• १३ मंसिर २०८१, बिहिबार

उपचार खर्च जुटाउन कृषिकर्ममा पूर्वलडाकु

blog

बैतडी समाचारदाता

बैतडी, मङ्सिर ९ गते । शरीरमा गोलीका छर्रा छन् । कम्मरमुनि क्यान्सर भएको छ, तैपनि मनमा उत्साह बोकेर बैतडीका एक युवा कृषिकर्ममा सक्रिय छन् ।  पञ्चेश्वर गाउँपालिका–१, (हालः पञ्चेश्वर–३) कुलाउका दीपक चन्द प्राणघातक रोग क्यान्सरसँग जुद्धै गाउँमा कुखुरा, कालिज, बाख्रा र बङ्गुरपालन गरिरहनुभएको छ । शरीरका अन्य भागमा क्यान्सर रोग फैलिन नदिन उहाँको प्रत्येक तीन महिनामा किमोथेरापी हुने गरेको छ । उहाँले कृषिबाटै खर्चको जोहो गर्दै आउनुभएको छ ।   

तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र युद्धमा होमिएका बैतडीका दीपक चन्द २०६२ भदौमा कालीकोटको पिली भिडन्तमा परेर घाइते हुनुभएको हो । शान्तिप्रव्रिmयापछि शरीरमा गोलीका छर्रा बोकेर घर फर्किनुभएका चन्द अहिले क्यान्सरबाट पीडित हुनुहुन्छ । क्यान्सर रोगको उपचार गर्न घर खेत बेचिएपछि चन्द अहिले सुकुमवासी बन्नुभएको छ । 

औषधी उपचार खर्च जुटाउन उहाँ छिमेकीले दिएको सानो जमिनको टुक्रामा टिनको छाप्रो बनाएर कुखुरा, बाख्रा र कालिजपालनमा लाग्नुभएको  छ । उहाँले माओवादी लडाकुको सातौँ डिभिजनमा सेना समायोजन र प्रमाणीकरणका बेला अनमिनका प्रतिनिधि र लडाकुबिच दोभाषेको रूपमा काम गर्नुभएको थियो । चन्दले अङ्ग्रेजी मूल विषय लिई स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । राज्य व्यवस्था फेर्न भनिएको लडाइँमा होमिनु भएका चन्द अहिले क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहनुभएको छ । 

प्रत्येक तीन महिनामा क्यान्सरविरुद्धको किमो लगाएर आफू बाँचिरहेको उहाँले बताउनुभयो । एउटा किमोको एक लाख १० हजार खर्च लाग्ने गरेको उहाँले बताउनुभयो । “पार्टीबाट कुनै सहयोग भएन । सिंहदरबारबाट मेरो फाइल नै हरायो,” चन्दले भन्नुभयो, “हरेस खाने कुरा भएन । घरखेत बिव्रmी गरेर चितवन र दिल्लीमा उपचार गराएँ ।” उहाँले उपचार गराउने क्रममा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले ४० हजार रुपियाँ सहयोग गर्नुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्योबाहेक गाउँपालिकाबाट पनि अन्य कुनै सहयोग मिलेको छैन ।” उहाँले क्यान्सर रोगको उपचारका लागि खर्चको जोहोका लागि कुखुरा, कालिज, बाख्रा र बङ्गुरपालन गरिरहेको भए पनि स्थानीय तहको कृषि कार्यक्रमबाट कुनै सहयोग नमिलेको बताउनुभयो ।

“म कुखुरापालनमा लागेको छु । छोराछोरी पढाउन श्रीमती मञ्जु गाउँलेको घरमा गएर ज्यालामजदुरी गर्नुहुन्छ,” चन्दले पीडा सुनाउनुभयो, “मञ्जु पनि पूर्वलडाकु र पाल्पा युद्धकी घाइते हुन् । दुई छोरा छोरी छन् । छोरी कक्षा ९ मा र छोरा ७ कक्षामा पढ्छन् । क्यान्सरको उपचार र दुई जना छोराछोरी पाढाउन कृषि उद्यम र ज्यालामजदुरीगर्नु परेको छ ।”