• १२ साउन २०८१, शनिबार

खुसीसँगैको भूकम्प पीडा

blog

शुक्रबार दिउँसो मात्र नेपालीमा ठुलो खुसी छाएको थियो । आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसिया क्षेत्रबाट नेपाल छनोट भएको हर्षोल्लाष थियो । खुसीसँगैको नेपालीको आरामदायी निद्रा भूकम्पले मध्यरातअघि खोसिदियो । मध्यरात नहुँदै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्प र लगातारका परकम्पबाट खास गरी जाजरकोट र रुकुमपश्चिममा अकल्पनीय मानवीय एवं भौतिक क्षति भएको छ । शनिबार अपराह्नसम्मको विवरण अनुसार १५७ जनाको मृत्यु र १९७ जना घाइते भएका छन् । दुर्गम क्षेत्रमा घर भत्किएकाले यो सङ्ख्या बढ्न सक्छ । करोडौँको भौतिक संरचना क्षति भएको छ । पछिल्लो समय बाजुरा, बझाङ र धादिङ केन्द्रबिन्दु भएका क्रमशः ५.९, ६.३ र ६.१ रेक्टर स्केलका भूकम्पले झस्काइरहेको अवस्थामा धेरै ठुलो मापन भिन्नताको नभए पनि रामीडाँडा भूकम्प २०७२ को भूकम्पपछि अकल्पनीय क्षति भयो । 

गत वैशाखमा घरेलु मैदानमा एसिसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा प्रतिस्पर्धा गरेको नेपाल टी–२० विश्वकपमा पुगेको छ । विभिन्न समयमा घोषित पुरस्कारसमेत पाउन नसके पनि मुलुकका लागि खेलिरहेका युवा खेलाडीले विश्वकपमा सहभागिता सुनिश्चित गर्न सफल भएसँगै पूर्वघोषित नगद पुरस्कार पनि अर्थ मन्त्रालयले निकासा गरेको छ । शुक्रबार दस वर्षपछि टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा मुलुकलाई पु¥याएर राष्ट्रिय गौरवलायक बनेका क्रिकेट खेलाडीलाई बधाई एवं हौसला प्रदान गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार एकाबिहानै स्वास्थ्यकर्मी र उपचार सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुग्नु प¥यो । कर्णाली प्रदेशको भूबनोट, पूर्वाधार अभाव, मौसम आदिका कारण राति नै पीडितको उद्धार, उपचारमा कठिनाइ भयो । स्थानीय राज्य निकाय, जनप्रतिनिधि, युवाले यथाशक्य जो जहाँ छ, त्यहीँ उद्धार उपचारमा क्रियाशीलता देखाए । मिर्मिरे नहुँदै हताहती, क्षतिका विवरण आउन थालेका थिए । प्रधानमन्त्री स्वयम् पीडित नागरिकसामु शीघ्र पुगेर उद्धार, उपचार, राहत र पुनस्र्थापनाका लागि देखाउनुभएको क्रियाशीलताले पीडित नागरिकको मनोबल बढाएको छ । यसमाथि आपत्विपत्का बेला सँगसँगै हुने नेपाली संस्कार परम्परा अनुसार विभिन्न राजनीतिक दल, सङ्घ संस्था र नागरिक प्राथमिक कार्यमा जुट्नु सन्तोषको पक्ष छ । 

विसं २०७२ को भूकम्पपछि हालसम्मका भूकम्प निरन्तरतामा सबैभन्दा ठुलो क्षति अहिले भएको छ । यसको दुःखद आयामप्रति संवेदनशील भएर प्रधानमन्त्री स्वयम् घटनास्थलमा पुगी घाइते, पीडितहरूको घाउमा मलहमपट्टी लगाउनेदेखि उद्धार र राहतका निर्णय र निर्देशनमार्फत प्रकोप सामनाको नेतृत्व गर्नुभएको छ । क्षति भइहाल्यो, प्राथमिकतामा खोजी, उद्धार, राहत, उपचार, अत्यावश्यकीय सामग्रीहरूको व्यवस्थापन जस्ता प्रकोप प्रतिकार्य पर्छन् । खोजी, उपचार अत्यावश्यक सामग्रीहरूको व्यवस्थापनमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत उद्धारकर्मीको सक्रिय परिचालन देखिएको छ । यी कार्यमा स्थानीय राज्य संयन्त्रका सबै जनशक्ति, स्थानीय समुदाय, छिमेकी जिल्ला अनि देशभरका नागरिकको साथ सहयोग जुटिरहेको छ । मित्रराष्ट्रहरूबाट पनि सहानुभूति, संवेदना र आवश्यक सहयोगका सन्देश प्राप्त भएका छन् । यो परिस्थितिलाई आवश्यकताका आधारमा व्यवस्थित सदुपयोग गरी गत असोजमा बझाङ भूकम्पका बेला राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले गरेकै राहत एवं प्रतिकार्यसम्बन्धी निर्णय अनुरूप तत्काल कार्य अगाडि बढाउनु पर्छ ।

पाँच सय वर्षदेखिको आठ म्याग्नेच्युडको भूकम्पीय शक्ति सञ्चित रहेको भनिने नेपालको पश्चिम क्षेत्रमा पटक पटक भूकम्प आइरहेका छन् । गत एक वर्षको अवधिमा त्यस क्षेत्रमा छ म्याग्निच्युडभन्दा माथिको तीव्रता भएका चार वटा भूकम्प गए । अधिकांश ढुङ्गामाटो निर्मित आवासीय संरचना रहेको त्यस क्षेत्रका घर पटक पटकका भूकम्पले चर्काएका हुँदा अब कम मापनका धक्कामा पनि ढल्न सक्ने छन् । अतः अब प्रबलीकरणसहित सुरक्षित आवास संरचना निर्माण अभियान नै चलाइएमा भविष्यमा सम्भावित क्षति न्यूनीकरण गर्न सकिने छ । जोखिम पूर्वसूचना प्रणाली र भूकम्प प्रतिकार्य क्षमता सुदृढ गर्नु त अत्यावश्यकीय नै छ ।

भूकम्पका कारण हुन सक्ने क्षति र तत्काल राहत, उद्धार अनि सुरक्षित पुनर्निर्माणका लागि विसं २०७२ देखि हालसम्मका अनुभव र सिकाइका आधारमा विपत् प्रतिकार्य पूर्वतयारीका काम गर्न तीन तहका सरकार चुकिरहेको आभास यतिखेर पनि भएको छ । विपत् न्यूनीकरण र जीवन रक्षा हेतु प्रत्येक पालिका र वडामा एउटा हेलिप्याड र पोखरी, स्वास्थ्य संस्था भवन निर्माणका घोषणा, योजना अनुरूप कार्य भएको देखिन्न । आपत्कालीन अवस्थामा हेलिकप्टरको रात्रि उडान गर्न सकिने, अवरुद्ध सडक तत्काल खुलाउन आवश्यक उपकरण छोटो छोटो दुरीमा तम्तयार राख्नेतर्फ पनि प्राथमिकता रहनुपर्ने देखिएको छ ।