बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङ्सिर ५ गते । सिन्धुली जिल्लाको विभिन्न ठाउँमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन भौतिक पूर्वाधारका योजनाको निर्माण गति सुस्त बनेको छ ।
बागमती प्रदेश सरकारको लगानीमा वर्षौँअघि निर्माण सुरु भएका सडक, खानेपानी, पक्किपुल, रङ्गशाला लगायतका भौतिक पूर्वाधारका योजनाले गति लिन नसकेको स्थानीयको गुनासो छ ।
बागमती प्रदेश सरकारबाट आउने न्यून बजेट, प्रदेश सरकारको योजना अनुगमन तथा रेखदेख गर्न तल्लो तहसम्म निगरानी गर्ने संरचनाको अभाव र ठेकेदारको लापरबाहीले ती योजना निर्माण सुस्त बनेको सरोकारवालाले बताएका छन् ।
सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइराला समयमा नै काम नगरेकाले प्रदेशको सडक र आँपघारी हुँदै चपौली निकाल्ने पदमार्ग योजनालाई कालो सूचिमा राखेको बताउनुहुन्छ । ‘‘हाम्रो अधिकारमा आएका योजना समयमा नै पूरा भएका छन्,’’ उहाँले भन्नुभयो, ‘‘प्रदेशले गरेका योजना उसैले हेर्ने र मनलागि गर्दो रहेछ ।’’
सुनकोसी गाउँपालिकामा सङ्घ, प्रदेश र पालिकाको गरी गत वर्ष २५४ वटा योजना सञ्चालन भएकोमा तीनै दुई वटा बाहेक अरू सबै योजना समयमा नै सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेश सरकारकै २४ करोड रुपियाँभन्दा बढी लगानीमा पाँच वर्षअघि निर्माण सुरु गरिएको कमलामाई नगरपालिका–३ सिन्धुलीगढी–चपौली हुँदै सुनकोसी गाउँपालिका–७ नागीसम्मको उक्त सडकको निर्माणको अवस्था पनि उस्तै सुस्त छ । महाभारत क्षेत्रका बस्तीलाई समेटेर निर्माण सुरु गरिएको १० किलोमिटर लम्बाइको उक्त सडक ठेकेदारको लापरबाहीले गति लिन नसकेको स्थानीयको गुनासो छ ।
स्तर उन्नतिसहित कालोपत्रे गर्ने गरी निर्माण सुरु गरिएको उक्त सडक समयमै सम्पन्न नहुँदा जताततै पहिरो जानुका साथै बनाएको नाला समेत भत्किन थालेको कमलामाई नगरपालिका–३ का वडा अध्यक्ष खड्ग चौलागाई बताउनुहुन्छ ।
उहाँका अनुसार सिन्धुलीगढी–चपौली–नागी सडक २०७५ साल चैत २७ गते लुम्बिनी आत्रेय जेभी काठमाडौँले १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरी निर्माण सुरु गरेको थियो । तर अहिले सडकको निर्माणको अवस्था ८० प्रतिशत पनि पूरा भएको छैन ।
बागमती प्रदेश सरकारको सात करोड ४६ लाख रुपियाँ बढी लागतमा कमलामाई नगरपालिका–५ कालीमाटीमा निर्माण भएको रङ्गशाला प्यारा फिट प्रयोगविहीन छ । प्रदेश सरकारले उक्त रङ्गशाला निर्माण सम्पन्न भई नगरपालिकालाई हस्तान्तरण गरेको भए पनि खेलमैदान निर्माण पूरा हुन नसक्दा प्रयोगमा आउन नसकेको कमलामाई नगरपालिका–४ का वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार १६ सय जना दर्शकले एकै पटकमा खेल हेर्न मिल्ने गरी संरचना निर्माण गरेको भए पनि खेल्न योग्य खेल मैदान निर्माण गर्न अझै धेरै बजेट लाग्ने भएकाले आवश्यक बजेटको अभावमा सञ्चालनमा आउन नसकेको हो । मैदानको गेग्रान हटाएर झार उमार्ने, घेराबेरा, गेट निर्माण लगायतका काम बाँकी रहेको छ ।
बागमती प्रदेश सरकारकै लगानीमा दुधौली नगरपालिका–९ दुधौलीमा निर्माणाधीन रङ्गशाला समेत अलपत्र छ । दुधौली रङ्गशाला विगत तीन वर्षभन्दा बढी समयदेखि रङ्गशाला निर्माणाधीन अवस्था रहेको छ । यो रङ्गशाला छ करोड ९४ लाख ९२ हजार ४७४ रुपियाँ लागतमा निर्माणाधीन अवस्थामा रहेको उक्त नगरपालिकाले जनाएको छ ।
कमलामाई नगरपालिका–४ च्याउकोट डाँडामा पनि चार तलाको भ्यूटावर निर्माण भएको छ । बागमती प्रदेश सरकारको करिब पौने तीन करोड रुपियाँको लगानीमा बनेको उक्त भ्यूटावर अझै प्रयोगमा आउन सकेको छैन । उक्त भ्यूटावर निर्माण व्यवसायी ड्रागन कन्स्ट्रक्सन प्रालिले २०७८ साल जेठ १५ गते नै निर्माण सम्पन्न गर्नुपर्ने गरी कामको जिम्मा लिएको भए पनि पूर्णरूपमा काम सम्पन्न भई नसकेको स्थानीयको गुनासो छ ।
बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाले कमलामाई नगरपालिकालाई हस्तान्तरण नगर्दा भ्यु टावर अलपत्र परेको हो । भ्यूटावर सञ्चालनको कार्यविधि पास नभएकाले सञ्चालनमा आउन नसकेको कमलामाई नगरपालिका वडा नम्बर ४ का अध्यक्ष महेन्द्रप्रसाद ढकालको भनाइ छ । भ्यूटावर नगरपालिकाले सञ्चालन गर्ने र त्यसका लागि आवश्यक छलफल भइरहेको उहाँले बताउनुभयो ।