• ११ मंसिर २०८१, मङ्गलबार

योग्य जनशक्ति पलायन रोक्न प्राविधिक शिक्षा

blog

दक्ष जनशक्ति विदेश पलायनको अवस्था पछिल्लो केही वर्षयता भयावह बन्दै गएको छ । विभिन्न माध्यमबाट सार्वजनिक हुने तथ्याङ्कले हामीलाई आश्चर्य चकित पारिहेका छन् । यसले नीति निर्मातालाई मात्रै होइन नेपालमै गरिखानेलाई समेत सोचनीय बनाएको छ । जनशक्ति पलायनको यो दुरवस्थालाई समयमै नियन्त्रण गर्न सकिएन भने भावी दिनमा राज्यले भोग्ने क्षतिका बारेमा सहजै अनुमान लगाउन सकिन्छ । यो अनुमान आफैँमा भयङ्कर डरलाग्दो छ । जनशक्ति पलायनको यो अवस्थालाई नियन्त्रणका लागि पहिलो र अन्तिम गतिलो आधार भनेको प्राविधिक शिक्षाको प्रभावकारी विकास नै हो । हामीले प्राविधिक शिक्षामार्फत स्वावलम्बी र स्वरोजगार बनाउन सक्यौँ भने विदेश पलायनको यो अवस्थामा केही न केही अवस्था पनि भरथेग हुन सक्छ । 

नेपालमा प्राविधिक शिक्षाको इतिहास लामो नभए पनि विस्तारित इतिहास भने गर्व गर्नलायक छ । प्राविधिक शिक्षाको सुरुवात भएको पचास वर्ष पुग नपुग हुन लागिरहेको छ । यो अवधिमा यस क्षेत्रमा अनेकानेक सुधारका काम भएका छन् । अझ विशेष गरेर नेपालको प्राविधिक शिक्षाको विकासका लागि विदेशी दातृ निकायको सहयोग र साथ पनि प्राप्त भइरहेको छ । भर्खरै मन्त्रीपरिषद्ले प्राविधिक शिक्षाको विकासका लागि स्विस सरकारले गरेको ६५ करोडको अनुदान स्वीकार गर्ने निर्णयले नै प्राविधिक शिक्षाको विकासका लागि कसरी सहयोग प्राप्त भइरहेको छ भन्ने आकलन गर्न सकिन्छ ।

केही समययता प्राविधिक शिक्षामा लगानी र जनशक्ति उत्पादनका दृष्टिले सानोतिनो क्रान्ति नै भएको छ । हामीले यी सबै कुरासँगै त्यसबाट प्राप्त हुने प्रतिफललाई पनि हेर्नुपर्ने हुन्छ । के प्राविधिक शिक्षामा गरिएको लगानीले राज्यलाई आशातित प्रतिफल दिएको छ त ? के उत्पादित भएका जनशक्तिको पेसागत व्यवस्थापन सहज ढङ्गले भएको छ त ? यसमा भने गतिलो विमर्श हुनु जरुरी देखिन्छ । प्राविधिक शिक्षा प्रदान गर्नका लागि राज्यले विशेष गरेर सिटिइभिटीलाई जिम्मेवारी दिएको छ । के सिटिइभिटीले राज्यले अपेक्षा गरे अनुसारको प्राविधिक जनशक्ति उत्पादन र व्यवस्थापन गर्न सक्षम भएको छ त ? यो प्रश्नमा समग्र प्राविधिक शिक्षाको अवस्था झल्किएको छ । 

प्राविधिक शिक्षा सुधार्नका लागि हरेक क्षेत्रबाट केही न केही सुधारको प्रयास हुनु जरुरी छ । हामीले उत्पादन गरेका प्राविधिक जनशक्ति उत्पादनतर्फ उन्मुख हुँदैनन् भने त्यो प्राविधिक शिक्षा नै होइन । प्राविधिक शिक्षाले उत्पादनका लागि जनशक्तिलाई निपुण बनाउने र अवसर पनि सिर्जना गर्नु पर्छ । श्रमबजारलाई आवश्यक पर्ने जनशक्ति हामीले उत्पादन ग¥यौँ या गरेनाँै, हामीले उत्पादन गरेको जनशक्ति बजारका लागि योग्य भयो या भएन, एक पटक आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहेको छ । प्राविधिक शिक्षा सुधार्न सरोकारवाला निकायबाट विभिन्न खालका प्रयास भइरहेका छन् । अब ती प्रयासलाई समयानुकूल बनाउनु पर्ने देखिन्छ । 

