• २१ असार २०८१, शुक्रबार

राजनीतिक खिचातानीले चन्द्रनगर गाउँपालिकाकाे गाउँसभा अनिश्चित

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर १४ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिबीच सम्बन्ध थप चिसिँदा गाउँसभा कार्यक्रम अनिश्चित बनेको छ । राजनीतिक खिचातानी र जनप्रतिनिधिबीचमै मनमुटाव हुँदा गाउँपालिकाले असार मसान्तमै सम्पन्न गर्नुपर्ने गाउँसभा अझै गर्न सकेको छैन । गाउँ सभाबाट बजेट पारित नहुँदा विकास निर्माणका काम ठप्प छन् । 

सामाजिक सुरक्षा भत्ता र कर्मचारी तथा शिक्षकको तलब निकासा हुन सकेको छैन । पाँच महिनादेखि तलब नपाएपछि चन्द्रनगर गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालय बन्द गरेर मङ्गलबारदेखि सम्पूर्ण शिक्षक गाउँपालिकाको कार्यालयमा धर्नामा बसेका छन् । राजनीतिक द्वन्द्वले गाउँपालिका जरजर बन्दा स्थानीय चिन्तित छन् । चन्द्रनगर गाउँपालिका–१, लघुवाका रामजी महतोले जनप्रतिनिधिको व्यवहारले निराशा मात्रै दिएको गुनासो गर्नुभयो । 

विकास र सुविधाको आश गरेर जिताएका जनप्रतिनिधिबाट उल्टै दुःख पाएको महतोले गुनासो गर्नुभयो । “विकास त परको कुरा, हामीले पाउने वृद्ध भत्ता र शिक्षक, कर्मचारीको तलब नै रोकिदिए,” महतोले गुनासो सुनाउँदै भन्नुभयो, “जनप्रतिनिधिबीचको विवादले गर्दा जनता पिल्सिनुपर्‍य ाे ।” 

चन्द्रनगर गाउँपालिका–७, नाढीतालका मन्सिव धाँगरले मधेसको सबैभन्दा ठूलो पर्व छठमा समेत सामाजिक सुरक्षा भत्ता नपाउँदा ऋण काड्नु परेको बताउनुभयो । “जनप्रतिनिधिको हानाथापले गाउँसभा गरेर बजेट नल्याउँदा ऋण गरेर छठ मनाउनुपर्यो,” धाँगरले भन्नुभयो । 

गाउँपालिका उपाध्यक्ष गीतादेवी महतोले गाउँपालिका अध्यक्षसँग हरहिसाब माग गर्दा हिसाब नपाएको बताउनुभएको छ । “न हिसाब दिनुभएको छ, बरु उल्टै एकलौटी कार्यविधि ल्याएर मेरो र वडाध्यक्षको अधिकार नै कटौती गरिदिनुभयो,” उपाध्यक्ष महतोले भन्नुभयो, “जबसम्म हाम्रो अधिकार कटौती गर्ने कार्यविधि खारेज हुँदैन, तबसम्म गाउँसभा हुन दिँदैनौँ ।” 

उपाध्यक्ष महतोले गएको आर्थिक वर्ष २०७९-०८० को हरहिसाब पारदर्शी र गाउँपालिका अध्यक्षले एकलौटी ढङ्गले नियुक्त गरेको करारका कर्मचारी हटाउनुपर्ने माग छ । गाउँपालिका अध्यक्ष एकलौटी चल्दा यी सबै समस्या आएको उपाध्यक्ष महतोको आरोप छ । 

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले असारमै नीति, कार्यक्रम र बजेट बनाएर गाउँ सभा गर्ने अथक प्रयास गरेपनि उपाध्यक्षसहित बहुमत सदस्य गाउँसभा बैठकमै नआएको बताउनुभयो । “पटक–पटक पत्र काटेर बैठक बोलाएँ तर उहाँहरु आउनुभएन, पछि आउनुहोला र कुरा मिल्ला भन्ने आशमा बसियो,” गाउँपालिका अध्यक्ष महतोले भन्नुभयो, “गाउँ सभा नरोकौँ भनेर निरन्तर कर्मचारी, प्रमुख प्रशासकीय अधिकृतसहित २० वटाभन्दा बढी टोलीमार्फत अनुरोध गर्दा पनि उहाँहरु गाउँसभा गर्न मानिरहनुभएको छैन ।”    

उपाध्यक्षसहित १३ जना कार्यपालिका सदस्यको माग अनुसार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई नियमले मिल्ने सम्पूर्ण हरहिसाब दिन निर्देशन दिएको बताउनुभयो । “हामी आम जनतालाई त हिसाव दिन तयार छौं, जनप्रतिनिधिलाई नदिने कुरा हुँदैन,” गाउँपालिका अध्यक्ष भन्नुभयो, “उहाँहरुले प्रत्येक फाइल पल्टाएर शीर्षक, उपशिर्षक अनुसारको सबै हरहिसाब हेर्नुभएकै छ ।”

कामै गर्न नदिई आफूलाई ‘फेल’ गराएर राजकुमार महतोभन्दा त पहिलेकै अध्यक्ष ठीक थिए भन्ने पार्न भ्रम छर्ने काम भएको उहाँको गुनासो छ । गत वर्ष विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट नाढीमन तालका लागि नौ करोड ४० लाख, गाउँपालिका भवनलाई पाँच करोड ४० लाख, औद्योगिक ग्रामका लागि तीन करोड, डीप चापाकलका लागि पाँच करोड, स्वहोजन खेतीका लागि ३० करोड थप बजेट ल्याएपनि कामै गर्न नदिने षडयन्त्र गरिएको उहाँको भनाइ छ ।  

गाउँपालिका अध्यक्ष महतोले आफ्नो गाउँपालिकामा सर्लाहीकै प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव र पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतोको इसारामा जनताको कामै गर्न नदिने वातावरण सिर्जना गरिएको र निर्वाचित जनप्रतिनिधि उहाँहरुकै मतियार बनेको आरोप लगाउनुभयो । चन्द्रनगरमा नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपासहित विभिन्न आठ दलले पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र महतोको संयोजकत्वमा संयुक्त सङ्घर्ष समिति बनाएर गाउँपालिका अध्यक्षविरुद्ध विरोध प्रदर्शन गर्दै आइरहेका छन् । 

चन्द्रनगर गाउँपालिकामा १५ जना कार्यपालिका सदस्य छन् । त्यसमध्ये गाउँपालिका अध्यक्षसहित तीन जना एकातर्फ र उपाध्यक्षसहित १२ जना कार्यपालिका सदस्य अर्कोतर्फ रहनुभएको छ ।