरै सुनिरहेकी थिइनन् या अझ भनौँ सपनाबाट एक्कासि बिउँझे जस्तो गरी उठिन् अनि ती बृद्धतिर फर्केर सोधिन्– “उसो भए साँच्चै मरेकै हो त तपाईंको छोरो ?” सबैले उनलाई ट्वाल्ल परेर हेरे । ती वृद्धले पनि उनलाई आँसु भरिएको चिम्सा र सुनिएका आँखाले हेरे । अलि बेरसम्म महिलाको प्रश्नका जवाफ फर्काउने प्रयास त गरे तर उनको वाक्य फुटेन । उनले महिलातिर हेरि मात्र रहे टुलटुल । त्यस्तो सिल्ली वा अप्रासङ्गिक प्रश्न सोधेकोमा उनलाई पछुतो पनि भो । ती वृद्धको छोरो वास्तवमै मरेको रहेछ भन्ने थाहा भो उनलाई । कहिल्यै नफर्किने गरी गएको रहेछ ऊ । उनको अनुहार खुम्चियो । नराम्ररी विकृत भो । ती वृद्धको अनुहार । हतारहतार खल्तीबाट रुमाल निकालेर आँसु पुछ्न थाले । सबै छक्क पर्ने गरी मुटु नै चँुडिने गरी सुँक्क सँुक्क गर्न थाले ।
अनुवाद:बद्रीप्रसाद घिमिरे