शिक्षण पद्धतिमा सुधार

प्राविधिक शिक्षा सुधार्ने अचुक उपाय भनेको नै शिक्षण पद्धतिमा सुधार हो । अहिले प्राविधिक शिक्षालयमा भइरहेको शिक्षण परम्परागत शैलीको छ । अर्थात बौद्धिक विलाशिताका लागि मात्रै शिक्षण गरेको देखिन्छ । हाम्रा कक्षाकोठामा शिक्षकसँगै प्राविधिक क्षेत्रमा काम गरिरहेका मान्छे पनि छिर्न सक्ने व्यवस्था बनाउनु अहिलेको आवश्यकता हो । अर्थात् कृषि विषय अध्यापन हुने कक्षाकोठामा एउटा सफल किसानले पनि पढाउन मिल्ने खालको अवस्था हामीले सिर्जना ग¥यौँ भने त्यसले विद्यार्थीमा कसरी आफूले पढेको कुरालाई व्यवसायसँग जोड्ने भन्ने खालको ज्ञान र सिप दुवै कुरा हासिल गर्न सक्छन् । हामीकहाँ प्राविधिक क्षेत्रमा काम गरिरहेका जनशक्तिलाई पनि कक्षाकोठासम्म पुग्ने खालको पद्धति विकास गर्न सकिएको छैन । हरेक सिपयुक्त जनशक्ति सिकाउनका लागि योग्य मानिन्छ । त्यसलाई कुन रूपमा कक्षाकोठामा लगेर जोड्ने भन्ने योजना बनाउनुपर्ने देखिन्छ । यसतर्फ विशेष ध्यान दिनु पर्छ । हामीले उत्पादन गर्ने प्राविधिक जनशक्तिले बौद्धिक विमर्श गर्ने मात्रै होइन आफूले सिकेको कुरालाई व्यवहारमा लागु पनि गर्ने हो । त्यसका लागि हामीले हाम्रो शिक्षण प्रणालीमा केही सुधारको प्रयास गर्नु पर्छ । 

अवसरको सिर्जना 

प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि सरोकारवाला निकायले अवसरको सिर्जना गर्नु आवश्यक छ । अहिले पनि प्राविधिक शिक्षामा भएको लगानी हेर्ने हो भने करिब शतप्रतिशत लगानी केवल शिक्षण र सिकाइमा मात्रै लगाइएको देखिन्छ । दक्ष र सिपयुक्त जनशक्ति उत्पादन गर्नका लागि अवश्य पनि सिकाइमा लगानी गर्नुपर्ने आवश्यकता हुन्छ तर के सिप सिक्दैमा कोही व्यक्ति आत्मनिर्भर हुन सक्छ ? 

प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले सिक्ने या जान्ने भनेको कुनै पनि काम गर्नका लागि हो । यो अन्य शिक्षामा जस्तो रटान लगाएर दिमागलाई तेजिलो बनाउने शिक्षा मात्रै होइन । प्राविधिक शिक्षाको पूर्णता त्यतिबेला मात्रै हुन्छ जतिबेला उत्पादन भएको जनशक्तिलाई श्रम बजारले सहजै स्वागत गर्छ । हामीकहाँ फाट्टफुट्ट ढङ्गले एकाध विद्यार्थीबाहेक अधिकांश विद्यार्थीलाई श्रमबजारसँग जोड्ने योजना छैन । प्राविधिक शिक्षामा गरिएको लगानीको केही अंश उनीहरूलाई अवसरको सिर्जना गर्नमा पनि लगाउनु पर्छ । अनुदान दिएर हुन्छ या प्राविधिक संसाधनको सहयोग गरेर हुन्छ । के कसरी हुन्छ हामीले उत्पादित जनशक्तिलाई उत्पादनमा लगाउनका लागि उत्साहित बनाउनु पर्छ । जुन प्राविधिक शिक्षा हासिल गरेको हो विद्यार्थीले सोही व्यवसाय सञ्चालनका लागि सबैले अवसरको सिर्जना गरिदिनु पर्छ । 

