• १६ असार २०८२, सोमबार

धान रोपाइँ बिस प्रतिशत

blog

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी कृषि अनुसन्धान केन्द्रमा आयोजना गरिएको रोपाइँ कार्यक्रममा सहभागी हु्नुहुँदै । तस्बिर : सुजन गुरुङ

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १६ गते । आज असार १५ गते । परम्परागत रूपमा धान रोपाइँ गर्दै दहीचिउरा खाने दिन । यसै दिनलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरिएको छ । त्यसैलाई निरन्तरता दिँदै आइतबार देशव्यापी रूपमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरियो । कृषि विभागले ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा धान रोपाइँ गरेर दिवस मनाएको हो । 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी कृषि अनुसन्धान केन्द्रमा आयोजना गरिएको रोपाइँ कार्यक्रममा सहभागी भई धान रोप्नुभयो । विभिन्न सङ्घसंस्थाले समेत धान रोपाइँ गरेर दिवस मनाएका छन् । १५ असारलाई मानो रोपेर मुरी उब्जाउने पर्वका रूपमा मनाउने गरिन्छ ।

१५ असारसम्म मुलुकभर २०.३ प्रतिशत धान रोपाइँ भएको बाली विकास निर्देशनालयले जनाएको छ । गत वर्ष सो अवधिमा २१.३ प्रतिशत धान रोपाइँ भएको थियो । 

मध्य असार सकिँदा सबैभन्दा धेरै सुदूरपश्चिममा ४९.२ प्रतिशत, कर्णाली प्रदेशमा ३९.१ प्रतिशत र गण्डकी प्रदेशमा २८.२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै लुम्बिनी प्रदेशमा २४.३ प्रतिशत, बागमती प्रदेशमा २०.५ प्रतिशत, कोशी प्रदेशमा १४.३ प्रतिशत र सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । 

पहाडी क्षेत्रमा धान रोपाइँ धेरै भए पनि तराईमा कम भएको छ । पहाडमा चाँडो रोपाइँ हुने र तराईमा ढिलो रोपाइँ हुने गर्छ । जसको कारणले गर्दा पनि तराईमा कम रोपाइँ भएको तथ्याङ्कले देखाएको छ । यो वर्ष १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिने अनुमान गरिएको छ ।