• ६ कात्तिक २०८१, मङ्गलबार

साझा लक्ष्यमा केन्द्रित हुनु पर्छ : प्रम

blog

काठमाडौँ, मङ्सिर २ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो । भारतमा सुरु भएको दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई शुव्रmबार भर्चुअल सम्बोधन गर्दै भन्नुभयो, “यसका लागि आपसी विश्वासको निर्माण, साझेदारी र सहकार्य प्रवर्धन तथा एकताका साथ काम गर्नु महत्वपूर्ण छ ।” विश्वले कोभिड १९, जलवायु परिवर्तन र भू–राजनीतिक जटिलताका कारण धेरै प्रकारका चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उहाँले यसबाट मुख्यतः अतिकम विकसित राष्ट्रहरूले समस्या झेलिरहेको पनि बताउनुभयो । 


प्रधानमन्त्री प्रचण्डले ग्लोबल साउथका धेरै देशहरू स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र अन्य महìवपूर्ण राष्ट्रिय प्राथमिकताहरूमा लगानीको दबाबमा रहेको पनि चर्चा गर्नुभयो । जलवायु परिवर्तन मानवताका लागि गम्भीर खतरा कायमै रहेको चर्चा गर्दै  प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल जस्ता जलवायु जोखिममा रहेका मुलुकले जलवायु परिवर्तनको भार वहन गरिरहेका छन् । हिमालयमा जलवायु परिवर्तनको प्रभावले हाम्रो क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिसको जीवन र जीविकोपार्जनमा गम्भीर खतरा उत्पन्न गरेको छ ।” 

उहाँले साझेदारहरूबाट विकास सहायता, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोग जस्ता अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पहिलो भ्वाइस अफ द ग्लोबल साउथ समिटको भारत सरकारको सफलताको प्रशंसा गर्छौं । जसले विकासलाई सबैभन्दा कमजोरमा केन्द्रित गर्नु पर्छ भन्ने मान्यता दिएको छ । यसले जी २० एजेन्डामा विकासशील देशहरूको चासो राख्न मद्दत गर्ने छ ।”