• १० मंसिर २०८१, सोमबार

कथा :

बनाएँ घर

blog

“बनाएँ घर ! चारतले बिल्डिङ बनाएँ । घुस खाएर लक्कु थुपारेको थिएँ नि !” यो मेरो जवाफ थियो । काका निलो, कालो हुनुभयो । बोल्नुभएन । उहाँका र बाका आँखा एकआपसमा जुधे । काकाको आँखामा के कस्तो भाव उत्पन्न भइरहे, मलाई वास्ता भएन । म त्यसपछि त्यहाँ बसिराखिनँ । उठेँ र भनेँ, “मलाई भरे भात पकाउनु पर्दैन । हिँडेँ । भोलि मात्र आउँला !”

बाका आँखामा ‘आश्चर्य’ थियो । बोल्नुभयो, “किन बाबु, कहाँ बस्छस् ? ढिलै भए पनि घर आइज न । तँसित बात मार्नै पाएको छैन । कत्ति कुरा गर्नु छ ।” म भनेँ सुनेको नसुन्यै गरी हिँडेँ । बा बोल्दै गर्दा म गेटबाहिर पुसकेको थिएँ । 

अलिकति ‘क्रोध’ मत्थर भएको हो कि, आफैँलाई लाग्न थाल्यो– काकासित अलिक बढ्ता रिसाएँ कि ? ‘बनाएँ 

घर ! चारतले बिल्डिङ बनाएँ । घुस खाएर लक्कु थुपारेको थिएँ 

नि !’– यी आफ्नै शब्दहरूले रिङ्ग्याइरहे !

बिहान नाइट बसबाट उत्रिनासाथ झोला बोकेर घर पुगेको थिएँ । हातमुख धोइसकेको थिएँ त्यतिबेला । जतिबेला काका आइसक्नु भएर बानेर बरण्डामा बसेर बात मारिरहनु भएको थियो । मलाई देख्नासाथ कुटिल मुस्कान मुखमण्डलमा उर्मांदै एक्कासि बिना भलाकुसारी काकाले सोध्नुभएको थियो, “काठमान्डुमा घर बनाइयो होला नि ?” यी शब्दहरू के सुनेँ, दिमाग त रन्थनाइहाल्यो । न शिष्टता, न नम्रता– सबै तोडेँ । 

काकालाई बेस्मारी काण्ड पुग्ने गरी वचनवाण चलाएर घोची हालेँ, “बनाएँ... घुस खाएर लक्कु थुपारेको थिएँ नि !” के मैले गल्ती गरेँ ? घुस नखाने, इमान बोक्ने, सदाचारी हुन खोज्ने म मान्छेलाई उठ्दैन त रिस ? 

हिँड्दै छु र मस्तिष्कमा आइरहेछन् यस्तै प्रश्न । चलायमान भइरहेछन्– काठमाडौँमा खेप्नु परिरहेको कष्ट ! एउटा कोठा छ । कम्तीमा दुइटासम्म त कोठा लिन पाए हुन्थ्यो– छैन । दुइटा कोठा लिए दुइटा केटाकेटीलाई कसरी पढाउनु ? एउटै कोठाको भाडा सात हजार, कसरी सक्नु ? हेर्नलाई ३०हजार जति पुग्छ तलब । हजार–हजारको हात्ती ३० थान ! तर, खर्च गर्दै जाँदा त्यो ३० हजार कहाँ हराउँछ, हराउँछ । 

श्रीमती भन्छे, “यो ३० हजारले के हुन्छ ? छोराछोरीलाई राम्रो शिक्षादीक्षा कसरी दिनु ? कि तपाईं जानुस्, कि मलाई जान दिनुस् । विदेश नगई हुन्न । यहाँ त जति मरेर गरे पनि भुँडी भर्दै ठिक्क ! त्यो पनि जहिल्यै अभाव । जहिल्यै समस्या !”

म बोल्दिनँ । बोल्ने ठाउँ भए पो बोल्नु । ऊ पनि काम गर्छे– कारखानामा । तर, महिनामा कति थाप्छे, थाहा छ ? सात हजार रुपियाँ । गलैँचा बुन्ने कारखाना छ टोलमा नै । त्यसमा नै काम गर्छे ऊ । पसिना चुहाउँछे । 

