• ८ जेठ २०८१, मङ्गलबार

भूकम्पपीडितको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको आग्रह

blog

घाइतेको उद्धार गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनः स्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गर्नुभएको छ ।

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री आज बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएको थियो ।

प्रधानमन्त्रीले भूकम्पबाट भएको क्षतिको स्थलगत अनुगमनका साथै घाइतेको उद्धारका लागि आफू चढेर गएको नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइतेका उद्धार गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले जाजरकोट र रुकुमपश्चिमका विभिन्न अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै पीडितको साथमा सरकार रहेको भन्दै नआत्तिन आग्रह गर्नुभएको छ । यस्तै सरकारले आजै जाजरकोट र रुकुमपश्चिमका लागि तत्काल रु पाँच/पाँच करोड बराबरको बजेट उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

भूकम्पपीडितलाई राहतका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । रासस