• २१ वैशाख २०८१, शुक्रबार

सुन्तला उत्पादन बढ्यो

blog

मीना कँडेल

कावासोती, कात्तिक १८ गते । नवलपुर जिल्लाको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरथोर सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौबारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । 

अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारी बताउँछन् ।

नवलपुरको कावासोतीमा विगत १५ वर्षदेखि फलफूल बिक्री गर्दै आएका मनकामना फ्रुट सप्लायर्सका सञ्चालक रुद्रबहादुर अधिकारीले बबकबाट नै सुन्तला खरिद गरी बिक्री गर्ने गरेको बताउनुभयो । किसानको बगैँचाबाट नै खरिद गरी प्रतिकेजी ७५ रुपियाँमा बिक्री गरेको र दसैँदेखि हालसम्म ७५ क्विन्टल बिक्री भइसकेको उहाँले बताउनुभयो ।

जिल्लाका कावासोती, प्रगतिनगर, दलदले, चोरमारा, अरुणखोला, गिरबारी, झ्यालबासलगायतका ठाउँमा खुद्रा तथा होलसेलमा व्यापारीसमक्ष घर घर पुयाउने गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्तलाको उत्पादन राम्रो भएकाले किसानले छिटो टिप्न सुरु गरेका हुन् । ४० प्रतिशत मात्र सुन्तला पाकेको भए पनि चाडपर्वमा धेरै खरिदबिक्री भएको छ ।” 

पहाडी भेगका सुन्तलाले नवलपुर जिल्लामा बाहिरबाट खरिद गरी ल्याउनु नपर्ने र आफ्नै बगानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने अधिकारीको भनाइ छ । नवलपुरको बौदीकाली–५, बबकका सुन्तला किसान शेरबहादुर ठाडामगरलाई यस पटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । केही वर्षअघिसम्म सुन्तलाको बजार खोज्दै धाउनुपर्ने बबकका किसान व्यापारीले बगैँचाबाटै मूल्य गरी सुन्तला खरिद गर्दा खुसी भएका छन् । 

सुन्तला बिक्रीमा अहिले समस्या नभएको र कावासोती, नारायणगढलगायतका व्यापारीले गाउँबाटै खरिद गरिदिँदा किसानलाई सहज भएको किसान भीमबहादुर मगरले बताउनुभयो । व्यापारीको माग अनुसार स्थानीय रूपमा सुन्तला सङ्कलन गरी गाडीमा राखेर बजारसम्म पुर्‍याए मात्रै हुने उहाँले बताउनुभयो । व्यापारीले गाउँमै सुन्तलाको मूल्य तय गरी लैजाने गरेको उहाँको भनाइ छ ।

बबक कृषि तथा पशुपालन फार्म दर्ता गरी परम्परागतभन्दा पनि व्यावसायिक तवरबाट सुन्तला खेती गर्दै आएको किसान गेसबहादुर रानाले बताउनुभयो । आफ्नै बगैँचाबाट सुन्तला बिक्री गर्दा गत वर्षभन्दा राम्रो मूल्य किसानले प्राप्त गरेको उहाँको भनाइ छ । यस वर्ष गत वर्षभन्दा सुन्तलाको फलसमेत राम्रो लागेको किसानको भनाइ छ । 

गत वर्ष एक हजार २० मेट्रिक टक सुन्तला उत्पादन भएकामा यस वर्ष २० प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको बौदीकाली, बुलिङटार, गैँडाकोटको पहाडी क्षेत्रमा करिब सात सय हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल खेती हुँदै आएको उहाँको भनाइ छ ।