• ११ मंसिर २०८१, मङ्गलबार

क्रिकेट कूटनीतिको आवश्यकता

blog

क्रिकेट हाल नेपालमा सर्वत्र रुचाइएको खेल हो भन्नेमा कुनै शङ्का रहेन । युवाको विदेश मोह, अर्थतन्त्रको खस्किँदो स्थिति, बाढी, पहिरो तथा भूकम्प जस्ता प्रकोपले मुलुक हरेक दिन पीडित हुँदै गइरहेको छ । यस्तो बेला मुलुकको ध्यान क्रिकेटले ल्याएको उल्लासतर्फ जानु स्वाभाविकै हो । खेल र खेलाडीले जात, क्षेत्र र धर्म नभनी मुलुकको शिर उचो बनाउने र मुलुकलाई जोड्ने काम गरेको हुन्छ । देशको झन्डा विदेशी भूमिमा फहरिनु नेपालीहरूमा गर्वको विषय हुन जान्छ । जुन हालै सम्पन्न एसिया कपमा पाकिस्तान र श्रीलङ्कामा क्रमशः आयोजक पाकिस्तान र नेपालबिचको खेल र भारत र नेपालबिचको खेलमा नेपालका दर्शकहरूको उपस्थितिले देखायो । 

हार्वर्ड युनिभर्सिटीका प्रोफेसर जोसेप न्येले सफ्ट पावरलाई दबाब वा प्रलोभन बिना अरूलाई आकर्षित गर्ने राष्ट्रको क्षमताको रूपमा परिभाषित गरेका छन् । क्रिकेटमा भइरहेको हालको विकासक्रम, विभिन्न देशको उदाहरण, सरकारको क्रिकेटप्रतिको दृष्टिकोण र यसलाई कूटनीतिसँग जोडेर हुने सम्भावित अवसरलाई यस लेखमा प्रकाश पार्न खोजिएको छ । क्रिकेटमा हालैको विकासक्रम हेर्दा नेपाल आफैँले आफ्नो भूमिमा आयोजना गरेको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२४ मा अमेरिकामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित पारेको छ । सन् २०१४ मा आखिरी विश्वकप खेलेको अनुभव सँगाल्दै फेरि १० वर्षपछि सन् २०२४ मा विश्वकप पुग्ने रहर पूरा भएको छ । युएईलाई आफ्नो खेल मैदानमा हराउँदै नेपालले आफ्नो स्थान पक्का पारेको थियो, भलै अन्तिम खेल ओमनसँग पराजित हुन पुग्यो । सन् २०१४ मा अफगानिस्तानलाई हराउँदै नेपालले त्यो खेल जितेको झल्को अझै पनि नेपालीहरूको मानसपटलमा जीवितै छ । फेरी त्यो दिन छिट्टै आउँदै छ, जहाँ फेरि नेपालले विश्वका विभिन्न क्रिकेटका पारखी राष्ट्रहरू र खेलाडीसँग आमनेसामने हुन पुग्दै छ । 

क्रिकेटमा प्रशिक्षक भारतीय नागरिक मन्टी देसाइले अविस्मरणीय योगदान गरेको छन् । उनले नेपालको ओडिआइ मान्यता जोगाउन भूमिका खेल्ने, एसिया कपमा पु¥याउने, भारतका खेलाडीलाई नेपाली खेलाडीहरूसँग भेटाउन भूमिका खेल्ने, नेपाली खेलाडीलाई ओतप्रोत पार्ने काममा उनको योगदान रहेको छ । उनकै कार्यकालमा नेपाल फेरि विश्वकप पुग्न सफल भएको हुँदा उनको गुन नेपाली क्रिकेटले पक्कै बिर्सने छैन । त्यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि खेलाडीलाई हौसला दिन कुनै कसर बाँकी राख्नुभएन । सरकारले मूलपानी, चितवन र विराटनगरको रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा घोषणा गरेर निर्माणका काम अघि बढ्ने भएको छ । ठुला प्रतियोगितामा खेलाडीलाई हौसला बढाउन उच्च पदस्थको उपस्थितिले निकै सकारात्मक भूमिका खेलेको हुन्छ । सरकारले खेलाडीको हौसला बढाउन पुरस्कार प्रदान गरेको छ भने त्रिभुवन विश्वविद्यालयको खेल मैदानको संरचना निर्माण गर्न र लाइट जडान गर्नका लागि आवश्यक कामको सुरुवात भएको छ । २५ हजार दर्शक अटाउन सक्ने क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न भरतपुर महानगरपालिका र बागमती प्रदेशले अग्रसरता देखाएको छ । यी सबै काम नेपालका क्रिकेट खेलको विकासका लागि कोसे ढुङ्गा साबित हुने छन् । 

