• ११ मंसिर २०८१, मङ्गलबार

भाइटीका महोत्सवमा ६८ पर्यटक सहभागी

blog

भाइटीकामा रमाउँदै पर्यटकहरु ।

रमेश पौडेल

पोखरा, कात्तिक ३० गते । संस्कृति बचाऔं, पर्यटन प्रवर्धन गरौं भन्ने नाराका साथ पर्यटकीय नगरी पोखरामा बुधबार आयोजित १६ औं भाइटीका महोत्सवमा देशविदेशका ६८ जना पर्यटक सहभागी भएका छन् ।  

होटल संघ पोखरा नेपालले आयोजना गरेको उक्त भाइटीका महोत्सवमा नेपालसहित अमेरिका, अष्ट्रेलिया, इजरायल, वेलायत, जापान, डेनमार्कलगायत १५ देशका पर्यटकहरु सहभागी भई टीका लगाएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । 

यस पटकको टीका महोत्सव लेकसाइडस्थित होटल ल्याण्डमार्कमा भएको थियो । रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले पर्यटकलाई टीका लगाइदिएका थिए । टीका र माला लगाएपछि टोपी, सल र सेलरोटीलगायतका उपहार पर्यटकलाई प्रदान गरिएको थियो ।े महोत्सवमा देउसी भैलो पनि खेलिएको थियो । पर्यटकहरुले निकै रमाइलो मानेका थिए । 

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्धन गर्दै पर्यटन क्षेत्रमा आशा छर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष सुवेदीले बताउनुभयो । नेपाली संस्कृतिको संरक्षण एवं संवर्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्य पनि महोत्सवले लिएको उहाँले जानकारी गराउनुभयो ।

कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम बियरले महोत्सवलाई सघाएको सङ्घका महासचिव राजेन्द्र ढकालले जानकारी दिनुभयो ।