• १२ असार २०८१, बुधबार

अन्नखेती छाडेर किवीतिर लागे लालबहादुर

blog

किवीको फल देखाउँदै किसान लालबहादुर घर्ती । तस्विरः ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १७ गते ।  बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिलादेखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबैभन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ । 

यस्तै मुसुङका कृषक लालबहादुर घर्तीले बारीमा मकै र कोदो उत्पादन गरेर घर खर्ची चलाउन कठिन भएपछि  सात रोपनी क्षेत्रफलमा मकै र कोदो हटाएर एक सय तीस वटा किवीका बोट लगाउनुभएको छ । अहिले उहाँको बारीभरि लटरम्म किवी फलेको छ ।   

अघिल्लो वर्ष थोरै थोरै फलेको थियो आफन्त र छरछिमेकहरूलाई किवी चखाए कृषक घर्तीले भन्नुभयो, ‘‘यसपालिदेखि बोटले राम्रो फल दिन थालेको छ ।  किवी विक्रीका लागि बजारको खोजी गरिरहेको छु ।’’ 

कृषक पुन र घर्तीले मात्र होइन यहाँका लक्ष पुन, पदम पुन र पृथीप्रसाद पुनले व्यावसायिक किवी खेती गर्नुभएको छ । गाउँमा किवी खेती विस्तारका लागि कृषकहरूले अर्ग्यानिक कृषि समूह गठन गरेका छन् । समूहमा २५ जना सदस्य छन् । किवी खेती विस्तारका लागि वडा कार्यालयले निःशुल्क रूपमा किवीका बिरुवा उपलब्ध गराएको छ । 

मुसुङमा रहेका ६४ घरपरिवारले प्राय:जसोले किवी खेती गरेका छन् । पृथीप्रसाद पुनले ८ वर्ष अघि देखि व्यावसायिक किवी खेती गर्दै आउनुभएको छ । पाँच रोपनी जमिनमा उहाँले ८९ बोट किवीका बिरुवा लगाउनुभएको छ । वार्षिक रूपमा ४ क्विन्टल किवी  उत्पादन हुने उहाँले बताउनुभयो । 

प्रतिकिलाे एक सय पचासदेखि चार सय रुपियाँसम्म किवी विक्री हुने गरेको छ उहाँले भन्नुभयो, ‘‘खेर गएको पाखोवारिमा किवी खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ । एक पटक लगाएपछि धेरै वर्ष फल दिने भएकाले किवी खेती गर्न सहज पनि छ ।’’

पृथीप्रसादले गाउँमा पहिलो पटक किवी खेती गर्नुभएको हो । उहाँको सिको गर्दै अहिले गाउँका सबैजसोले किवी खती गर्न थालेका छन् । उच्च चिसो भूभाग र पारीलो भएकाले यहाँ किवी खेती राम्रो हुने अर्को कृषक पदम पुनको अनुभव छ । अर्को कृषक लक्ष पुनले चार रोपनी जमिनमा किवी खेती गर्नुभएको छ । बारीमा एक सय ७० वटा किवीका बोट लगाएको छु उहाँले भन्नुभयो, ‘‘वार्षिक रूपमा ५ क्विन्टल किवी उत्पादन हुन्छ । पोखरा लगेर प्रतिकेजी तिन सय पचास रुपियाँमा विक्री गर्ने गरेको छु ।’’

थारै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने कृषक लालबहादुर पुनले अनुभव सुनाउनुभयो । सुरुमा खेती गर्दा यसबाट आम्दानी होला भनेर  विश्वास लागेको थिएन पुनले भन्नुभयो, ‘‘अहिले किवी खेतीबाट वार्षिक रूपमा तिनदेखि पाँचलाख रुपियाँ आम्दानी गर्दछु ।’’ 

‘‘मकै र कोदोबाट थोरै आम्दानी हुने र घर खर्ची चलाउन पनि धौधौ हुने भएकाले किवी खेती गर्न थालेको हुँ  । नयाँ खेती भएकाले यसबाट केही होला भन्ने सुरुमा आशा थिएन । तर आजभोलि यसले धेरै राम्रो आम्दानी दिइरहेको छ’’पुनले भन्नुभयो । 

 किवी खेतीका लागि भकिम्लीको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको उहाँको भनाइ छ । किवी खेतीबाट यहाँका किसानहरूले राम्रो आम्दानी लिन थालेको बेनी नगरपालिका ३ भकिम्लीका वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो ।

 किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले किवी खेतीलाई थप विस्तार गर्दै लगेका छन् । गाउँमा किवी खेतीको विस्तारका लागि सुरुमा  किसानलाई निःशुल्क रूपमा किवीका बिरुवा वितरण गरेको वडाध्यक्ष पुनको भनाइ छ । 

अहिले पनि तिनदेखि चार सय बिरुवाको माग आएको उहाँले बताउनुभयो ।  किवी खेतीको विस्तार गरेर गाउँलाई किवी गाउँ बनाउने वडाको योजना रहेको उहाँले बताउनुभयो । लगाएको एक वर्षबाट नै प्रतिफल लिन सकिने भएकाले पनि किवी खेतीतर्फ सबैको आकर्षण बढेको वडाध्यक्ष पुनले बताउनुभयो । 


Author

ठाकुरप्रसाद आचार्य