क्रिकेट खेलको विकासमा अन्य देशको अवस्था कसरी विकास भएको छ भन्ने कुरा पनि हेर्न जरुरी छ । ती मुलुकमा क्रिकेटको विकास एकै दिन भएको होइन । क्रमागत रूपमा भएको विकासले आज केही मुलुक क्रिकेट खेलमा साम्राज्य जमाउन सफल भएका छन् । 

भारत : भारतीय क्रिकेट टोली विविधतामा एकताको चित्र हो । भारतमा विकास भएको क्रिकेट खेल नातावाद, क्षेत्रीयता र पक्षपातको विरुद्धको एक राम्रो उदाहरण बनेको छ । भारतको क्रिकेटले भारत एकताको प्रतिविम्ब प्रस्तुत गरेको छ । भारतीय क्रिकेट टोलीले प्रायः देश भरका प्रतिभाहरूलाई आकर्षित गर्ने मेरिटोक्रेसीको रूपमा आफ्नो प्रतिष्ठा कायम राख्न सफल भएको छ । भारतमा क्रिकेट ‘ब्रिटिस राज’ को विरासत हो भन्ने आमधारणा छ तर क्रिकेट हाल भारतकै दबदबामा रहेको छ । हाल भारतको क्रिकेट बोर्ड बिसिसिआइ एक्लैको मात्र २.२५ अर्ब डलर बराबरको सम्पत्ति छ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको २.५ अर्ब डलर बराबरको सम्पत्ति छ ।

अस्ट्रेलिया : अस्ट्रेलियाले आफ्नो खेलकुद क्षमताको भरपुर उपयोग गर्न सफल भएको छ । सो मुलुकले आफ्नो छवि क्रिकेटको माध्यमबाट प्रवर्धन गर्न सकेको छ । अस्ट्रेलिया र क्रिकेट एक अर्काका पर्यायवाची बन्न सफल भएका छन् । अस्ट्रेलिया क्रिकेट बोर्डसँग ७० मिलियन डलर बराबरको सम्पत्ति रहेको छ ।

इङ्गल्यान्ड : इङ्गल्यान्डले क्रिकेटलाई आफ्नो इतिहास र संस्कृतिको प्रवर्धन गर्न प्रयोग गरेको छ । उसले आफ्नो पुरानो उपनिवेशहरूसँगको सम्बन्धलाई बलियो बनाउन खेललाई पनि प्रयोग गरेको छ । इतिहास हेर्दा यो खेल इङ्गल्यान्डमा यति लोकप्रिय भयो कि पुरुषहरूको धनुर्विद्या अभ्यासमा हस्तक्षेप भएकोले शाही आदेशद्वारा यसलाई निषेधित गर्नु परेको थियो । बिस्तारै र विश्वभरि ब्रिटिस चासोको फैलावटसँगै, जहाँगीरको समयमा बेलायती व्यापारीहरूले व्यापार गर्न थालेपछि क्रिकेट भारतलगायत अन्य देशहरूमा बसाइँ सरेको मानिन्छ । 

