• १२ साउन २०८१, शनिबार

तिहारमा पैँतिस लाख सयपत्री माला खपत हुने

blog

काठमाडौँ, कात्तिक १९ गते । यसपालिको तिहारमा ३५ लाख सयपत्रीको माला खपत हुने व्यवसायीले अनुमान गरेका छन । तिहारको पाँच दिनको अवधिमा ३१ करोड रुपियाँ बराबरको ३५ लाख गोटा माला खपत हुने व्यवसायी बताउँछन् । 

गत वर्ष तिहारमा २५ लाख गोटा सयपत्रीको माला खपत भएका थिए । बजारमा माग बढेसँगै अघिल्लो वर्षको तुलनामा बढी माला खपत हुने व्यवसायीले अनुमान गरेका छन् । सरकारले पुष्पजन्य उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएका कारण यसपालि मालाको मूल्यसमेत बढ्ने भएको छ । 

तिहारमा लक्ष्मीपूजा, घरआँगन सजाउनेदेखि भाइटीकामा लगाउनका लागि सयपत्रीको माला धेरै प्रयोग हुन्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले यस वर्ष ८० प्रतिशत स्थानीय उत्पादनले बजार माग धान्ने र २० प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

फूलमा भ्याट लगाएका कारण यसपालि मालाको मूल्य बढ्ने उहाँको भनाइ छ । सयपत्री फूलको आयात गर्न प्रक्रिया पूरा गर्नुपर्ने हुँदा यस पटक व्यवसायीलाई माला आयात गर्न कठिन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार बजारमा प्रतिगोटा सयपत्री मालाको थोक मूल्य प्रतिमाला ७५ र खुद्रा मूल्य १२५ रुपियाँ पुग्ने छ । 

गत वर्ष मालाको मूल्य प्रतिगोटा ५० देखि एक सय रुपियाँसम्म थियो । यस वर्ष मखमलीको मालाको मूल्य थोकमा ४५ रुपियाँ र खुद्रामा ६० देखि ७० रुपियाँ पर्ने तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार मिक्स माला होलसेलमा तीन सय र खुद्रामा पाँच सय रुपियाँसम्म पर्ने देखिएको छ । 

गोदावरी फूलको माला भने एक हजारदेखि तीन हजार रुपियाँसम्म पर्ने एसोसिएसनले अनुमान छ । फ्यानका अनुसार गत वर्ष नौ लाख सयपत्रीका माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाख मात्र माला ल्याउन लागिएको छ ।

फ्यानका अनुसार पछिल्लो समय बजारमा फूलको माग वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्प खेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग २२१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा ३३ प्रतिशतले फूलको कारोबार वृद्धि भएर तीन अर्ब सात करोड पुगेको छ । सो अवधिमा मुलुकबाट ६८ अर्ब १८ लाख रुपियाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात हुँदा ३३ करोड रुपियाँको आयात भएको विभागको तथ्याङ्क छ ।