• १२ साउन २०८१, शनिबार

एनआरएनएले भूकम्पपीडितलाई १० लाख सहयोग गर्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १८ गते । जाजरकोट केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाहरूको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । सङ्घले शनिबार विज्ञप्ति जारी गर्दै सो सहयोग घोषणा गरेको हो । 

भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । सङ्घका अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “यस कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराउँदै सङ्घको तर्फबाट पहिलो चरणमा सरकारको कोषमा तत्काल १० लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

सङ्घले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग सङ्कलन तथा आवश्यक अन्य कार्यमा जुट्न सबै नेपालीलाई आग्रह पनि गरेको छ ।