जति क्षमता छ, त्यति न पाइने हो पारिश्रमिक ! पढे लेखेकी भए अलिक धेरै तलब पाउने जागिर भेट्ने थिई होला । नभेट्ने पनि थिई होला । के ग्यारेन्टी छ ? जागिर नपाएर चुनावका लागि खटिने म्यादी प्रहरीमा एमए पासले पनि निवेदन दिए अरे भन्ने सुनेकै हो । हिँड्दै छु । बजार अड्डा चोक पुग्छु । जहाँ ठाकुरबाडीरोड छ र जहाँ मेरो स्कुल छ । मैले एसएलसीसम्म पढेको स्कुल । जहाँ मेरो बचपन गुज्रेको छ । पहिले–पहिले चिया खाने बङ्गाली दादाको चिया दोकान त्यहाँ छ । अहिले पनि छ । त्यहाँ पस्छु । “दादा ! के छ हालखबर ? चिया बनाउनुस् ।” बङ्गाली दादा चिया घोट्दै हुन्छ । मतिर हेर्छ र बोल्छ, “कहिले आउनु भयो काठमान्डुबाट ?” 

“आज नै आएको ।” 

“कति दिन बस्नु हुन्छ ?” ऊ फेरि सोध्छ । 

“ठेगान छैन ।” म जवाफ दिन्छु । 

“केटाकेटी पनि लिएर आउनु भयो ?” ऊ फेरि सोध्छ । 

“छैन । एक्लै आएको ।” 

“सबैलाई सन्चै छ नि ?” दादा फेरि सोध्छ । 

“ठिक छ दादा । सबैलाई ठिक छ ।” 

“बालबच्चा पढ्दै छन् नि ?” ऊ चुपलाग्ने नाम लिँदैन । 

म भन्छु, “पढ्छन् !”

“कति वटा केटाकेटी ?” ऊ फेरि सोध्छ । 

“दुई वटा,” म बोल्छु । 

उसले चिया घोट्दा उत्पन्न भएको आवाजले केहीबेर वार्तालापलाई बिथोल्छ ।  एकछिनपछि दादाले वरिपरि बेन्चमा झुम्मिएर बसेका, चियाको प्रतीक्षामा रहेका मानिसहरूका अगाडि रहेको टेबुलमा चिया राख्छ– ठक्...ठक्...ठक्...! 

उसको मुख फेरि चल्छ, “काठमान्डुमा त कोठाभाडा पनि महँगो छ अरे । पानीको पनि धेरै समस्या छ अरे । तपाईंहरूलाई समस्या छैन ?” 

म फिस्स हाँस्छु । चिया सुरुप्प पार्छु, “वाह, यस्तो होस् न चिया । गजब छ दादा चिया । यस्तो चिया काठमान्डुमा कहाँ खान पाउनु ?” दादाको प्रश्नको सोझो जवाफ नदिएर म यस्तो बोल्छु । केहीबेर दादा मेरो मुखमा घुरेर हेर्छ । मानौँ ऊ सोच्दैहोस्, मेरो ‘वाह, यस्तो होस् न चिया’ उसलाई लागेको हो उसको प्रश्नको जवाफ । 

“काठमान्डुमा पैसा भयो भने यस्तो चिया मात्र होइन, धेरै कुरा, धेरै राम्रो–राम्रो जे पनि पाइन्छ भन्ने मैले सुनेको !”

यस पटक दादाले पनि मलाई घुमाएर केही भन्दै छ– म महसुस गर्छु । त्यसपछि दादा अरू अरू ग्राहकतर्फ उन्मुख हुन्छ । चना चिउरा भुजिया खानेहरू खाइरहेका छन् । 

म उठ्छु । दादालाई पैसा तिर्छु र लाग्छु तीनटोलिया जहाँ मामाको घर छ । 

मामाको घरमा मामा, माइजूबाहेक अरू कोही छैनन् । सबै विदेश । दुई जना मेरा दाजुहरू, दुवै विदेश । दिदी बहिनी आआफ्ना घरमा । 

“कहिले आयौ भान्जा ? कति बस्छौ ? सन्चो सुविस्ता नै छ नि ?” मामाले एकै पटक थुप्रै प्रश्नद्वारा मानौँ थुप्रै स्नेह पोख्नुहुन्छ ? प्रश्न सोध्नुमा पनि प्राप्त हुने रहेछ माया, सौहार्दता ! मामा, माइजूका स्नेही व्यवहारसित झ्याम्मिन्छु । 

“तिमीले पनि केही गर्न सकेनौँ यत्रो पढेर पनि । एउटा मामुली जागिर खान पनि काठमाडौँ पुग्नु प¥यो । कसरी पुग्दो होला त्यहाँको महँगीमा !” मामाका सौहार्द बोलीवचनले मेरा आँखा भरिन्छन् । “काठमाडौँमा जागिरले केही हुन्न मामा । बरु व्यापार गर्न पाए...?” म, भित्र मनको कुरा गर्छु । फेरि थप्छु, “आठ दस लाख रूपियाँ लगाउन पाए लुगाफाटा बेचेर पनि उन्नति हुन्छ मामा, उन्नति गर्न सकिन्छ काठमाडौँमा ।”

