• १४ मंसिर २०८१, शुक्रबार

सुनसरीमा हप्तामा सात आगलागी, करोड बढी क्षति

blog

आगलागीले खरानी भएको इनरूवा नगरपालिका–१ स्थित मुख्य बजारमा रहेको वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसल। तस्बिरः जयकृष्ण यादव।

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर १ गते। सुनसरीमा तिहार सुरु भएको एक हप्तामा सात ठाउँमा आगलागी भएको छ। जिल्ला सदरमुकाम इनरुवाको चार ठाउँसहित हरिनगर, देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकामा आगलागी भएको हो। विभिन्न स्थानमा भएको आगलागीमा करोड बढीको क्षति भएको छ। 

तिहारमा दीपावलीको दिन राति इनरुवा नगरपालिका–१ स्थित मुख्य बजारमा रहेको वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा  आगलागी भएको थियो। 

उक्त  आगलागीमा ५० लाख बढीको धनमाल र सरसमान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो। इनरुवा–१ स्थित वृद्धिचन जैनको घरमा लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटकाले आगलागी भएको थियो। 

त्यसैगरी कार्तिक २७ गते देवानगञ्ज गाउँपालिका १ को एक घरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको थियो। 

इनरुवा नगरपालिका-९ बबियाको बिन्दा साहको परालमा भएको आगलागीमा एउटा भन्साकोठामा क्षति भएको प्रहरीले जनाएको छ। त्यसैगरी कार्तिक ३० गते बिहीबार इनरुवा नगरपालिका २ लक्ष्मीनारायण मन्दिर टोलको सुरेन्द्र मेहतोको घरमा भएको आगलागीमा दुई वटा घर, छिमेकी गणेश यादवको एउटा भन्साकोठामा क्षति भएको प्रहरीले जनाएको छ। 

उक्त आगलागीमा झण्डै ३५ लाख बराबरको क्षति भएको पीडित सुरेन्द्र महतोले जानकारी दिनुभयो। महतोका अनुसार कृषि औजार, दुई वटा घर र नगद दुई लाख ५० हजारसमेत जलेर नष्ट हुँदा झण्डै ३५ लाख बराबरको क्षति भएको हो।

शुक्रबार मात्रै इनरुवा २ का लक्ष्मी मेहता र मनोज मेहताको घरमा विद्युत सर्ट भएर आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले आगलागीबाट बच्ने सबैभन्दा ठुलो उपाय भनेको व्यक्तिगत सावधानी नै भएको बताउनुभएको छ।