• १ जेठ २०८१, मङ्गलबार

भूकम्प प्रभावितलाई १० लाख र स्वास्थ्य सामग्री सहयोग

blog

प्रभावित क्षेत्र हिडेको स्वास्थ्यकर्मीसहितको टोली र आवश्यक सामग्री । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक १८ गते । भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिममा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद १० लाख रुपिँयासहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री पठाएको छ ।

नगरपालिकाको शनिबार बिहान बसेको आकस्मिक बैठकबाट नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत कार्यपालिका सदस्यले निर्णय गरी सो क्षेत्रमा आवश्यक सहयोग पठाउने निर्णय भएको हो ।

नगर प्रमुख खाणले भूकम्पले नराम्ररी क्षति गरेको दुई जिल्लाका लागि पालिकाको विपद् कोषबाट ५ लाख जाजरकोट र ५ लाख रुकुम पश्चिमलाई हुनेगरी बजेट पठाएको बताउनुभयो ।

उहाँले उद्धार कार्यका लागि पालिका स्वास्थ्य प्रमुखसहितको टोलीलाई पठाएको बताउनुभयो । ‘म चढ्ने सरकारी गाडीले सम्पूर्ण सामग्री बोकेर गएको छ, गाडी पनि उद्धारमा खटिने छ ।’ उहाँले भन्नुभयोे, ‘बिपदका बेला झन् मानवीयतामा अति संवेदनशील बन्नुपर्छ भन्ने नै हाम्रो प्रतिबद्धता हो, हामीले सकेको सहयोग गर्नेछौँ ।’

यस्तो बेलामा देशको हरेक स्थानीय तह, जनप्रतिनिधिले सक्दो हातेमालो गरेर क्षतिग्रस्त क्षेत्रका नागरिकलाई सान्त्वना दिन र उपचार गरी उद्धार गर्न आवश्यक रहेको बताउनुभयो  ।

नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।