• १२ असोज २०८१, शनिबार

तेह्र विद्यार्थी पढाउन छ जना शिक्षक

blog

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १६ गते । झापाको एउटा सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कमल गाउँपालिका ७ मा रहेको पिङ डाँडा आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या १३ मात्र रहेको पाइएको हो । शिक्षक तथा कर्मचारीको सङ्ख्या ६ रहेको छ । एउटै कक्षा कोठामा राखेर ५ कक्षासम्म पढाइ हुने गरेको छ ।

वि.स.२०४४ सालमा स्थापना भएको सो विद्यालय भौतिक पूर्वाधार र जनशक्ति भए पनि विद्यार्थीहरू नभएको बताइन्छ । यो शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्याको अभिलेखमा ३५ जनाको नाम रहे पनि गाउँपालिकाको शिक्षा शाखाले गरेको अनुगमनमा १३ जना मात्र विद्यार्थी रहेको पनि रहस्य खुलेको छ । 

विद्यालयमा ४ जना शिक्षक, एक जना सहयोगी कार्यकर्ता (बाल शिक्षक) र एक जना कर्मचारी रहेका छन् । कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेका अनुसार यहाँको विद्यार्थी सङ्ख्या १३ जना भएको पाइएको बताउनु भयो । अनुगमन गर्दा १३ जना रहेको पुष्टि भयो, उहाँले भन्नुभयो ।

बाल विकास केन्द्रका देखि कक्षा ५ सम्म पढ्ने कूल १३ जना विद्यार्थी एउटै कक्षाकोठामा बसेर अध्ययन गर्ने गरेको एक शिक्षिकाले बताउनु भयो । सबै जना शिक्षक कर्मचारी नियमित रूपमा विद्यालयमा आए पनि एउटा कक्षाकोठामा मात्र राखेर पढाउने गरेका छौ, ती शिक्षिकाले जानकारी दिनु भयो ।

विद्यालयकी प्रधानाध्यापक देवीमाया अधिकारीले ३० जना विद्यार्थी भर्ना भएको तर विद्यार्थी पढ्न नआउने गरेको स्वीकार गर्नु भयो । हामीले अभिभावकहरूलाई विद्यार्थी पठाउन धेरै अनुरोध गर्ने गरेका छौ, उहाँले भन्नुभयो । भर्ना भएका विद्यार्थीहरू पनि पढ्न आउँदैनन्, उहाँको भनाई छ ।

बाल विकासमा पाँच जना, एल केजीमा चार जना, कक्षा १ मा एक जना, कक्षा दुईमा ६ जना, कक्षा तीनमा एक जना, कक्षा चारमा ५ जना र कक्षा पाँचमा तीन जना विद्यार्थी भर्ना भएको विद्यालयको अभिलेखमा उल्लेख छ । अन्य छेउछाउका सामुदायिक विद्यालयमा अंग्रेजीकाे माध्यमबाट पढाइ हुने भएपछि यहाँ विद्यार्थीको आकर्षण घटेको बताइन्छ । 

कमल गाउँपालिकामा २१ वटा सामुदायिक विद्यालय रहेकोमा सबैभन्दा कम विद्यार्थी सङ्ख्या भएको विद्यालयको रूपमा यो रहेको जनाइएको छ  । गाउँपालिकाका शिक्षा समिति संयोजक एवं गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार यस विद्यालयमा रहेका शिक्षक तथा कर्मचारीको व्यवस्थापनको विषयमा छलफल भइरहेको छ । धेरै विद्यार्थी भएको विद्यालयमा शिक्षकहरूलाई पठाउन सकिन्छ, उहाँले भन्नुभयो ।

गाउँ शिक्षा समिति यसै साता बसेको बैठकले पालिका भित्रका यो विद्यालयमा कार्यरत शिक्षकहरूलाई पालिका भित्रै रहेका विद्यार्थी सङ्ख्या धेरै र शिक्षकको सङ्ख्या कम भएका अन्य सामुदायिक विद्यालयहरूमा सरुवा अर्थात् कामकाजमा खटाउने निर्णय गरेका छौ, उहाँले जानकारी दिनुभयो । नियमित रूपमा विद्यालयहरूको अनुगमन गरेर यस्तो निर्णय लिएका हौ, उहाँको भनाई छ ।