नवराज कट्टेल
विराटनगर, मंसिर १ गते । छठ पर्वलाई लक्षित गरी विराटनगर महानगरपालिकाभित्रको सात किलोमिटर नहर सफाइ गरिएको छ । सुनसरी–मोरङ सिँचाइ आयोजना अन्तर्गत विराटनगर शाखाभित्रको नहर सफाइ गरिएको हो ।
सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कुमार घिमिरेले स्थानीय तह विराटनगर महानगरपालिकाको आग्रह र समन्वयमा नहर सफाइ गर्ने कार्य सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ७० जना मजदुरले दश दिनसम्म नहरको सफाइ गरेका थिए ।
सफाइका लागि तीन दिन मेसिनको समेत प्रयोग गरिएको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो । आयोजनाले नियमित कार्य अन्तर्गत हिउँदे बालीका लागि पानी पठाउनसमेत नहर सफाइ गरेको हो । ‘हाम्रो नियमित कार्यलाई स्थानीय तहको आग्रहअनुसार छठ पर्वका लागि सफाइ गरेका हौं’ इन्जिनियर घिमिरेले भन्नुभयो, ‘विराटनगर –४ नोबेल हस्पिटलदेखि विराटनगर –१४ रानीको हाइवे क्रससम्मको नहर सफाइ गरिएको छ ।’
नहरमा थुप्रिएको फोहोरका कारण छठका व्रतालुलाई समस्या हुने भएपछि विराटनगर महानगरपालिकाले आयोजनालाई सफाइका लागि आग्रह गरेको थियो । सफाइपछि नहर सफा भएको छ । यसमा आउने पानी सङ्लिएको छ । छठका व्रतालुले शुक्रबारदेखि सूर्यको उपासना गर्ने घाटको निर्माण समेत सुरु गरेका छन् ।
विराटनगरमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर, सिंघिया र केशलिया खोलामा व्रतालुले छठको घाट निर्माण गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदै आएका छन् । छठ पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’, शनिबार खर्ना (व्रत) आइतबार अस्ताउँदो सूर्य (सँझियार) र सोमबार बिहान उदाउँदो सूर्य (पारण) लाई अर्घ दिने चलन छ ।
विराटनगरलाई सुन्दर बनाउन आयोजनाको नहर, सिंघिया र केशलिया खोला उत्तर–दक्षिण भएर बग्ने गरेको छ । नहर तथा खोलामा फोहोर फ्याँक्नाले पानीको शुद्धता भने घट्दै गएको छ ।