• १४ असार २०८१, शुक्रबार

रमेश लामा स्मृति ग्रन्थको लोकार्पण

blog

स्मृति ग्रन्थ लोकार्पण गर्दै संविधानसभा सदस्य मधु गुरुङ, पूर्व सांसद द्वय हर्कमान तामाङ र घनश्याम खतिवडा । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला

उर्लाबारी, मङ्सिर १४ गते । रमेश लामा स्मृति प्रतिष्ठान बेलबारी मोरङले नेपालको पारामेडिकल क्षेत्रमा उल्लेख्य योगदान गर्नुभएका उहाँको स्मृतिमा ‘रमेश लामा स्मृति ग्रन्थ’ २०८० प्रकाशन गरेको छ । 

स्मृति ग्रन्थको बुधबार संविधान सभा सदस्य मधु गुरुङ, पूर्व सांसदद्वय हर्कमान तामाङ र  घनश्याम खतिवडाले संयुक्त रूपमा लोकार्पण गर्नुभयो । उहाँ तामाङ समुदायका अगुवासहित नेपालको चिकित्सा, राजनीति र भाषा साहित्यका क्षेत्रमा समेत अतुलनीय योगदान गर्नु भएका लामा खासगरी नेपालको पारामेडिकल क्षेत्रका हस्ती मानिनु हुन्छ ।

२०३२ सालमा लामा लगायत थुप्रैले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट सर्टिफिकेट अफ मेडिसिन उत्तीर्ण गर्नुभएको थियो । ऐन आउनुभन्दा अघिसम्म एचए (स्वास्थ्य सहायक) उत्तीर्ण भएकाहरूले बिरामी चेकजाँच गर्न र औषधि लेख्न पाउँथे । 

सरकारले आफ्नो अधिकार खोसेपछि लामालगायतका व्यक्तिहरूले आन्दोलनको माध्यमबाट बिरामी जाँच गरेर औषधि लेख्न पाउने कानुनी व्यवस्था सुनिश्चित गर्नुभएको थियो । गाउँघरमा डाक्टर नभएका बेला मोरङको बेलबारीमा लामा क्लिनिक सञ्चालन गरेर २०३७ देखि स्वास्थ्य सेवा गर्दै आउनुभएका लामाले तामाङ भाषाको शब्दकोश र तामाङ–नेपाली–अङ्ग्रेजी भाषाको शब्दकोश समेत प्रकाशन गर्नुभएको छ । 

उहाँले लेखेको तामाङ भाषाको औपचारिक शिक्षाको पाठ्यपुस्तक हाल मकवानपुरका विद्यालयमा अध्यापन भइरहेको छ । लामाले सोही पाठ्यपुस्तकलाई पढाउन सजिलो होस् भनेर होइसेर गीच्छा (सहयोगी पुस्तक) पनि लेख्नु भएको छ । तामाङ भाषामा थुप्रै कथा कविता लेख्नु भएका रमेशकुमार तामाङको ‘आमच्याङ थोङ लोस’ (सामीआमा ढुङ्ग्रो चुहियो) कथा चर्चित छ । 

तामाङ भाषाको पत्रिका छारम्हेन्दो (नयाँ फूल) र सैलुङ मासिकको समेत सम्पादन गर्नुभएका लामा २०३६ सालमा गठन भएको नेपाल स्वास्थ्य प्राविधिक सङ्घको संस्थापक समेत रहनुभएको थियो । २०२८ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियू सचिव समेत हुनुभएका लामा तत्कालीन बेलबारी गाविसको वडा नम्बर २ को दुई कार्यकाल वडाध्यक्ष निर्वाचित हुनुभएको थियो । 

२०४७ सालमा नेकपा (एमाले निकट) जनसांस्कृतिक महासङ्घ मोरङको उपाध्यक्ष बन्नुभएका तामाङ पाँच वर्ष  नेपाल तामाङ घेदुङको महासचिव भएर काम गर्नुभयो । स्मृति ग्रन्थमा विभिन्न ६५ जना लेखकले उहाँको जीवन र योगदानका विषयमा स्मृति लेख्नुभएको छ । स्मृति ग्रन्थ लोकार्पण समारोहमा तामाङको व्यक्तित्वका विषयमा स्रष्टा इरान राईले प्रकाश पार्नुभएको थियो । 

२००५ साल साउन ३० गते जन्मनुभएका लामाको ७३ वर्षको उमेरमा २०७८ माघ १९ गते मृत्यु भएको थियो ।