• २२ असार २०८१, शनिबार

विश्व शौचालय दिवस २०२३ मनाइँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ३० गते । विश्व शौचालय दिवस १९ नोभेम्बरका दिन नेपालमा पनि सरसफाइका मुद्दामा केन्द्रित रही मनाइने भएको छ । खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत सरकारी एवम् गैरसरकारी संघ संस्था र नेपालस्थित अन्तर्राष्ट्रिय विकास निकायहरुले खानेपानी र  सरसफाइको क्षेत्रमा संयुक्त राष्ट्रसंघले तय गरेको दिगो विकासको लक्ष्यलाई सन २०३० मा हासिल गर्न सहयोेग पुग्नेगरी विश्व  शौचालय दिवस २०२३ मनाउन लागेको बताएका छन् ।

स्मार्ट वास सोलुसन्सले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सार्वजनिक शौचालयको व्यवस्थापनका  विषयमा केन्द्रित रही भोलि शुक्रबार एक कार्यशाला गोष्ठी आयोजना गर्ने जानकारी दिइएको छ । 

स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहले विश्व शौचालय दिवस १९ नोभेम्बरको अवसर पारेर इन्टरनेशनल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, वाटर एड नेपाल र एसएनभी नेपालसँगको सहकार्यमा स्मार्ट वासले भोलि मंसिर १ गते एक कार्यशालाको आयोजना गर्ने जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघले तय गरेको परिवर्तनको गति बढाउदै भन्ने मूल नारालाई टेवा पुग्नेगरी तय गरिएको कार्यक्रममा विज्ञहरुले पाँच वटा कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

स्मार्ट वास सोलुसन्स प्रालि निजी क्षेत्रबाट खानेपानी र सरसफाइका क्षेत्रमा काम गर्ने उद्देश्यले खानेपानीका क्षेत्रमा क्रियाशील संस्था हो । यसले स्वच्छ तथा सुरक्षित खानेपानीको उपलब्धता, वर्षाको पानीको संकलन र भण्डारण, सरसफाइ, मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा काम गर्दैआएको छ ।