• १५ असार २०८१, शनिबार

सहिद प्रहरीका परिवारले रोपेको सयपत्री फूल बजारमा

blog

सुर्खेतमा सहिद प्रहरीका परिवारले गरेको फूलखेती । तस्बिर: गोरखापत्र

सुर्खेत, कात्तिक २४ गते । सुर्खेतका सहिद प्रहरीका परिवारले गरेको फूलखेती बजारमा पठाउन पाइने भएको छ । नेपाल प्रहरीका शहीद परिवारले तिहारलाई लक्षित गरी रोपेका फूलहरू बजारमा पठाउन थालिएको हो । बिहीबारबाट सहिद प्रहरीका परिवारको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षाका साथ फुल खेती सुर्खेत बजारमा पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीका लागि बजार  पठाइएको हो । 

प्रहरी परिवारका लागि फूलखेती कार्यक्रम नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशले विभिन्न समयमा कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोहीअनुरूप संस्थाले कर्णाली प्रदेशस्थित सुर्खेत जिल्लामा रहेका अमर सहिद तथा अशक्त प्रहरी परिवारका आश्रित सदस्यहरूको सीप क्षमता अभिवृद्धिका साथै आयआर्जन तथा आर्थिक स्थिति वृद्धि गर्ने उद्देश्यले वीरेन्द्रनगर–५, चिसापानीमा रहेको कर्णाली प्रदेश प्रहरी गण सुर्खेतको झन्डै २२ कट्ठा क्षेत्रफलमा फूलखेती गरिएको थियो । 

अमर सहिद प्रहरी परिवारको सक्रिय सहभागिता र परिश्रमले उक्त फूलखेतीबाट १२ लाख आर्थिक आम्दानी हुने अनुमान गरिएको छ । सो आम्दानी उनीहरूले नै उपभोग गर्ने तथा जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षा प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशले लिएको छ ।  खेर गइरहेको बाँझो जग्गामा यस्ता आयआर्जनमूलक खेती गरिनाले अमर प्रहरीका परिवारलाई स्वरोजगार सिर्जना भई जीविकोपार्जनमा सहयोग पुग्ने र नेपालका अन्य ठाउँहरूमा पनि यस्ता क्रियाकलाप गर्न आवश्यक रहेको कुरा नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशका अध्यक्ष श्रीमती बिन्दु अधिकारी ढकालले जानकारी दिनुभयो । 

चालु वर्षको तिहारलाई लक्षित गरेर सयपत्री तथा मखमली फूलखेती गर्न नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशले ३ लाख ५ हजार नगद अनुदान सहयोग गरेको थियो । सो फूलखेती कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आवश्यक सहयोग तथा सहजीकरण गर्नुका साथै सो सामूहिक फूल खेतीमा अमर सहिद प्रहरी परिवारका आश्रित १५ परिवारलाई फूलखेती सञ्चालनका लागि चाहिने आवश्यक सीप, ज्ञानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयले स्थानीय कृषि शाखासँग समन्वय गरी पाँच दिनको सैद्धान्तिक तथा व्यावहारिक तालिम सञ्चालन गराइएको थियो । 

Author

नवीन सुवेदी