बजार मागको प्रक्षेपण 

अहिलेको युगमा प्रविधि छिनछिनमा अपडेट भइरहेको छ । आज सिकेको कुरा भोलिका लागि पुरानो हुने अवस्था विश्वमा दिनानुदिन भइरहेका आविष्कारले सिर्जना गरिरहेका छन् । संसारमा छिटो परिवर्तन हुने भनेकै प्रविधि हो । विडम्बना अहिले पनि प्राविधिक शिक्षामा परम्परागत कुरा पढाइ भइरहेका छन् । अर्थात् समयानुकूल पाठ्यक्रम परिवर्तनमा चासो दिन सकिएको छैन । सूचना प्रविधिको क्षेत्रमा अहिले एआइको आविष्कार भइसकेको छ । के हाम्रा सूचना प्रविधि सम्बद्ध विषयका पाठ्यक्रममा यो कुरालाई समावेश गरिएको छ ? पक्कै पनि यथार्थ निकै फरक छ । प्राविधिक शिक्षालाई समयानुकूल बनाउन सकियो भने मात्रै यसले बजारको मागलाई सम्बोधन गर्न सक्छ । हिजो सूचना प्रविधि पढ्ने विद्यार्थीले केवल टाइप गर्न, डिजाइन गर्न या सामान्य मर्मत गर्न जाने पुगिहाल्थ्यो भने आजको विद्यार्थीले विभिन्न सझ्टवेयर बनाउनेसम्मको ज्ञान राख्नु पर्छ । हिजो कृषि क्षेत्रले अपेक्षा गर्ने जनशक्ति कृषिका विद्यार्थीले परिपूर्ति गर्थे भने आजका विद्यार्थीबाट त्यो सम्भव छैन । उनीहरूलाई आजको बजार र प्रविधि अनुकूल अध्यापन गराउनु पर्छ । 

यसका साथै प्राविधिक शिक्षा अन्तर्गतका छोटा कार्यक्रम हामीले बजारलाई हेरेर डिजाइन गर्नुपर्ने हुन्छ । हामीलाई सुनका विभिन्न गहना बनाउने कामदार चाहिएको छ, राम्रो पेन्ट गर्ने अनि बाटो कालोपत्रे गर्ने कामदार चाहिएको छ । घर बनाउने अनि काठका विभिन्न फर्निचर बनाउने जनशक्ति चाहिएको छ । विडम्बना यस खालको जनशक्ति उत्पादन गर्ने गरी छोटो अवधिका कार्यक्रम सञ्चालन हुन सकिरहेका छैनन् । 

उद्योगसँग समन्वय 

प्राविधिक जनशक्तिको खपत भनेकै उद्योग धन्दामा हो । जतिधेरै उद्योग धन्दाको विकास हुन्छ त्यति नै प्राविधिक जनशक्तिले अवसर प्राप्त गर्ने गर्दछन् । प्राविधिक विषय पढेको विद्यार्थीले स्वदेशमै रोजगार प्राप्त गर्ने अवसरको सिर्जना हुन सक्यो भने त्यसले विदेश पलायनलाई ओरालो तिर झार्ने गर्छ । अहिलेको देशको मूल आवश्यकता र समस्या भनेको पनि यही हो । प्राविधिक शिक्षाको विकासका लागि हाम्रा विभिन्न खालका उद्योगसँग समन्वय गरेर विद्यार्थीलाई काम गर्ने वातावरण सिर्जना गर्नु पर्छ । हामीकहाँ उद्योगकै नजिकमा प्राविधिक शिक्षालय रहेका छन् तर आवश्यक समन्वय र सहकार्यको अभावमा उद्योगसँग जोडिन सकेको देखिँदैन । दक्ष जनशक्ति प्राप्त गर्दा एकातिर उत्पादनमा सहज हुने अनि अर्कातिर उत्पादिन जनशक्तिले अवसर प्राप्त गर्ने । यसरी उद्योगसँगको सहकार्य गर्ने वातावरण सिर्जना गर्न सक्दा प्राविधिक शिक्षाको महत्व र आवश्यकता बढेर जाने छ । 

राज्यलाई जनशक्ति बहिर्गमनको गम्भीर दुर्घटनाबाट जोगाउने सामथ्र्य प्राविधिक शिक्षासँग मात्रै रहेको छ । यसरी प्राविधिक शिक्षा र यसको अध्यापन गराउने जनशक्तिलाई समयानुकूल परिवर्तन गराउन सकियो भने अवश्य पनि हामीले देखेको सपना पूरा हुन्छ । अनि राष्ट्र पनि समृद्ध बन्छ । 

   

Author

वसन्त आचार्य