• १२ असोज २०८१, शनिबार

सिँचाइ आयोजना अलपत्र

blog

कविराज घिमिरे

हिले, मङ्सिर १५ गते । धनकुटाको सहिदभूमि गाउँपालिका–१, गोपालपुरमा निर्माण गरिएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न भएको सो योजना केही समय सञ्चालन भएर बन्द भएपछि अलपत्र परेको हो ।

नदी किनारका बासिन्दालाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले जलस्रोत तथा सिँचाइ विकास डिभिजन धनकुटाले आर्थिक वर्ष २०७८/७९ मा लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा ल्याएको थियो । जसबाट गोपालपुरका ५८ परिवारको २७ हेक्टर जमिन सिञ्चित भयो तर केही समय चलेर बन्द भएपछि अहिले गोपालपुरवासीलाई सिँचाइ गर्न समस्या भएको छ ।

आयोजनाको प्लास्टिकका पाइप फुट्ने समस्याका कारण बन्द हुँदा कृषक फेरि पुरानै अवस्थामा फर्कन बाध्य भएका हुन् । आयोजना बन्द हुँदा सिँचाइ अभावमा पुनः सयौँ रोपनी जग्गा बाँझो हुन पुगेको छ । पहिले तरकारी बाली उत्पादन गर्ने ठाउँ अहिले पानी अभावका कारणले उजाड बनेका छन् । सिँचाइ आयोजना बन्द भएपछि स्थानीयवासीले जेनतेन मकै, कोदोको मात्रै खेती गर्दै आएका छन् । आयोजना सञ्चालन गर्न जिआई पाइपको माग गरे पनि आश्वासन मात्र पाएको स्थानीय ऐनकुमार राईले बताउनुभयो । “पटक पटक पाइप फुटेपछि प्लास्टिकको पाइप विस्थापित गरी जिआई पाइपको माग ग-यौँ तर अहिलेसम्म काम भएको छैन सिँचाइ गर्न पाएका छैनौँ,” उहाँले भन्नुभयो । 

सिँचाइ आयोजना पाँच, छ महिना दुःखसुख चले पनि एक वर्षयता भने पूर्ण रूपमा बन्द छ । आयोजना सञ्चालनमा आएपछि आफ्ना दिन खुले भन्ने लागे पनि अहिले आयोजना बन्द भएपछि फेरि सिँचाइकै समस्या ठुलो लागेको स्थानीय मोहनकुमार राईले बताउनुभयो । “कति पटक त हुन्छ कि भनेर आफैँले पाइप टालेर पनि योजना सञ्चालन गर्न कोसिस ग-यौँ तर टालिनसकी फुटेपछि पार नलागेर छाड्यौँ,” उहाँले भन्नुभयो । तरकारी खेती गरी व्यावसायिक बन्न मद्दत गर्न थालेको थियो तर बिग्रिएपछि पुनः मकै, कोदोलगायतको बालीमा भर पर्नु परेको उहाँले गुनासो गर्नुभयो । 

सिँचाइका लागि सो क्षेत्रमा पाइपलाइन विस्तारसँगै दुई वटा ट्याङ्की, पानी सङ्ग्रह हुने ट्युबेल, पानी फ्याँक्ने मोटर र सोलार प्यानलको व्यवस्था गरिएको छ तर प्रयोगमा नआउँदा आयोजनामा राखिएका सोलार प्यानल झाडीले पुरिन लागेका छन् । करिब एक करोड ३५ लाख रुपियाँको लागतमा निर्माण गरिएको सो आयोजनामा तमोर नदीदेखि ट्याङ्कीसम्म पानी पठाउन एक हजार ६५९ मिटर लाइन विस्तार गरिएको छ । त्यस्तै ट्याङ्कीदेखि कृषकको खेतबारीसम्म पानी पठाउन १४ हजार ९८३ मिटर लाइन विस्तार गरिएको छ ।

यता सिँचाइ डिभिजन कार्यालयले भने सो आयोजना बन्द नभएको जनाएको छ । पाइप मर्मतका लागि दुई पटक आएको करिब २५ लाख रुपियाँ काम हुन नसक्दा फिर्ता भएर गएको कार्यालयले जनाएको छ । सो योजनाका बारेमा अख्तियारमा उजुरी परेकाले मर्मतका लागि अघिल्लो वर्ष आएको रकम फिर्ता भएको सिँचाइ डिभिजन कार्यालयका सिनियर एसोसिएट अर्गनाइजर बुद्धिमान लिम्बूले बताउनुभयो । “करिब डेढ वर्ष अख्तियारमा उजुरी परेर मर्मतको कार्य गर्न पाएनौँ, अब त उजुरी पनि किनारा लाग्यो सम्भवतः यो वर्ष जिआई पाइप फेर्ने काम हुन्छ,” उहाँले भन्नुभयो ।