मीना कंडेल
कावासोती, मङ्सिर १५ गते । नवलपुरमा एक सय २० जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । सन् २०३० सम्म एचआइभीको सङ्क्रमणलाई अन्त्य गर्ने सरकारको नीति भएपनि जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या भने बढ्दै गएको छ ।
नवलपुरमा आ. व ७७-७८ मा ८२ जना, ७८-७९ मा १ सय ७ जना र ७९/८० मा १ सय २० जनामा एचआइभीको सङ्क्रमण भेटिएको हो । गत आवमा भेटिएका ७९-८० मा १ सय २० जना एचआइभी सङ्क्रमितमध्ये २ जना ५ देखि १४ वर्ष सम्मका बालबालिका समेत रहेको स्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार संक्रमितहरूमध्ये ५१ पुरुष र ४८ महिला सहित ९९ जना निरन्तर औषधि खाइरहेका छन् । ५ पुरुष र ४ महिला सहित ९ जना नवलपुरबाट आफ्नै जिल्ला गइसकेका छन् भने ५ जना पुरुषहरू औषधि सेवन गर्न छाडेका छन् । गत आवमा मात्रै १३ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारीले बताउनुभयो । नवलपुरमा गत वर्ष ५ जना सङ्क्रमितको मृत्यु भएको छ ।
अझै पनि समाजमा एचआइभी सङ्क्रमित र तिनका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन । जिल्लामा सङ्क्रमित र प्रभावितका विभिन्न खालका समस्या रहेकाले सङ्क्रमितहरू सार्वजनिक हुन नचाहेकाले पनि समन्वय गर्न चुनौती रहेको सरोकारवालाले बताएका छन् । नवलपुरमा रहेर एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसको सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रममा सो बताएका हुन् ।
एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लस संस्थाले एचआइभी रोकथाम, नियन्त्रण, उपचार र सहयोगमा काम गरिरहेको संस्थाका अध्यक्ष निर्मला पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “एचआइभी सङ्क्रमित हुनु जीवनको अन्त्य होइन नयाँ जीवनको सुरुवात हो ।"
"सङ्क्रमित भएपछि जीवन सहज रूपमा चलाउन सकिन्छ ,त्यसको लागि सङ्क्रमितहरूलाई सबैको सहयोगको खाँचो रहन्छ । एचआइभी सङ्क्रमितहरूले पनि उपचार अवसर र साथ पाएमा लामो समय सम्म बाचेर समाज परिवर्तन गर्न सक्छन्", पौडेलले भन्नुभयो ।
स्वास्थ्य कार्यालय मार्फत पालिकाहरूले पनि नीतिगत योजना बनाएर एचआइभी सङ्क्रमितको स्वास्थ्य उपचारदेखि जीविकोपार्जन लगायतका सन्दर्भमा चासो पुर्याउनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “लुकेर बसेका कैयौँ रोगी छन्, कैयौँ सङ्क्रमित छन् त्यस्तालाई हेला गर्नुहुँदैन भन्ने सचेतना जगाउनेदेखि उनीहरूको जीविकोपार्जनका विषयमा स्थानीय तहदेखि नै योजना बनाउन म अनुरोध गर्दछु ।” यसो भएमा सङ्क्रमितहरू पनि आफूहरू अवहेलनामा नपरेको, राज्यबाट खोजी र संरक्षित भएको महसुस गर्दै उनीहरूमा हिम्मत र साहस बढ्ने प्रमुख चापागाईँको भनाइ छ ।
नियमित औषधि सेवन गर्न,रोग नलुकाऊ र आफू सङ्क्रमित भएपनि अरू सङ्क्रमित नहुन भन्ने भावना राख्न आग्रह गर्नुभयो । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।