काठमाडौं, कात्तिक ३० गते । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले पुष्प व्यवसायलाई आत्मनिर्भर बनाउने विषय समितिमा छलफल हुने बताउनुभएको छ ।
यो वर्ष दीपावलीमा नेपालमै उत्पादन भएको फूलको प्रयोग हुनु एकदमै सकारात्मक पक्ष भएको भन्दै उहाँले यस्तो बताउनुभएको हो । अगामी वर्ष उचित व्यवस्थापन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै उहाँले आफू सभापति रहेको समितिमा यो विषय उठान गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता जनाउनु भएको हो ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकममार्फत उहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । कतिपय ठाउँमा अवैध रुपमा ठुलो परिणाममा फूल आयात भएको र कतै किसानले उचित मूल्य नपाएको भन्दै यी सबै कुरालाई मध्यनजर गरेर कृषि समितिमा छलफल गर्ने प्रतिबद्धता उहाँले जनाउनु भएको हो ।
उहाँले भन्नुभएको छ, ‘‘सम्पूर्ण कुरालाई मध्यनजर गरी आउँदा वर्षमा यसको उचित व्यवस्थानका लागि म सरोकारवालाको ध्यानाकर्षण गराउदै पुष्प व्यवसायलाई थप आत्मनिर्भर बनाउन हाम्रो कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पनि यो महत्वपूर्ण विषय उठान गरी सबैको सल्लाह बमोजिम आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गर्दछु ।’’
उहाँले यसअघि थोरै जमिनमा पुष्प खेती गर्ने किसानले व्यवसायीक रुपमा खेती सुरु गरेको बताउनुभएको छ । नेपालमै उत्पादित पुष्प खपत हुने अत्यन्त सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । उहाँले केही गुनासा आएकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभउको छ ।
‘‘यसवर्ष नेपालमा किसानहरुले गर्नुभएको व्यवसायीक पुष्पखेतीले गर्दा दीपावलीमा नेपालमै उत्पादन भएको फूलको प्रयोग भएको छ, जुन एकदमै सकारात्मक पक्ष हो । पहिले थोरै जमिनमा मात्रै पुष्प खेती गर्ने किसानले अहिले व्यवसायीक पुष्पखेती सुरु गर्न थालेका छन्’’, उहाँले भन्नुभएको छ, ‘‘तर कहीँ किसानहरुले उचित मूल्य पाउन नसकेको, बजारसम्म पुर्याउन यातायातको व्यवस्था नभएको र केही ठाउँमा देश बाहिरबाट वैध तथा अवैध रूपमा ठूलो परिणाममा फूल आयात भएको गुनासो आएको छ।’’