• २६ वैशाख २०८१, बुधबार

मसलाको आयात घट्यो, मूल्य बढ्यो

blog

काठमाडौँ, कात्तिक १८ गते । यो वर्ष तिहारमा प्रयोग हुने भाइमसलाको आयात घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपियाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ । गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपियाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छ । 

विभागका अनुसार चालु आवको साउनदेखि असोज महिनासम्म ३१ करोड ७७ लाख दुई हजार रुपियाँको ५६ लाख ४१ हजार २८० किलो नरिवल आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ३७ करोड ३७ लाख ४१ हजार रुपियाँको ६१ लाख ७२ हजार ७९२ किलो नरिवल आयात भएको छ । यस्तै तीन महिनामा १९ करोड ७२ लाख रुपियाँ बराबरको दुई लाख ५० हजार १५५  केजी बदाम आयात भएको छ ।

यस्तै ३७ करोड ६५ लाख २२ हजार रुपियाँको १० लाख ९६ हजार ४०३ किलो ओखर आयात भएको छ । गत वर्ष सो अवधिमा २६ करोड १७ लाख ३५ हजार रुपियाँको आठ लाख सात हजार ४४६ किलो ओखर आयात भएको थियो । यस्तै ५५ लाख नौ हजार रुपियाँको ३९० किलो पास्ता आयात भएको छ । गत वर्ष ९५ लाख ६० हजार रुपियाँको ११ हजार १३७ किलो आयात भएको थियो । चालु आवको तीन महिनामा १२ करोड १८ लाख ३३ हजार रुपियाँको आठ लाख ९८ हजार केजी सुपारी आयात भएको छ । गत वर्ष सो अवधिमा ४२ करोड १५ लाख ५९ हजार रुपियाँको १९ लाख २२ हजार ४८० किलो सुपारी आयात भएको थियो । विभागका अनुसार तीन महिनामा १३ करोड ९० लाख ८१ हजार रुपियाँको दुई लाख दुई हजार २८० किलो काजु आयात भएको छ । गत वर्ष सो अवधिमा ३१ करोड १३ लाख ७२ हजार रुपियाँ बराबरको ४३ लाख ३२ हजार ३९ लाख किलो काजु आयात भएको थियो । दुई लाख तीन हजार बराबरको एक हजार ७४४ किलो खजुर, नौ करोड रुपियाँ बराबरको दुई लाख ८२ हजार १६५ किलो किसमिस आयात भएको छ । मुलुकमा उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने भाइमसलाको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नेपालमा भाइमसलाजन्य ड्राइफ्रुट्स भारत, चीन, भियतनाम, अमेरिका, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट आयात हुने गरेको छ । 

बढ्यो मूल्य

बजारमा अधिकांश सामानको मूल्य बढेको बेला तिहारमा प्रयोग हुने ड्राइफ्रुट्स (भाइमसलाको) मूल्यसमेत बढेको छ । व्यवसायीका अनुसार यस वर्ष तिहारमा प्रयोग हुने मसलाको मूल्य अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । भाइमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुने गर्छ । न्युरोडको मक्खनगल्लीस्थित मसला व्यापारी दिनेश गुप्ताले भाइमसलाको मूल्य १० देखि १५ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । बाहिरी मुलुकबाट मूल्य बढेर आएकाले त्यसको असर स्थानीय बजारमा पर्न गएको उहाँको भनाइ छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार यस वर्ष भाइमसलाको मूल्य गत वर्षको तुलनामा सामान्य बढेको छ । सङ्घका अनुसार बजारमा काजुको मूल्य प्रतिकिलो एक हजार ५०० रुपियाँ  छ । किसमिस प्रतिकेजी पाँच सय रुपियाँ छ । पेस्ता प्रतिकेजी दुई हजार ५० रुपियाँ, बदाम प्रतिकिलो एक हजार २५० रुपियाँ छ । ओखर प्रतिकेजी पाँच सय, मिस्री प्रतिकेजी १८०, मखना प्रतिकेजी आठ सय रुपियाँ छ । नरिवल प्रतिकेजी ४५०, दालचिनी प्रतिकेजी सात सय रुपियाँ छ । सुकमेल प्रतिकेजी दुई हजार पाँच सय र खुर्पानी प्रतिकेजी एक हजार रुपियाँ छ । तिहार आउन एक साता बाँकी रहँदा तिहारका लागि आवश्यक पर्ने सामानको किनमेल सुरु हुुन थालेको छ । तिहारमा खपत बढी झिलिमिली बत्ति, पाला, लक्ष्मी पुजाका सामान, भाँडावर्तन, सेल पकाउनका लागि कराई बिक्री हुन थालेको व्यवसायीको भनाइ छ ।