काठमाडौं, मङ्सिर १ गते। उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताउनुभएको छ। हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने भन्दै उहाँले अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताउनुभएको हो।
शुक्रबार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दुई÷तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो। भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने बताउनुभयो। उहाँले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरे पनि नहुने अवस्था देखिँदै गएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ। सबैले घर बनाउँदै जाने दुई, तीन जनाका लागि भने कहाँ बच्छ जमिन, सबै जङ्गल फाँड्छन्। खानलाई पनि पुग्दैन जस्तो लाग्छ।’’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गर्नुभयो। यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने छ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरेर कार्यान्वयन गरिरहेको छ।
दिगो विकास लक्ष्यको छैटाैं लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ। सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्य ाउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्य ाउने प्रगति भने सुस्त गतिमा छ। राष्ट्रसङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्।