तानसेन समाचारदाता
तानसेन, कात्तिक १७ गते । पछिल्ला वर्षहरूमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा डेङ्गुका बिरामी ह्वात्तै बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। तीन वर्षअघि जिल्लाका विभिन्न स्थानमा गरी जम्मा १४ जनामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो । गत वर्ष बढेर २३३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । गत वर्ष पाल्पामा डेङ्गुकै कारण एक जनाको मृत्यु भएको थियो ।
यो वर्ष डेङ्गुका कारण चार जनाको मृत्यु भइसकेको छ भने ५७६ जना सङ्क्रमित भएको भट्टराईले जानकारी दिनुभयो । पछिल्लो वर्षमा डेङ्गु सङ्क्रमण बढेको र मृत्युदरसमेत बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । डेङ्गुको सङ्क्रमण गर्ने लामखुट्टेका लागि उपयुक्त बासस्थान भएकाले यसको सङ्क्रमण र गतिविधि बढेको कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । डेङ्गुको सङ्क्रमण न्युनीकरण गर्न यसको बासस्थान खोज र नस्ट गर अभियान नै हो तर यसलाई निरन्तर रूपमा सञ्चालन गर्न नसकेको उहाँले बताउनुभयो ।
पाल्पामा पहिलो पटक १० वर्षअघि एक जना बालकमा डेङ्गु रोग देखिएको थियो । त्यसपछि बिस्तारै डेङ्गुको सङ्क्रमण बढ्ने क्रम बढेको र केही वर्षपछि नियन्त्रणमा समस्या हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले केही वर्षअघिसम्म पहाडी जिल्ला पाल्पामा खासै नदेखिएको डेङ्गु रोग बिस्तारै समस्याको रूपमा देखा परेको बताउनुभयो । डेङ्गु सङ्क्रमण र मृत्यु हुने सङ्ख्या बढ्दै गएकाले यसप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
पहाडी जिल्लामा सामन्यतया डेङ्गुको सङ्क्रमण नदेखिने भए पनि तराईका जिल्लासँग पाल्पा जोडिएकाले डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । डेङ्गु एडिस एजेप्टाई नामको लामखुट्टेले टोकेपछि हुने भाइरल सङ्क्रमण हो । समयमै बिरामीले उपचार नपाए यसले बिरामीको ज्यानै लिन सक्ने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार यो सङ्क्रमणले रगत जम्ने प्रक्रियालाई अव्यवस्थित बनाउँछ र बिरामीको ज्यानै जान सक्छ । सङ्क्रमितलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्यो भने रोग फैलने सम्भावना हुन्छ ।
स्क्रब टाइफस बढ्दै
पाल्पामा स्क्रब टाइफसका बिरामीसमेत बढेका छन्। गत वर्ष २०१ जना बिरामी देखिएकोमा यो वर्ष बढेर हालसम्म ३०२ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्क्रब टाइफस सार्ने माइटको टोकाइबाट स्क्रब टाइफस सर्ने उहाँको भनाइ छ । शरीरलाई खुला राखेर झाडी तथा वनजङ्गलमा जान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, माइट किराले टोकेको स्थानमा रातो हुने र दाग बस्ने हुन्छ ।