सफ्ट पावरको महत्व र क्रिकेटको भूमिका

बेलायतको ब्रान्ड फाइनान्स इन्स्टिच्युटका अनुसार १२८ देशमध्ये सफ्ट पावरमा अमेरिका विश्वकै पहिलो देशमा छ । त्यसै गरी बेलायत दोस्रो, जर्मनी तेस्रो, चीन चौथो र जापान पाँचौँ स्थानमा रहेको छ । भारतले पनि अघिल्लो वर्षको तुलनामा ३६ स्थानबाट २८ औँ स्थानमा राख्न सफल भएको छ । क्रिकेट कूटनीति वा क्रिकेटलाई सफ्टपावरको रूपमा हेरिनु आजको समयको माग हो । आइसिसीका अनुसार नेपाल हाल ओडिआइतर्फ १५ औँ स्थानमा र टी–२० विश्व वरियतामा १६ औँ (२०२३ को ५ नोभेम्बरमा अध्यावधिक भएको ) स्थानमा रहेको पाइन्छ ।

नेपालले केही महिनाअघि एसिया कपमा खेल्न जाँदा आयोजक राष्ट्र पाकिस्तानले नेपाली खेलाडीको सानदारपूर्वक उच्चसुरक्षाका साथ लगेको र राम्रो खातिरदारी गरेको दृश्यले सञ्चार माध्यममा निकै उत्साहजक तरिकाले आएको थियो । हाल भारतमा क्रिकेटको महाकुम्भ भइरहेको छ । त्यहाँ विश्वकप पाकिस्तानका खेलाडी भारतको हैदरावाद पुग्दा उच्च सुरक्षाका साथ सहयोग र उनीहरूको खानपानका लागि उचित बन्दोबस्त गरेका थिए । भारत र पाकिस्तानबिचको राजनीतिक सम्बन्ध तिक्ततायुक्त रहेता पनि क्रिकेटमा खेलाडीलाई गर्नुपर्ने दायित्व भारतले पूरा गरेको छ । त्यसै गरी मार्च ९ देखि १३ सम्म चलेको भारत र अस्ट्रेलियाको म्याच हेर्न अस्ट्रेलियाको प्रधानमन्त्री गुजरात पनि पुगेका थिए । गुजरातको नरेन्द्र मोदी स्टेडियममा व्रिmकेटबाट मित्रता भन्ने उक्ति प्रचलनमा ल्याइएको थियो । यसलाई भारतले अवलम्बन गरेको सफ्ट पावरको रूपमा हेर्न सकिन्छ । यहाँ केही तरिकाहरू छन् जसमा क्रिकेट एक सफ्ट पावर उपकरण हुन सक्छ र कूटनीतिक सम्बन्धलाई प्रभाव पार्न सक्छ । 

अन्तर्राष्ट्रिय क्रिकेट समुदायसँग संलग्न भएर : अन्तर्राष्ट्रिय क्रिकेट सङ्गठनहरू र पहलहरू, जस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र यसका विकास कार्यक्रमहरूमा सक्रिय सहभागिताले नेपाललाई विश्व क्रिकेट समुदायमा पहिचान र प्रभाव प्राप्त गर्न मद्दत गर्न सक्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट घटनाहरू आयोजना गरेर : क्रिकेटलाई राष्ट्रिय पहिचान प्रवर्धन गर्न, सांस्कृतिक र आर्थिक सम्बन्ध विस्तार गर्न र कूटनीति र द्वन्द्व समाधानको प्रवर्धन गर्न प्रयोग गर्न सकिन्छ । हालै पाकिस्तानले आयोजना गरेको एसिया कपमा भारत सामेल भएन र आयोजक राष्ट्र पाकिस्तान आफैँ र नेपालसमेत श्रीलङ्का पुगेर भारतसँग खेल्नुपर्ने भयो । नेपालमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनेको हुन्थ्यो र सुरक्षा प्रबन्ध चुस्तदुरुस्त पार्न सकिन्थ्यो भने यो खेल श्रीलङ्का नभएर नेपाल आफैँले खेलाउन सक्ने थियो । 

