• ९ असार २०८१, आइतबार

इलाममा भेटियो दुर्लभ उल्लु

blog

इलाम नगरपालिका–३ स्थित पाटेनागी क्षेत्रमा फेला परेको दुर्लभ उलक (उल्लु) । तस्बिर सौजन्य : वाइडलाइफ फोटोग्राफर देवेन खरेल

कोकिला ढकाल
इलाम, मङ्सिर ९ गते । 
इलामको पर्यटकीय क्षेत्र पाटेनागीमा दुर्लभ चस्मे उल्लु (उलुक) फेला परेको छ । वाइडलाइफ फोटोग्राफर देवेन खरेलले चरा खोजी गर्ने क्रममा पाटेनागी क्षेत्रमा पर्ने पुवामझुवाको चैतेमा (ब्राउन उड उल) नामको यो चराको तस्बिर खिच्न सफल भएको बताउनुभयो ।

खरेलले एक दुर्लभ चरा यहाँ भेटिनुलाई महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । ‘‘पाटेनागी जाने बाटामा हिँड्दै गर्दा यो चरा देखियो, यसलाई निकै महत्त्वपूर्ण उपलब्धि मानेको छु,’’ खरेलले भन्नुभयो, ‘‘पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गरेको स्थानमा यो चरा यहाँको गहना बन्नसक्छ । यो किसानको साथी चरा हो, यसको संरक्षण गर्नुपर्छ ।’’

चरा खोजी अभियानमा लाग्दा यो क्षेत्रमा रहेको ५५ जातीका चराको तस्बिर खिचेरको खरेलले बताउनुभयो । खरेलले रेडपान्डा नेटवर्कका डिबी मुखियालाई चराको नामसूची हस्तान्तरण गरेको बताउनुभयो ।

चस्मे उलुक चरा समुद्र सतहबाट डेढ सयदेखि दुई हजार सात सय मिटरसम्मको उचाइमा बस्छ । उल्लु जातको यो चराको शरीरको लम्बाई करिब ५० सेन्टिमिटर हुने जनाइएको छ ।

पाटेनागी क्षेत्रमा दुर्लभ चरा भेटिनु ठुलो उपलब्धि भएको इलाम नगरपालिका–३ का वडाध्यक्ष हेमन सुनुवार बताउनु हुन्छ । ‘‘यसले इलामको समग्र पर्यटनमा सघाउ पुर्‍याउने रहेछ,’’ सुनुवारले भन्नुभयो, ‘‘यहाँका दुर्लभ र रैथाले जीवजन्तु संरक्षणबारे हामीले स्थानीयलाई सचेत गराउनुपर्ने भएको छ ।’’

फोटोग्राफर खरेलले दुई वर्ष अघि इलामको सूर्योदय नगरपालिका–१, गोर्खेको सिमढापमा होम्रराई धनेस (रिफुज नेक्ड हर्नबिल) चराको फोटो खिच्नु भएको थियो । यो पनि नेपालमै एक सय ७१ वर्षयता नदेखिएको दुर्लभ चरा रहेको थियो । त्यसबेला फोटोग्राफर खरेलले होम्राई धनेशका दुई भालेको तस्बिर खिच्न सफल हुनुभएको थियो । खरेलका अनुसार धनेश प्रजातिमा घाँटी रातो हुने यो चरा नेपालमा सन् १८५० यता देखिएको थिएन । यो चरा नेपालमा नदेखिएकै कारण चरासम्बन्धी किताबहरूको पहिलो पृष्ठबाटसमेत यसको तस्बिर हटाइसकिएको थियो ।

सन् २०२१ मा गोर्खे सिमढापको करिब  एक हजार तीन सय मिटर उचाइमा देशमै पहिलोपटक यो चरा क्यामेरामा कैद भएको खरेलले बताउनुभयो ।