• १८ साउन २०८१, शुक्रबार

ठेला व्यापारी सरलको मासिक चार लाख बढी कमाइ

blog

सरल राईले सञ्चालन गर्नुभएको ठेला । तस्बिर : निशा राई

निशा राई 

धरान, मंसिर ५ गते । दैनिक हजारौँको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारमा बिदेसिइरहेको अवस्थामा धरानका २९ वर्षीय सरल राई ठेलाबाटै खाजा बेचेर पाँच जनाको परिवार पाल्दै आउनुभएको छ । दुई जनालाई रोजगारी पनि दिनुभएको छ ।   

धरान–२ भानुचोक घण्टाघरदेखि दक्षिणतर्फ पूर्वी पहाडी जिल्ला जाने बसहरू बिहान ३ बजेदेखि बेलुका ५ बजेसम्म हुन्छ । त्यसपश्चात् बेलुकाको ६ बजेदेखि बस स्टेण्डमा भिड बढ्न थाल्छ । त्यसमा पनि सबैभन्दा बढी चहलपहल ठेलामा खाजा खानेहरूको हुन्छ । त्यहाँ करिब दर्जन बढी ठेलामा खाजा बेच्न उपमहानगरले छुट दिएको छ ।  

ठेलामा भए पनि सस्तो होटलमा पाइने विभिन्न परिकारका मिठो ताजा खाजा पाइन्छ । बेलुका ठेलामा राखिएको खाजाहरू रेष्टुरेन्टभन्दा कम हुँदैन । रेष्टुरेन्टमा पाइने प्राय परिकार सस्तोमा पाइने भएकाले साँझपख खाजा खाने मानिसको घुइँचो हुनेगरेको स्थानीयको भनाइ छ । 

धरान–१७ का २९ वर्षीय सरल राईले पनि हरेक साँझ ठेलामा सस्तो, मिठो र ताजा खाजा बेच्दैआएको ३ वर्ष भएको बताउनुभयो । उहाँले दिनमा ५ घण्टा ठेलामा खाजा बेचेरै आफ्नो परिवारको जीविकोपार्जन गर्दैआएको बताउनुभयो । ठेलामा दैनिक १५ हजार बिक्री हुने र केहीबेला बढी पनि हुनेगरेको बताउनुभयो । 

ठेलाको व्यापारले आफ्नो ५ जनाको परिवार, नानीको विद्यालय फिस र हाल ठेलामा खाजा खान आउनेको भिड भएर एक्लै नभ्याउने भएर २ जनालाई तलब दिएर रोजगारी दिएर समेत राखेको बताउनुभयो । 

उहाँले सुरुमा ठेलामा खाजा बेच्न लाज लागे पनि हाल व्यवसायमा खुसी रहेको बताउनुभयो । धेरै पैसा कमाउन नसके पनि आफ्नै गाउँ, ठाउँमा, परिवारसँगै बसेर जीविकोपार्जन भएकाले आफ्नो देश छाडेर अन्य देशमा गई दुःख गरी धेरै पैसा कमाउन मन नभएको राईले बताउनुभयो । 

‘हाल ठेलामा होटलमा पाइने परिकारमध्ये मःम, फ्राई राईस, मासुको परिकार, ससेज, चाउमिन, इत्यादि बेच्नेगरेको छु । प्रायः बेलुका खाजा खाने मानिसदेखि ज्याला मजदुरी गर्ने, सवारी चालक समेतले प्याकिङ गरेर लैजान्छु’ उहाँले भन्नुभयो । ‘दैनिक रूपमा बेच्ने खाजाहरू दिउँसोसम्ममा परिवारका सबै सदस्यले बनाउँछौ’ खाजा ताजा, सस्तो हुने भएकाले ग्राहकहरू दैनिक रूपमा बढिरहेको राईले बताउनुभयो । 

नेपालमा अधिकांश युवाहरू काम गर्ने लाजले पनि विदेशिनेगरेको राईले बताउनुभयो । आफ्नो देशमा काम गर्नलाई लाज नमानी, जे जस्तो ठाउँ समयमा पनि गर्न सके, खट्न सके आफ्नै देशमा पनि जीविकोपार्जन गरी बस्नसक्ने वातावरण रहेको राईले बताउनुभयो । 

नेपालमा जति दुःख गरे पनि नहुने, जुन व्यवसाय गर्दा पनि घाटा हुने, डुब्ने र पुनः वैदेशिक रोजगारमै युवाहरू जानेगरेको अवस्थामा ठेलामा खाजा बेचेर दैनिक १५ देखि २० हजार बिक्री गर्दैआएको राईले बताउनुभयो ।