• ६ माघ २०८१, आइतबार

छठको तयारी : सफासुग्घर पारिँदै घर

blog

सर्लाहीको बसबरियामा छठका लागि घर लिपपोत गर्दै एक महिला । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, कात्तिक ३० गते । छठपर्वका लागि तराई मधेशमा घर, आँगन लिपपोत र सरसफाइ गरी चिटिक्क पारिएको छ । सर्लाहीमा पनि स्थानीयले पवित्र पर्वछठका लागि नजिकको जलाशयसँगै आफ्नो घर आँगन सरसफाइ र लिपपोत गरी चिटिक्क पारेका हुन् । छठपर्व मङ्सिर ३ गते आइतबार मनाइँदैछ । 

यो पर्वमा निकै चोखोनिताे गर्नुपर्ने मान्यता छ । बसबरिया गाउँपालिका –३, भवानीपुरकी रञ्जुदेवी माझीले छठपर्वका लागि घर, आँगन लिपपोत तथा सरसफाइको काम सकेर पर्वको तयारीमा जुटेको बताउनुभयो । 

पक्की घर भएकाले रङ्गरोगन र सरसफाई गरेका छन् । कच्ची घर भएकाले पनि माटो लगाएर घर, आँगन लिपपोत गरी सफा पारेका छन् । अधिकांशले छठ पूजाको विधिका लागि आवश्यक पर्ने सरसामग्री खरिद गरिसकेका छन् । कतिपयले यहाँको बयलवास, बरहथवा, मलङ्गवा, लालबन्दी, हरिवनलगायतका बजारमा छठका सरसामग्री किनिरहेको भेटिन्छ । 

सीमावर्ती क्षेत्रका अधिकांश भने छठमा आवश्यक पर्ने सामग्री किन्न सीमापारि भारतीय बजारमा पुग्नेगरेका छन् । पर्सा गाउँपालिका –२, शीतलपुरका वडाध्यक्ष सतेन्द्र यादवले सीमामै टाँसिएको आफ्नो गाउँका अधिकांश छठका सामग्री किन्न भारतीय बजारमा पुग्नेगरेको बताउनुभयो ।

त्यस्तै, जिल्लामा अहिले विभिन्न जलाशयमा छठ पूजाको तयारी तीव्र पारिएको छ । पोखरी, नहर तथा खोला किनारमा सरसफाइ गरी धमाधम पूजास्थल निर्माण गर्ने काम भइरहेको स्थानीयले बताएका छन् । 

छठ नजिकिएसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले तिहार शान्तिपूर्ण बनेको र अब छठका लागि भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन लागिपरेको जानकारी दिनुभयो ।