• १२ साउन २०८१, शनिबार

रित्तिने अवस्थामा त्रिवि विभाग

blog

काठमाडौँ, मङ्सिर १३ गते  । पैँतिस वर्षअघि स्थापना भएको त्रिभुवन विश्वविद्यालय (त्रिविवि) को जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग यतिखेर विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । कुनैबेला वार्षिक तीन सय विद्यार्थीले अध्ययन गर्ने गरेको यो विभागमा अचेल विद्यार्थी पढ्न आउँदैनन् । 

बिहान सबेरै पढाउन गएका प्राध्यापकहरू कक्षाकोठामा विद्यार्थी नपाएपछि घर फर्किने गरेका छन् । एकाबिहानै विभाग आइपुगे पनि विद्यार्थी नआएपछि उक्त विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङले दुई दिनअघि फेसबुकमै लेख्नुभयो, “पढाउने पिरियडभरि विद्यार्थी पर्खी बसेँ, आएनन् । कसलाई, कसले दोषारोपण गर्ने वा विद्यार्थी खोज्न जाने !”

विगतमा महिलाको प्रजननदर अधिक भयो, घटाउनु पर्छ भनेर बहस गरेकोदेखि जनसङ्ख्या समस्या समाधानका लागि ‘पड्किन तयार बम’ भन्ने उपमा पाएको यो विभागमा मुस्किलले १२ जना विद्यार्थी भर्ना भएका छन् तर पढ्न भने कहिलेकाहीँ मात्रै आउने गरेका छन् । दुई जना प्राध्यापक, पाँच जना सहप्राध्यापक र पाँच जना उपप्राध्यापक कार्यरत रहेको विभागको वेबसाइटमा उल्लेख छ । 

त्रिभुवन विश्वविद्यालयको स्थापना भएसँगै २०१६ सालमा स्थापना भएको हिन्दी केन्द्रीय विभागको अवस्था पनि उस्तै दयनीय छ । पाँच जना प्राध्यापक कार्यरत रहेको यस विभागमा दुई सेमेस्टरमा गरेर छ जना विद्यार्थी भर्ना भएका छन् तर पढ्न भने कहिलेकाहीँ मात्रै आउँछन् । 

विभागका प्रमुख डा. सञ्जिता बर्माले भन्नुभयो, “स्कुल तथा विश्वविद्यालयको तल्लो तहमा हिन्दी विषयको पढाइ नभएपछि माथिल्लो तहमा भर्ना हुने विद्यार्थीको अभाव भएको हो । हिन्दी विषय पढ्ने विद्यार्थीका लागि विश्वविद्यालयले बनाएको अन्य नीतिगत व्यवस्था पनि बाधक बनेको छ ।”

पछिल्लो समय त्रिविवि अन्तर्गतका थुप्रै केन्द्रीय विभागले विद्यार्थी अभावको समस्या झेल्दै आएका छन् । बजारको माग अनुसार नयाँ विषय नहुनु पनि विद्यार्थी सङ्ख्या घट्नुको कारण हो । पछिल्लो समय नेपाली विद्यार्थीको लर्काे विदेशी विश्वविद्यालयतर्फ भएपछि नेपालका विश्वविद्यालय प्रायः सबैले विद्यार्थी अभाव झेल्न थालेका छन् । प्राध्यापक तथा प्रशासनिक कर्मचारीसमेत पर्याप्त रहे पनि विद्यार्थी नआएपछि विभागलाई कसरी अघि बढाउने भन्ने चिन्तामा विभागीय प्रमुखहरू छन् । विशेषगरी मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका केन्द्रीय विभागहरूले यस्तो समस्या झेल्दै आएका छन् । सोही सङ्कायको नेपाली केन्द्रीय विभाग, मनोविज्ञान केन्द्रीय विभाग, भाषा विज्ञान केन्द्रीय विभागलगायतमा पनि नगण्य मात्रामा मात्रै विद्यार्थी छन् । 

यी विभागमा अहिले स्नातकोत्तर तह अन्तर्गत दोस्रो र चौथो सेमेस्टरको पढाइ भइरहेको छ । पहिलो सेमेस्टरका लागि भर्ना प्रव्रिmया सुरु भएको छ । तैपनि विद्यार्थी आउने हुन् कि होइनन् भन्ने द्विविधामा विभागीय प्रमुख छन् । 

