• ११ मंसिर २०८१, मङ्गलबार

क्रिकेटको डेढ करोड नगद पुरस्कार निकासा

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, कात्तिक १७ गते । विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ । 

राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार तीन प्रतियोगिताको पूर्व घोषित एक करोड ५७ लाख ५० हजार रुपियाँ पुरस्कार निकासा भएको जानकारी दिनुभयो ।

गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी– एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी सीडब्लुसी लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।

सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिनुहुँदै पुरस्कारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई धन्यवाद दिनुभयो । 

सदस्य–सचिव घिसिङले शुक्रबार मूलपानीमा भएको ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा युएइलाई आठ विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि स्थान सुरक्षित गर्न सफल नेपाली टोलीलाई बधाइ पनि दिँदै फाइनलमा सफलताका लागि शुभकामना समेत दिनु भएको छ ।