सन्तोष सुवेदी
कास्की, कात्तिक २४ गते । पोखरामा पहिलो पटक मौलिक संस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । महोत्सवमा विभिन्न जातजाति विशेष तथा समुदाय विशेषको देउसीभैलो प्रदर्शन हुने जनाइएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवले देउसीभैलोलाई व्यापक बनाउन र मौलिकता जोगाइराख्न उत्सवको रुपमा मनाउने संस्कृतिको विकास गराउने प्रयास गर्ने टेलिभिजनका प्रबन्ध निर्देशक माधब पनेरुले बताउनुभयो ।
महोत्सवका मूल्याङ्कन समितिको संयोजक लोकदोहोरी गायक प्रजापति पराजुलीले मौलिकतालाई महोत्सवका रुपमा नल्याउने हो भने हाम्रा परम्परा र संस्कृति विलीन हुने अवस्था आइसकेको बताउनुभयो । महोत्सवले मौलिकता जोगाउन एक महत्त्वपूर्ण कदम चालेको उहाँको भनाइ थियो ।
महोत्सवमा सहभागी टिमले नगद पाँच हजार नगद प्राप्त गर्नेछन् उत्कृष्ट टिमलाई देउसी भैलो च्याम्पियन घोषित गरिनेछ । च्याम्पियन हुने टिमले अवार्डसहित १५ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।