कबिराज घिमिरे,
हिले, मङ्सिर ५ गते । धनकुटा नगरपालिकाका करिब सय परिवार कृषकले अहिले एलपी ग्यासको विकल्पमा बायो ग्यासको होम सिस्टम प्रयोग गर्दै आएका छन् । गाई भैँसीको गोबर तथा कुहिने फोहोरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज भएकाले किसानले दोहोरो फाइदा देखेर यो प्रविधि रुचाउन थालेका हुन् ।
त्यसो त यो विधिबाट कृषकलाई आर्थिक लाभ समेत हुन्छ, महिनै पिच्छे किन्नु पर्ने एलपी ग्यासको पैसा बचत हुन्छ । कम आयस्रोत भएका व्यक्तिका लागि पैसा बचत हुनुका साथै घरको पनि सरसफाइ हुने र मल पनि हुने भएकोले गोबर ग्यास प्रविधि निकै प्रभावकारी भएको किसानहरूको भनाइ छ । बायो ग्यास बाल्न सुरु गरेपछि दाउराको बचत हुने, दाउरा खोज्न जाने समयको बचत हुनुको साथै खाना पकाउन छिटो छरितो र भाडामा धुवाँ नलागेका कारण स्वास्थ्य समस्या पनि नहुने भएकाले यो प्रति आकर्षण बढेको धनकुटा नगरपालिका वडा नम्बर एकका कृषक लाखमान तामाङले बताउनुभयो ।
यो प्रविधि गर्भवती महिला, वृद्धवृद्धा तथा बालबालिकाको लागि निकै सहज हुने उहाँको अनुभव छ । पछिल्लो समय गाउँगाउँमा एलपी ग्यासको प्रयोग बढ्दो छ । प्रयोगमा सहज हुने भन्दै उपभोक्ता यसतर्फ आकर्षित भएका हुन् । तर धनकुटा नगरपालिकाले भने एलपी ग्यासको विकल्पमा कच्चा पदार्थ सहजता भएको क्षेत्रमा वैकल्पिक ऊर्जा अन्तर्गतको बायो ग्यास प्रयोगलाई प्रोत्साहन गदै आएको छ । बायो ग्यास जडान गर्दा ४० हजार नगरपालिकाको अनुदान, १६ हजार कृषकको लगानी र बाँकी करिब २० हजार रुपियाँ सप्लाएर्स कम्पनीको लगानी हुने गरेको छ ।
धनकुटा नगरपालिकामा एक सय घरमा गोबर ग्यास जडान भइसकेको र ५ हजार घरमा पुर्याउने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । यो प्रयोग गर्न गोबर तथा कुहिने फोहोर भए पुग्छ । दिनमा ५ देखि १० किलोसम्म गोबर हाल्दा एक दिनमा बिहान दिउँसो र बेलुकाको खाना र नास्ता बनाउन सकिन्छ । त्यस्तै सोही हाराहारीमा कुहिने फोहोर हाल्दा दुई दिनसम्म प्रयोग गर्न सकिने ग्यास उत्पादन हुन्छ । ग्याँसबाट निस्केको मल खेतीबालीमा प्रयोग गर्न समेत सहज हुने धनकुटा नगरपालिका वडा नम्बर ६ का कृषक तारामान कटुवालको अनुभव छ । “ग्यास उत्पादन पछिको मल गोबर तथा कुहिने फोहोर जस्तो पुन कुहाउनु नपर्ने तथा प्रयोग गर्न पनि सहज हुन्छ,” उहाँले भन्नुभयो ।
त्यसो त बायो ग्यासको पुरानो प्रविधि भन्दा यो विल्कुल फरक र सहज समेत छ । यसको लागि नकुनै ट्याङ्की निर्माण गर्नुपर्छ । न भूकम्प पहिरो आदीबाट क्षति हुनेनै डर हुन्छ । इजरेली प्रविधिको यो सिस्टम एक डोमको सहयोगले सञ्चालन हुने हुँदा जहाँ लगेर पनि प्रयोग गर्न सकिने धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल बताउनुहुन्छ । “यो प्रयोग गर्न सहज छ क्षति हुने डर पनि कम छ । प्रयोग गर्न सहज छ धेरै फाइदा छन् । त्यसैले नगरपालिकाका ग्रामीण क्षेत्रमा यसको माग उच्च छ,” खनालले भन्नुभयो । "यसको प्रयोग गर्दा फोहोर व्यवस्थापन हुनुको साथै स्वास्थ्यकर, सयमको बचत, सहज तथा आर्थिक रूपमा कृषकलाई भार कम पर्ने भएकाले यसको प्रयोगमा प्रोत्साहन गरेको हौ ," खनाल थप्नुहुन्छ ।