• १२ मंसिर २०८१, बुधबार

अस्थायी आवास बनाउन स्थानीय तहको कोषमा रकम जम्मा

blog

सानीभेरी गाउँपालिका ४ मा अस्थायी आवास निर्माणमा सहयोग गर्दै स्वयम् सेवक । तस्बिर : गोरखापत्र

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १४ गते । भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणको लागि रकम निकासा भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जिल्लाका चार स्थानीय तहको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा २१ करोड ४६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार आठविसकोट नगरपालिकामा चार हजार पाँच सय अस्थायी आवास बनाउन ११ करोड २५ लाख रुपियाँ पठाइएको छ भने चौरजहारी नगरपालिकामा दुई हजार ५११ आवास निर्माणका लागि ६ करोड २७ लाख ७५ हजार रुपियाँ पठाइएको छ । 

त्यसैगरी त्रिवेणी गाउँपालिका एक हजार १२४ आवास निर्माणका लागि २ करोड ८१ लाख र सानीभेरी गाउँपालिकामा ४५० आवास निर्माणको लागि १ करोड १२ लाख ५० हजार रुपियाँ स्थानीय तहको खातामा जम्मा गरिएको छ । 

हालसम्म ८ हजार ५८५ लाभग्राहीका लागि २१ करोड ४६ लाख २५ हजार रुपियाँ सम्बन्धित स्थानीय तहका विपद् कोषमा पठाइएको प्रजिअ पन्तले जानकारी दिनुभयो । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० (दोस्रो संशोधन समेत) बमोजिम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान कायम र स्वीकृति भई आएका लाभग्राहीको लागि उक्त रकम पठाइएको हो । 

आगामी दिनमा स्थानीय तहबाट समितिको निर्णय भएर लाभग्राही कायम भएको जानकारी जिल्लाको विपद् व्यवस्थापन समितिमा प्राप्त भएपछि क्रमशः सम्बन्धित स्थानीय तहको विपद् कोषमा रकम पठाइने प्रजिअ पन्तले बताउनुभयो । 

त्रिवेणीमा लाभग्राहीको खातामा रकम जम्मा

त्रिवेणी गाउँपालिकाले अस्थायी आवास निर्माणका लागि छनौट भएका लाभग्राहीको खातामा रकम जम्मा गर्न सुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार पहिलो चरणमा स्थानीय कोषको खातामा आएको १६ लाख रकम सम्बन्धित लाभग्राहीको खातामा जम्मा गरिसकिएको छ । ६४ जना प्रभावित परिवारको अस्थायी आवास निर्माण बापतको पहिलो किस्ता खातामा जम्मा गरिएको हो । 

दोस्रो चरणमा पनि एक हजार ६० लाभग्राहीको लागि रकम आइसकेकोले आइतबार सम्बन्धितको खातामा जम्मा गरिने प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिनुभयो । स्थानीय तहले वडास्तरबाट लाभग्राही कायम गरेर पठाएका प्रभावितहरूको विवरण पालिकामा यकिन गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने क्रम जारी रहेको जनाएका छन् ।