विद्यार्थी पर्याप्त रहेको भनिएका विभागमध्ये पनि इतिहास केन्द्रीय विभागमा दोस्रो सेमेस्टरमा २२ जना तथा चौथो सेमेस्टरमा १५ जना मात्रै विद्यार्थी भर्ना भएका छन् । विभागका प्रमुख प्राध्यापक डा. विष्णुप्रसाद सापकोटाले भन्नुभयो, “मैले पढ्दा यही विभागमा दुई सयभन्दा बढी विद्यार्थी हुन्थे । अहिले निकै नाजुक अवस्थामा पुगेका छौँ ।”विद्यार्थी पर्याप्त नभए पनि यस विभागमा १२ जना प्राध्यापक तथा तीन जना प्रशासनिक कर्मचारी कार्यरत छन् । 

आकर्षक मानिएको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा पनि विद्यार्थी घट्ने क्रममै रहेको विभागका प्रमुख प्राध्यापक डा. सोमप्रसाद खतिवडाले बताउनुभयो । उहाँका अनुसार यस विभागमा अहिले पहिलो र दोस्रो सेमेस्टरमा गरेर ५५ जना विद्यार्थी भर्ना भएका छन् तर हरेक वर्ष घट्ने क्रममा छ । 

“विश्वविद्यालयमा जताततै राजनीति बढेको छ । यी विद्यार्थी पनि हाम्रो आफ्नै बुताले तानेका हौँ,” उहाँले भन्नुभयो, “विद्यार्थीको हितका लागि लडेको दाबी गर्ने विद्यार्थी सङ्गठन चन्दा माग्न मात्रै आउँछन् । बरु चन्दा दिएन भने पिट्न आउँछन् । तैपनि हामीलाई कतैबाट संरक्षण हुन्न ।”

पछिल्लो समय त्रिविविले स्नातकलाई चारवर्षे बनाएको छ । त्यसमाथि परीक्षा सञ्चालन तथा नतिजा सार्वजनिकको काम नियमित नहुँदा स्नातक तह उत्तीर्ण हुन न्यूनतम पाँच वर्ष कुर्नुपर्ने बाध्यता छ । अहिले पनि त्रिविविमा स्नातकका कुनै विषयमा पढाइ सुरु भएको डेढ वर्षसम्म विद्यार्थीले परीक्षा दिन नपाएका घटना छन् । यसको असर स्नातकोत्तर तहको पढाइमा पर्ने गरेको छ । 

स्नातकोत्तर तहको सबै पढाइमा सेमेस्टर प्रणाली लागु गरिएको छ । स्नातक र स्नातकोत्तर तहको पढाइको तादम्य नमिल्दा पनि स्नातकोत्तर तहको पढाइ प्रभावित भएको भूगोल केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. उमेशकुमार मण्डलले बताउनुभयो । 

त्रिविविका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले भने केहीबाहेक अधिकांश केन्द्रीय विभागमा विद्यार्थी अभाव नरहेको दाबी गर्नुभयो । विगतमा मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिनसमेत भइसक्नुभएका भुसालले केन्द्रबाहेक अन्य जिल्लामा पनि सोही विषयको पढाइ हुने भएकाले विद्यार्थी त्यतातिर गएर केन्द्रमा घटेको दाबी गर्नुभयो । “सबै विभागमा विद्यार्थी भर्ना बढाउन डिन कार्यालय तथा विभागीय प्रमुखसँग छलफल गरेर कार्ययोजना बनाउँछौँ,” उहाँले भन्नुभयो । 

केन्द्रीय विभागहरूमा चार सेमेस्टरको स्नातकोत्तर तहको पढाइ पूरा गर्न औसतमा ३० हजारदेखि ४० हजार रुपियाँ मात्रै लाग्छ । पढ्दै रोजगारीमा पनि जान चाहने विद्यार्थीको हितलाई ध्यानमा राखेर विभागहरूले फरक फरक समयमा पढाइ सञ्चालन गर्दै आएका छन् । केही विभागले त अन्य दिनको पढाइ घटाएर शनिबारको दिनसमेत पढाइ सञ्चालन गर्दै आएका छन् ।  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।