सामाजिक विकासका लागि क्रिकेटको उपयोग गरेर : शिक्षा, स्वास्थ्य, सचेतना वा लैङ्गिक समानता प्रवर्धन जस्ता सामाजिक पहलहरूका लागि क्रिकेटलाई प्लेटफर्मको रूपमा प्रयोग गरेर, यसको अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धि गर्दै सामाजिक प्रगतिप्रति नेपालको प्रतिबद्धता दृढतापूर्वक प्रदर्शन गर्न सक्छ ।

ग्रासरुट क्रिकेट विकासलाई प्रोत्साहन दिएर : ग्रासरुट क्रिकेट विकासमा लगानी गर्नु, विशेष गरी ग्रामीण क्षेत्रहरूमा, खेलको पहुँच विस्तार गर्न र पिछडिएका युवालाई अवसरहरू प्रदान गर्न, समावेशी विकासप्रति नेपालको प्रतिबद्धता देखाउँदै एउटा महìवपूर्ण उपाय हो ।

पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट सङ्गठनसँगको साझेदारी : क्रिकेट पूर्वाधारहरू स्टेडियम र प्रशिक्षण सुविधाहरूको स्तरोन्नति गर्न अन्तर्राष्ट्रिय क्रिकेट सङ्गठनसँग सहकार्यले नेपालमा क्रिकेटको गुणस्तरमा उल्लेखनीय सुधार गर्न, अन्तर्राष्ट्रिय खेलहरू र पर्यटकहरूलाई आकर्षित गर्न सक्छ ।

क्रिकेट पर्यटन गन्तव्यका रूपमा नेपाललाई बजारमा ल्याउने : विदेशी पर्यटकलाई आकर्षित गर्न र देशका लागि राजस्व आर्जन गर्न क्रिकेट खेललाई सांस्कृतिक भ्रमण र पर्यटकीय स्थलको संयोजन गर्ने प्याकेजहरू प्रस्ताव गर्दै नेपाललाई क्रिकेट पर्यटन गन्तव्यको रूपमा प्रवर्धन गर्ने यो उपयुक्त समय हो ।

द्विपक्षीय सम्बन्धका लागि क्रिकेट कूटनीतिको फाइदा उठाएर : क्रिकेट कूटनीति प्रयोग गरेर छिमेकी देशहरू जस्तै भारत र बङ्गलादेशसँगको सम्बन्धलाई बलियो बनाई क्षेत्रीय सहयोगलाई बढावा दिन र नेपालको अन्तर्राष्ट्रिय स्तरमा सुधार गर्न सकिन्छ ।

अन्तयमा भारत, अस्ट्रेलिया र इङ्गल्यान्ड जस्ता देशहरूले आफ्नो संस्कृति, मूल्य, मान्यता तथा देशभित्रका ठाउँहरूको प्रचार प्रसार गर्ने र आर्थिक विकासको एक साधनका रूपमा क्रिकेटलाई सफ्ट पावर उपकरणको रूपमा प्रयोग गरिरहेका छन् । क्रिकेटलाई आफ्नो सफ्टपावर प्रवर्धन गर्न प्रयोग गरेर, कुनै देशले विश्वमा आफ्नो प्रभाव बढाउन र अन्य देशहरूसँगको सम्बन्ध सुधार गर्न सक्छ । नेपालसँग क्रिकेटका उत्कृष्ट खेलाडी र दर्शक प्रशस्त छन् । क्रिकेट विकासका लागि यी दुई कुरा मुख्य आधार पनि हुन् । भौतिक विकासका संरचना निर्माणका क्रममा रहेका छन् । ती संरचनालाई चाँडै सम्पन्न गर्नु पर्छ । अतः नेपालले पनि क्रिकेटलाई कूटनीतिको माध्यमको रूपमा हेर्न ढिलो गर्न हुँदैन । 


Author

रितेश पन्थी