काठमाडौँ, कात्तिक २३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटवार्तामा नेपाल र चीनबिचको सुमधुर सम्बन्धका विविध आयाममा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा उहाँहरूबिच चिनियाँ परराष्ट्रमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य महामहिम वाङ यी तथा युन्नान प्रान्तका अन्य नेतासँगको भेटमा हामीले व्यापार प्रवर्धन, लगानी, पर्यटन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य सुदृढ गर्नेलगायतका आपसी हितका विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले तिब्बत स्वशासित क्षेत्र हाम्रा दुई देशबिचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रमा द्विपक्षीय अन्तर्क्रियाको प्रवेशद्वार भएकाले यो प्रतिनिधिमण्डलको नेपाल भ्रमणले सम्भावित सबै क्षेत्रमा नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले भन्नुभयो, “यस कठिन समयमा जनवादी जनतन्त्र चीन सरकारले प्रदान गरेको सहयोगका लागि म आभार प्रकट गर्दछु ।” उहाँले नेपाल र चीनबिच घनिष्ट र सौहार्दपूर्ण सम्बन्ध रही आएको बताउनुभयो । उपराष्ट्रपति यादवले अन्तरआबद्धता, पूर्वाधार विकास, व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्ध जस्ता महत्वपूर्ण क्षेत्रमा चीनसँगको साझेदारीलाई नेपालले प्रगाढ बनाउन चाहेको उल्लेख गर्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री ली खछ्याङको दुःखद निधनमा चीन सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।
जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङले आफ्नो भ्रमण नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा भएको समझदारी लागु गराउने उद्देश्यले भएको बताउनुभयो । “नेपालमा हालै गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्पपीडितप्रति सहानुभूति प्रकट गर्दछु,” उहाँले भन्नुभयो, “पुनर्निर्माणमा चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” उहाँले दुई देशबिचको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने चाहना चीनको रहेको जनाउँदै नेपाल–चीनबिच उच्चस्तरीय र जनस्तरको भ्रमण आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो । भेटमा उहाँले उपराष्ट्रपति यादवलाई तिब्बत भ्रमणमा आउन आग्रहसमेत गर्नुभयो ।