मामा बोल्नुहुन्न । मलाई थाहा छ– मामा किन बोल्नुहुन्न । मामाका दुई भाइ छोराहरूले त्यही व्यापार गर्ने भनेर मामासित धान फल्ने खेत बेच्न लगाए । २० लाख जति लिएर काठमाडौँ गएका मामाका छोराहरू अर्थात् मेरा दाजुहरू फेरि घर फर्किएनन् । पहिला एक्लाएक्लै गए । पछि श्रीमती र छोराछोरी पनि लिएर गए । 

मलाई थाहा थियो– दुवै दाजुले घरबाट लिएर गएको पैसा काठमाडौँमा सिध्याए र अहिले भाउजूहरू आआफ्ना छोराछोरी पढाएर त्यहीँ काठमाडौँमा बस्नुभएको छ । दाइहरूले विदेशबाट खर्च पठाउँछन् । म ठुलो निश्वास तान्छु । मामा धेरै बेरपछि बोल्नुहुन्छ, “व्यापार भनेर मात्र हुँदैन । व्यापार चल्नु पनि पर्छ, गर्न जान्नु पनि पर्छ ।”

फेरि बोल्नुहुन्छ, “तिम्रा दाजुहरूले भएको खेतबारी डुबाए । तर, खोइ ! अहिले विदेशमा भाँडा माझ्दा हुन् ।”

‘भाँडा माझ्नु हेय होइन मामा ! हाम्रो सोचमा खोट छ !’– भनुँ भन्छु । तर, चाहन्न मामाको चित्त दुःखाउँ । उहाँसित म त बझाउँ । प्रकटमा बोल्छु, “कम्तीमा सङ्घर्ष त गर्दै हुनुहुन्छ नि दाजुहरू । काम गर्दै हुनुहुन्छ । यही ठुलो कुरा होइन र ?”

मनमनमा फेरि बोल्छु, ‘के भाँडा माझ्नु खराब हो र ? यस्तो सोचाइ खराब होइन ? काम तुच्छ र उच्च हुन्छ ?’ तर, प्रकटमा बोल्दिनँ । मामासित मेरो हार्दिकता जो थियो, त्यसैले चित्त नदुःखाउन उहाँका कुरा काट्दिनँ । 

मामा र मेराबिच फोनमा पनि कुरा भइरहन्थे । मामाले मलाई बाका बारेमा सबै बताइसक्नु भएको थियो । बाले आफ्नो भएभरको जेथा जेठा छोरालाई जिम्मा लगाइसक्नु भएछ । मामाले सुनाउनु भएको थियो ।

“आजकाल त मलाई जान पनि मन लाग्दैन । हाम्रा कुरा ज्वाइँले सुने पो ? तिम्रो काका हुनुहुन्छ ज्वाइँका असली सल्लाहकार !” मामाले फोनबाट यसै भन्नुभएको थियो । मनमनमा आक्रोश थियो– काकाप्रति पनि, बाकाप्रति पनि !

जेठा छोरा अर्थात् मेरा दाजु, बैङ्कको हाकिम ! केही दिन, केही महिना त जेठा छोराले बाआमालाई आफ्नो क्वार्टरमा लगेर राखेछन् । पछि, फेरि घरखेत आफ्नो नाममा पारिसकेपछि भनेछन्, “मलाई त क्वार्टरमा नबसी हुँदैन । जानुस् तपाईंहरू आफ्नै घरमा बस्नुस् । मान्छे नबसेको घर सब भताभुङ्ग, लथालिङ्ग हुन्छ ।” बाआमालाई भेट्न पनि यसो कहिले मन लागे आउँछन्, मन नलागे आउँदैनन् अरे ।

“तिमीलाई अन्याय भयो बाबु !” मामाले फोनबाट भनेका कुराले बेलाबेला बिथोलिन्छु । “यो सब तिम्रो काकाले ज्वाइँलाई उचालेर हो ।” मामाका फोनमा बोलेका यी स्वरहरूले पनि रन्थनिन्छु । त्यही रनाहामा झोला बोकेर हिँडेको हुन्छु काठमाडौँबाट घर, सोध्न बालाई, ‘म तपाईंको छोरो होइन ? अनि अंशमा दाजुलाई मात्र सबथोक किन ? मलाई किन केही 

