इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक २३ गते । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूका लागि पाल्पाको रामपुरमा २२ पिन्ट रगत सङ्कलन गरिएको छ । रामपुर नगरपालिकाले रक्तदान कार्यक्रम गरी बिहीबार रगत सङ्कलन गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखासँगको सहकार्य र लुम्बिनी मेडिकल कलेज तानसेको प्राविधिक सहयोगमा नगरपालिका कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरी रगत सङ्कलन गरिएको थियो ।
गम्भीर घाइते भएकालाई जुनसुकै बेला रगत आवश्यक पर्ने हुँदा रगत सङ्कलन गरिएको रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवम् रामपुर ७ का वडाध्यक्ष दोवराज तिवारीले जानकारी दिनुभयो । सूचना जारी सर्वसाधारणसँग रक्तदानको अनुरोध गरेर खुला रक्तदान कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
सङ्कलन भएको रगत लुम्बिनी मेडिकल कलेज तानसेनमा लगिने र आवश्यक परेको स्थानमा पठाउन सकिने नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईले जानकारी दिनुभयो । रक्तदान गर्न आह्वान गरिएको सूचनाको आधारमा सर्वसाधारण, सुरक्षा बेस क्याम्प रामपुरमा कार्यरत नेपाली सेना, नगर प्रहरी गरी २२ जनाले रक्तदान गरेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक गिरिराज घिमिरेले जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाले यस अघि भूकम्पपीडितहरूको राहत र पुनः स्थापनाका लागि जाजरकोट पुगेर एक लाख ५१ हजार १११ रुपियाँ प्रदान गरेको थियो ।