• १२ मंसिर २०८१, बुधबार

बाँकेमा घट्दै एचआइभी सङ्क्रमित

blog

पत्रकार अन्तरक्रिया कार्यक्रममा अभिमुखीकरण गर्नुहुँदै भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा.सङ्केत रिसाल । तस्बिर : जागेश्वर बस्नेत ।

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर १४ गते । बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । ३६ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा नेपालगन्जमा बिहीबार आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले पछिल्लो समयमा बाँकेमा एचआइभी सङ्क्रमितको घट्दै गएको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन रवीन्द्र शाहका अनुसार आर्थिक वर्ष २०७८/२०७९ मा भन्दा आर्थिक वर्ष २०७९/२०८० मा बाँकेमा एचआइभी सङ्क्रमितको सङ्ख्या कम देखिएको हो । फोकल पर्सन शाहका अनुसार आर्थिक वर्ष २०७८/२०७९ बाँकेमा एक सय ५७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण देखिएको थियो भने आर्थिक वर्ष २०७९/२०८० मा १०९ जनामा एचआइभी सङ्क्रमण देखिएको हो ।

आर्थिक वर्ष २०७८/२०७९ मा ११ हजार ७ सय ४५ जनामा एचआइभी जाँच गर्दा १५७ जना र आर्थिक वर्ष २०७९–२०८० मा १७ हजार ३ सय २८ जनामा जाँच गर्दा १०९ जना व्यक्तिमा सङ्क्रमण देखिएको फोकल पर्सन शाहले जानकारी दिनुभयो । 

त्यसैगरी, गत आर्थिक वर्षमा जिल्लामा २१ हजार ४ सय १६ जना गर्भवती महिलामा एचआइभी जाँच गर्दा कसैमा पनि एचआइभी सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार एचआइभी जाँच र सङ्क्रमित देखिएका बाँके लगायत अन्य जिल्लाका भएपनि अधिकांश बाँकेका हुन् । सो सङ्ख्या बाँके जिल्लाभित्र जाँच गराएका बाँकेसहित विभिन्न जिल्लाका सङ्क्रमित भएको उहाँले बताउनुभयो ।

गत वर्षको तथ्याङ्क अनुसार नेपालगन्जस्थित भेरी अस्पतालबाट ५५६ जना सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् जसमध्ये ४१२ जना बाँकेका रहेको शाहले जानकारी दिनुभयो । 

सन् २००४ बाट सङ्क्रमितहरूका लागि एआरटी सेन्टरमार्फत सेवा सुरु गरेको भेरी अस्पतालले सुरुदेखि गत वर्ष सम्ममा ५५६ जना सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेको भेरी अस्पतालका एचआइभी फोकल पर्सन डा.सङ्केत रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुदेखि हालसम्म भेरीबाट सेवा लिएका विभिन्न जिल्लाका १७२ जना सङ्क्रमितको निधन भएको छ ।

डा. रिसालले एचआइभी र एड्स भन्ने दुई भिन्दाभिन्दै शब्द भएको भन्दै एचआइभी र एड्सको भिन्नता बुझाउनु पर्ने बताउनुभयो । उहाँले एचआइभी भनेको भाइरस र एड्स भन्ने रोग भएको भन्दै एचआइभी भाइरसको सङ्क्रमण हुँदैमा डराउनु नपर्ने बताउनुभयो । “अरू रोग जस्तै यो रोग पनि दीर्घ रोग हो, अरू दीर्घ रोगको जस्तै यसको पनि नियमित औषधि सेवन गरे लामो समय बाँचिन्छ,” उहाँले भन्नुभयो, “अबको जमानामा यो कुनै ठुलो रोग हैन, सरकारले तोकेको एआरटी सेन्टरमार्फत निःशुल्क जाँच र निःशुल्क रूपमा औषधि पाइन्छ, सामान्य रूपले लिनुपर्छ तर रोग लाग्नु भन्दा अगावै सचेत हुनु जरुरी छ ।”

शङ्का लागेमा भेरी अस्पतालको २० नम्बरको कोठामा आई निःशुल्क रूपमा परामर्श तथा उपचार लिन सकिने डा.रिसालले बताउनुभयो । चेकजाँच पश्चात् एचआइभी भाइरसको सङ्क्रमण देखिएमा तुरुन्त औषधि सेवन सुरु गर्नुपर्ने उहाँको भनाइ छ ।    

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले एचआइभी, एचआइभी सङ्क्रमण, उपचार पद्धति, रोकथाम तथा न्यूनीकरणका आदीका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

पत्रकार अन्तरक्रिया कार्यक्रममा पत्रकार, स्वास्थ्यकर्मी, एचआइभी सम्बन्धी काम विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकारवालको उपस्थिति रहेको थियो ।

३६ औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा शुक्रबार नेपालगन्जमा आयोजना गरिने विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनका लागि नेपालगन्ज उपमहानगरपालिकाले पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । भोली शुक्रबार डिसेम्बर १ तारिखका दिन बिहान साढे ७ बजे भेरी अस्पतालको प्राङ्गणबाट र्‍यालीसहितको झाँकीले बजार परिक्रमा गरिनुका साथै विभिन्न कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विविध कार्यक्रमसहित विश्वभर विश्व एड्स दिवस मनाउने गरिन्छ ।