होइन ? मलाई पनि मेरो अंश चाहियो– दिनुस् । व्यापार गर्छु म– मलाई पनि मेरो भाग दिनुस् ।’

तर, झोला बोकेर बिहान घरमा पुगेको केही समय भएको हुन्न– काका घरमा टुप्लुक्क ! काकाको उक्साहटपूर्ण क्रियाकलापले त्यसै दिमाग बिथोलिरहेको हुन्छ । अनि उठ्दैन त रिस ? एउटा मामुली कर्मचारीलाई काठमाडौँमा घर अरे ! अनि उठ्दैन त रिस ? मनमा तुफान चलिरहन्छ । ज्वारभाटा उठिरहन्छ । म मामालाई लिएर साँझसाँझतिर घर पुग्छु । मामा भन्नुहुन्छ आमालाई, “हेर बैनी, के गरेकी तिमीले ? एउटालाई काखी च्यापेर अर्को छोरालाई मार्नुहुन्छ ?” आमा आँखाभरि आँसु थुपारेर भन्नुहुन्छ, “मैले त भनेको यसो नगरौँ । मैले भनेको माने पो ?”

मामा, बातर्फ उन्मुख बोल्नुहुन्छ, “के गरेको ज्वाइँ तपाईंले ? जेठो भान्जाको त ठुलो जागिर छ । उनलाई बरु केही नदिए हुने । यो कान्छा भानिजलाई नै किन मार्नु भो ?” बा बोल्नुहुन्न । धेरै बेरपछि मधुरो, टाढाबाट आएको जस्तो कामेको स्वर सुनिन्छ बाको, “लठ्यायो त्यसले । मैले बुढेसकालमा हामीलाई हेर्ला, सँगै राख्ला भनेर शेषपछि लेखिदिन खोजेको । शेषपछि पनि मलाई हो, अहिले पनि मलाई । किन लफडा बाँकी राख्ने भन्दै अहिल्यै थिचायो त्यसले !” बाका आँखामा पछुतो पढ्छु । कामेको स्वरले धेरैथोक ओकलेका छन्, बुझ्छु ।

“भाइले पनि जेठालाई दिन उक्सायो । यसैले तपाईंलाई हेर्छ । तपाईंको सम्पत्ति भनेको तपाईंको मर्जी । जसले तपाईंलाई गर्छ, उसैलाई दिनुस्– भन्यो । म जेठाको गुलियोमा भुलेँ । अहिले चेत खुलेको छ तर सम्पत्ति सबै उसको नाममा !” बा रुन मात्र सक्नु हुन्न ।

“खर्चबर्च त्यसले दिन्छ त ?” म सोध्छु बालाई । 

‘त्यसले’ भन्छु, ‘दाजुले’ भन्न घिन लाग्छ– भन्दिनँ । “काँ को दिनु, कहिलेकाहीँ आउँछन् लोग्नेस्वास्नी । राम्ररी बोल्दा पनि बोल्दैनन् । हामीलाई होइन उनीहरूलाई नामसारी गरेर दिएको यो घरलाई विचार गर्न आउँछन् उनीहरू यदाकदा !” 

बाको अनुहारमा पीडा छ । अचानक म फैसला सुनाउँछु । मुद्दा हाल्नु परे हालौँला, बाआमासित झगडा–टन्टा गर्नु परे गरौँला भन्ने सोचेर घर गएको म मुद्दा हाल्ने होइन, मुद्दा नहालेर नै आफैँ फैसला सुनाउन उत्तेजित हुन्छु । बोल्छु, “काठमान्डु हिँड्नुस् हामीसित । सम्पत्ति त्यसलाई भो– बाआमा मलाई, मेरा परिवारलाई, हामीलाई ।”भोलिपल्ट, बाआमाले कमाएको घर, जो भएको खेत ‘त्यसलाई’ छोडेर म बाआमालाई लिएर काठमाडौँ हिँड्छु । सधैँ चढ्ने बस काठमाडौँका लागि प्रस्थान भइसकेको छ । बाआमालाई एकाठाउँमा र म अर्को ठाउँमा बसेर यात्रामा निमग्न छौँ ।

काठमाडौँमा दुःख छ, समस्या छ तर पनि मानिसहरू त बाँचेकै छन् । म पनि बाँच्ने छु । बाआमाको आशीर्वाद शिरमा थापेर हामी बाँच्ने छौँ । जति समस्या झेले पनि बाँच्न सफल हुने छौँ– मनमा यी र यस्तै कुराहरू आइरहे !  बाहिर बस एकनासले आफ्नो गतिमा गन्तव्य भेट्न हिँडिरहेको छ ।  

Author

नारायण तिवारी