शेरबहादुर सार्की
बाजुरा, कात्तिक १७ गते । जिल्लाबाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बाजुराका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । यहाँका स्थानीयले टिमुरका बारेमा खासै चासो नदेखाउँदा विभिन्न वनजङ्गल आफैँ फलेको टिमुरमा त्यत्तिकै खेर जाने गरेको हो ।
घरमा प्रयोग गर्नका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्र्ने गरी टिमुर टिप्ने नगरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय बने रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बिक्री हुँदैन । बाहिर लिएर बेच्न सकिँदैन । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यत्तिकै खेर जाने गरेको हो ।”
बजारमा प्रतिकिलो दुई सयदेखि तीन सय रुपियाँ पर्ने टिमुरको मेहनत गरे अनुसार मूल्य नपाउँदा टिप्नै छोडेको रोकायाले बताउनुभयो । बाजुरामा टिमुरको मूल्य राम्रो नहुँदा यहाँका अधिकांश स्थानीयले सामान्य तरिकाले घरमा प्रयोग गर्न मात्र टिप्ने गर्दछन् ।
तर बजारमा बेच्नका लागि खासै नटिप्ने गरेको स्थानीय बताउँछन् । हिउँदको महिना रुघाखोकी लागेको बेला ताँतो पानीसँगै टिमुरको धुलो हालेर खाने गरेपछि रुघाखोकी निको हुने गर्छ ।
त्यति मात्र होइन अहिले प्रत्येक दिनमा खाना र चटनीमा पनि टिमुर प्रयोग हुँदै आएको छ । नेपालमा वार्षिक सरदर एक हजार दुई सय किलो टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ । एक हेक्टर जग्गामा दुई हजारदेखि चार हजार किलो टिमुर फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।