• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्यमन्त्री बस्नेतद्वारा बर्न अस्पतालका घाइतेसँग भेट

blog

कीर्तिपुरस्थित बर्न अस्पतालमा बिरामीसँग भेट गर्नुहुँदे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । तस्बिरः स्वास्थ्यमन्त्रीको निजी सचिवालय

काठमाडौं, कात्तिक ३० गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।  

मोरङको उर्लाबारीमा यही कात्तिक २६ गते भएको आगलागीमा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्रीले उपचार खर्च तिर्न नसक्नेको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिनुभयो।

पैसाको अभावमा कसैको पनि उपचार नरोकिने बताउँदै उहाँले जलेका बिरामीका लागि कीर्तिपुर बर्न अस्पतालले उत्कृष्ट काम गरिरहेकाले मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा. शङ्करमान राईले उर्लाबारी घटनाकासमेत गरी अहिले अस्पतालमा ४४ जना जलेका बिरामीको उपचार भइरहेको जानकारी दिनुभयो। 

उहाँले उर्लाबारी घटनाका पीडित २५ जना घाइतेमध्ये पाँच जनाको शुक्रबार शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ।